ग्लोबल आइएमई बैंक र निर्यात व्यवसायीबीच कर्जा सम्झौता

ग्लोबल आइएमई बैंक र निर्यात व्यवसायी महासंघ नेपालबीच सहुलियतपूर्ण कर्जाका लागि सरल र सहज बैंकिङ सुविधा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

बैंक र महासंघबीच बिहीबार साँझ सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्य र महासंघका अध्यक्ष रामबहादुर गुरुङले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकले निर्यात व्यवसायी महासभामा आबद्ध व्यवसायीहरुलाई अल्पकालीन तथा दीर्घकालीन अवधिका लागि सहुलियतपूर्ण ब्याजदरमा कर्जा उपलब्ध गराउने छ । त्यसबाहेक महासंघका सदस्यहरुलाई आवश्यक सबै प्रकारका बैंकिङ सेवाहरु सरल र सहज रुपमा उपलब्ध गराउने छ ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष समेत रहनु भएका ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वदेशमा उत्पादन भएका वस्तुहरुको निर्यात बढाउन र अर्थतन्त्रलाई थप बलियो बनाउने उद्देश्यले निर्यात व्यवसायीहरुलाई सुविधा प्रदान गर्ने सम्झौता भएको बताए ।

बैंकले निर्यात व्यवसायीहरुलाई विदेशी मुद्राको अभाव हुन नदिन डलर खाता तथा डलर क्रेडिट कार्डमा विशेष सेवा दिने पनि अध्यक्ष ढकालले बताए । सम्झौता अनुसार बैंकले सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने मात्र नभई निकासी डकुमेन्ट खरिद गर्ने, नगद अनुदान दिने, पुनरकर्जा उपलब्ध गराउने, विदेशी मुद्रा खाता तथा सटही सुविधा लगायतका सेवाहरु उपलब्ध गराउनेछ । 





  • प्रकाशित मिति : पुस १०, २०७७ शुक्रबार १२:४८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया