पार्टी कार्यालय सुरक्षामा प्रहरी परिचालन
कैलाली पार्टी कार्यालयमा खटिएकाे सुरक्षाकर्मीकाे टाेली : तस्वीर फरकधार

नेकपा कैलाली र प्रदेश पार्टी कार्यालयको सुरक्षार्थ सुरक्षाकर्मी परिचालन गरिएको छ । 

नेकपामा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्ड–नेपाल समूहबीच जारी विवादका कारण हुन सक्ने सम्भावित घटनालाई ध्यानमा राखेर सुरक्षाकर्मी खटाइएको स्थानीय प्रशासनले जनाएको छ । 

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरीले नेकपाको प्रदेश र जिल्ला पार्टी कार्यालयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खटाउँदै सुरक्षा निगरानीमा राखिएको जानकारी दिए । 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि नेकपाभित्र विवाद बढेको छ । ओली र प्रचण्ड–नेपाल गरी दुई समूहमा विभाजन भएको नेकपाको दुवै पक्षका नेता कार्यकर्ता एकअर्काको विरोधमा उत्रिएका छन् ।  

दुवै पक्षले नेकपा कैलालीको पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् भने प्रचण्ड–नेपाल समूहले सुदूरपश्चिम प्रदेश कार्यालयमा तालाबन्दी गरेका छन् ।

केही नगर कार्यालयमा एक समूहले ताला लगाउने र अर्कोले फोड्ने प्रवृत्तिसमेत देखिएको छ । बुधबार गोदावरी नगरपालिकामा रहेको नेकपाको नगर कार्यालयमा प्रचण्ड–माधव समूहका कार्यकर्ताले तालाबन्दी गरेका थिए ।



उनीहरूले तालाबन्दी गरेको केही समयपछि ओली पक्षका कार्यकर्ताले सो ताला फोडेका थिए । गोदावरी ओली पक्षका नेता लेखराज भट्टको क्षेत्र हो ।


 



  • प्रकाशित मिति : पुस ९, २०७७ बिहीबार १७:२६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया