काठमाडौं : नेकपाको प्रचण्ड-माधव समूहले आजको बैठकबाट महासचिवको टुंगो लगाउन सकेनन्। महासचिवका आकांक्षी धेरैजना भएपछि यो समूहले निर्णय लिन नसकेको हो। वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने सहमति भएको बताइए पनि अन्तिममा कुरो मिल्न नसकेको हो।
महासचिवका लागि नेताहरु भीमबहादुर रावल, जनार्दन शर्मा, वर्षमान पुन, सुरेन्द्र पाण्डे र कृष्णबहादुर महराले दाबेदारी प्रस्तुत गरेका थिए। तर आकांक्षीको संख्या धेरै भएपछि विवाद सिर्जना हुँदा यो समूहले आज बबरमहलको कार्की पार्टी प्यालेसमा भएको केन्द्रीय कमिटी बैठकको कार्यसूचीमै यो विषयलाई नराखेको हो।
वरिष्ठ नेता झलनाथ खनालले महासचिवमा सुरेन्द्र पाण्डेलाई प्रस्ताव गरेका थिए। प्रचण्ड-नेपाल दुवै अध्यक्ष भएपछि वरिष्ठ नेता खनालले आफूले भनेको नेता महासचिव हुनुपर्ने अडान लिएका थिए।
खनाल एकीकृत नेकपामा पनि जस्तै खनाल दाहाल-नेपाल समूहमा पनि तेस्रो वरीयतामा छन्। नेकपामा चौथो वरीयताका वरिष्ठ नेता नेपाल दाहाल समूहमा अध्यक्ष बन्दै दोस्रो वरीयतामा आएका छन्।
यता अध्यक्ष नेपालले भने भीम रावललाई महासचिव बनाउन प्रस्ताव गरेका थिए । तर पाण्डेको नाममा सहमति भएको स्रोतले जनाएको छ।
यो समूहका एकजना केन्द्रीय सदस्य विष्णु रिजालले आजको बैठकमा महासचिव चयनसम्बन्धी विषयलाई कार्यसूचीमै नराखिएको बताएका छन्। उनका अनुसार यो बैठकले सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीलगायतको पदपूर्ति गर्ने जिम्मा स्थायी कमिटीलाई दिने निर्णय गरेको रिजालले बताएका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।