लामो समयदेखि नोक्सान बेहोरेका कुखुरापालक किसानको उत्पादनले मूल्य पाउन थालेपछि कृषक हर्षित भएका छन् । कोरोना संक्रमणका कारण बजार प्रभावित हुँदा किसानले लागत मूल्यभन्दा कममा कुखुरा विक्री गर्नुपरेको थियो । कुखुराको अण्डा, मासु र चल्लाको लागत मूल्यभन्दा बढीमा किसानले विक्री गर्न पाएसँगै लाभान्वित भएका हुन् ।
कोरोना सङ्क्रमणको बेला झण्डै पाँच महीना चल्ला उत्पादन गरेर पनि नष्ट गरेका ह्याचरी उद्योगले चल्लाको उचित मूल्य पाएका छन् । नेपाल ह्याचरी उद्योग संघ केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलका अनुसार बिहीवार उद्योगले ७० रुपैयाँ प्रतिगोटा बोइलर चल्ला विक्री गरेका छन् । पोखरेलका अनुसार कोरोना संक्रमणको समयमा झण्डै पाँच महिना चल्ला विक्री नभएर नष्ट गर्नुपरेको थियो । त्यस्तै, लेयर्सको चल्ला प्रतिगोटा १२५ रुपैयाँ र बोइलरको ७० रुपैयाँमा विक्री भइरहेको छ ।
किसानले चल्ला राख्न थालेपछि विक्री हुन थालेको हो । नेपालमा ३२४ वटा ह्याचरी उद्योग छन् । हाल सातामा ३० देखि ३५ लाख बोइलर चल्ला उत्पादन हुने गर्दछ । यसको माग ४० लाखभन्दा माथि रहेको पोखरेलको भनाइ छ । उत्पादन कम भएका कारण मूल्य बढी हुँदा पनि सोचे जति मुनाफा लिन भने नसकिएको उनको भनाइ छ । उत्पादन राम्रो हुँदा बोइलर चल्लाको लागत मूल्य ५६ रुपैयाँसम्म पर्ने तथ्यांंकमा उल्लेख छ । अण्डाको मूल्य पनि बढेको छ ।
हाल प्रतिक्रेट (३० गोटा) ३४५ ख मा विक्री हुने गरेको छ । नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीका अनुसार अण्डाको लागत मूल्य ११ रुपैयाँ ५३ पैसा हो । किसानले लामो समयपछि अण्डाको उचित मूल्य पाएको केसीले बताए । तीन वर्ष अघि प्रतिक्रेट ३६० रुपैयाँ पुगेको अण्डा क्रमशः घटेर लागत मूल्यभन्दा निकै कममा झरेको थियो । कोरोना सङ्क्रमणको समयमा समेत रोग प्रतिरोधी क्षमता बढ्ने भएकाले यसको खपत बढेको उनले बताए ।
अण्डाको मूल्य अरु बढ्ने किसानको अपेक्षा छ । हाल देशभरमा २ हजार ७ सय किसान प्रत्यक्ष रुपमा अण्डा उत्पादनमा संलग्न छन् । दैनिक अण्डाको उत्पादन ३० लाखदेखि ३२ लाखसम्म रहेको संघको तथ्यांक छ । कोरोना संक्रमणको समयमा निकै घटेको कुखुराको मासुको मूल्य अहिले बढेको छ । नेपाल दाना अण्डा वितरक संघका केन्द्रीय अध्यक्ष तेजनारायण पाण्डेका अनुसार तयारी मासु प्रतिकिलो ३३० रुपैयाँमा विक्री भएको छ ।
किसानले जिउँदो कुखुराको फार्म मूल्य २१० रुपैयाँकोे हाराहारीमा पाएका छन् । लागत मूल्यभन्दा बढी भएको उनले जानकारी दिए । कोरोना संक्रमणको समयमा जिउँदो कुखुरा ९० रुपैयाँ प्रतिकिलोमा विक्री गर्न किसान बाध्य भएका थिए । कुखुरा नबिकेपछि लामो समय पाल्न बाध्य हुँदा किसानले ठूलो नोक्सान व्यहोर्नु परेको थियो । कतिपय किसान विस्थापितसमेत भएको पाण्डेको भनाइ छ ।
कुखुराजन्य उत्पादनको मूल्य बढिरहँदा दानाको मूल्यसमेत बढेपछि लागत मूल्य थपिएको छ । नेपाल दाना उद्योग संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शङ्करप्रसाद कँडेलका अनुसार हालसालै मकै र भटमासको मूल्य बढेको छ । मकैमा प्रतिकिलो ७ रुपैयाँ र भटमासमा १२ रुपैयाँ वृद्धि भएको उनले जानकारी दिए । दानामा ८० प्रतिशत मकै र भटमास प्रयोग हुने गर्दछ । कच्चा पदार्थको मूल्य धेरै बढे पनि किसानको अवस्था हेरेर दानामा ३ रुपैयाँ प्रतिकिलो बढाइएको उनले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।