काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समूहले संसद विघटन गर्ने सरकारको कदमविरुद्ध आन्दोलनमा जानै पर्ने निष्कर्ष निकालेको छ। अनामनगरस्थित वरिष्ठ नेता पौडेलको सम्पर्क कार्यालयमा भएको बैठकले सरकारको कदम सरासर असंवैधानिक भएकाले तत्कालै आन्दोलनमा होमिनुपर्ने कुरामा सहमति जुटाएको हो।
'हाम्रो बैठकले सरकारको कदमलाई असंवैधानिक ठहर गर्दै तत्कालै माथिदेखि तलैसम्म आन्दोलनमा जाने कुरामा सहमति जुटाएको छ, बैठकमा सहभागी सबै नेता यसमा सहमत हुनुहुन्छ', एकजना केन्द्रीय सदस्यले फरकधारसँग भने, 'सरकारविरुद्ध आन्दोलनमा जान तयार नभएका सभापति शेरबहादुर देउवामाथि आजैको केन्द्रीय कमिटी बैठकमा दबाब बढाउने कुरा भएको छ।'
बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन गर्न भन्दा निरंकुशता लाद्न संसद विघटन गरेको ठहर गरेको छ। त्यसैले पनि कांग्रेसले आन्दोलनमा जानै पर्ने निचोड यो समूहले निकालेको हो।
देउवा ढुलमुले : पौडेल
नेताहरूसँगको बैठकमा बोल्दै वरिष्ठ नेता पौडेलले शेरबहादुर पक्ष आन्दोलनमा जान तयार नभएर ढुलमुले चरित्र देखाएको आरोप लगाएका छन्। उनले अब सबै मिलेर देउवालाई पनि आन्दोलनमा जान बाध्य पार्नुपर्ने धारणा राखेका थिए।
'प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम असंवैधानिक हो पनि भन्ने तर जनताबीचमा गएर आन्दोलन पनि नगर्ने, यस्तो तरिकाले हुँदैन', पौडेलको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी भएको नेताले भने, 'चुनाव गर्नका लागि संसद विघटन भएकै होइन। हामी सबैले यही ढंगबाट कुरा गर्नुपर्छ, आजै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेर सडकमा जानुपर्छ।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।