देउवा आन्दोलनमा जान नमानेपछि पौडेल पक्षको छुट्टै बैठक

काठमाडौं : संसद विघटन गर्ने सरकारको कदमविरुद्ध सभापति शेरबहादुर देउवाले सडक आन्दोलनमा जान अस्वीकार गरेपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पक्षका नेताहरुसँग बैठक गरेका छन्। 

मंगलबारदेखि सानेपामा जारी केन्द्रीय समिति बैठकमा संसद विघटनविरुद्ध आन्दोलित हुनै पर्ने अडान राखेका पौडेलको कुरामा सभापति देउवा सहमत नभएपछि छुट्टै भेला डाकिएको हो। 

संसद विघटनविरुद्ध नेकपाको एउटा समूह प्रचण्ड-नेपालसँगै आन्दोलित हुनुपर्ने मत राखिरहेका पौडेलको कुरामा सभापति देउवाले असहमति जनाउँदै सर्वोच्चको निर्णय कुरेर निर्वाचनतर्फ लाग्‍नुपर्ने बताएका थिए। यो विषयलाई लिएर जारी केन्द्रीय कमिटी बैठकमा देउवा र पौडेल पक्षबीच चर्काचर्की नै परिरहेको छ। 

सभापति देउवा पक्ष प्रधानमन्त्री ओलीको कदमलाई उपयोग गरेर निर्वाचनमा होमिनुपर्ने पक्षमा छ। सरकारको कदमको विरोध गरे पनि अन्तिममा निर्वाचनमा गएर बहुमत ल्याउने रणनीति बनाउनुपर्ने देउवा पक्षको धारणा छ। तर पौडेल समूह भने कुनै पनि हालतमा ओलीको कदमविरुद्ध सडक संघर्ष थालेर संसद पुनःस्थापना गर्नुपर्ने अडानमा छ। 

यस्तोमा वरिष्ठ नेता पौडेलले सभापतिमाथि दबाब बढाउन अनामनगरस्थित सम्पर्क कार्यालयमा आफूनिकट नेताहरुलाई बोलाएका हुन्। त्यहीँको छलफलपछि पौडेल पक्ष देउवामाथि थप दबाब बढाउने रणनीतिको तयारीमा छ। 

पौडेलले बोलाएको भेलामा महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, डा शेखर कोइराला, महेश आचार्य  र गगन थापा लगायतका नेता पुगेका छन्।  यो भेलाले आजै दिउँसो १ बजे बस्‍ने बैठकमा आन्दोलनका लागि देउवामाथि थप दबाब बढाउने भएको छ। 



कांग्रेसले बुधबार नै सरकारको कदमविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय लिइसकेको छ। कांग्रेस प्रवक्ता विश्‍वप्रकाश शर्माले संसद विघटनविरुद्ध देशव्यापी आन्दोलन तयारी थालिएको उल्लेख गरेका थिए। त्यही निर्णयानुसार आजको बैठकमा आन्दोलनका कार्यक्रम पनि तय गरिँदैछ। तर आन्दोलनको स्वरुपबारे कांग्रेसले केही निर्णय लिइसकेको छैन। 



  • प्रकाशित मिति : पुस ९, २०७७ बिहीबार १३:६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया