निर्वाचन आयोगमा प्रचण्डले भने : ओली नेतृत्वको समूह अवैध र अनधिकृत हो
फरकधार / १० पुस, २०७७

काठमाडौं : नेकपाको एउटा समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली नेतृत्वको समूहलाई अवैध र अनधिकृत भनेका छन्। आफ्नो समूह आधिकारिक नेकपा भएको दाबीसहित शुक्रबार निर्वाचन आयोगको कार्यालय पुगेका प्रचण्डले यस्तो बताएका हुन्। 

अर्का अध्यक्ष  माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालसहित आफ्नो समूहको जुलुस लिएर पुगेका प्रचण्डले आधिकारिक नेकपा र चुनाव चिन्ह सूर्यमा पनि दाबी गरेका हुन्। 'हाम्रो केन्द्रीय समितिको बैठकमा २९५ जनाको हस्ताक्षर छ। हामी स-शरीर उपस्थित हुन तयार छौं । त्यो भन्दा अर्को प्रमाण हुनै सक्दैन', उनले भने, 'अर्को पक्ष (ओली नेतृत्वको नेकपा) सय जना वरिपरिको मात्रै केन्द्रीय समिति बैठक बसेर अवैध र अनधिकृत रुपमा बनाएको  देख्दा आश्‍चर्य र अनौठो लागेको छ।' 

उनले आफ्नो समूहमा ३१५ जना उपस्थित भएकोमा २९५ जनाले हस्ताक्षर गरेको भन्दै दाहालले ती सबैलाई आयोगमा उपस्थित गराउन सक्ने पनि तर्क गरेका छन्। 'हामीले सबैलाई हस्ताक्षर गरेका थियौँ, हामी यहाँ छौँ भनेर भन्‍न तयार छौं। निर्वाचन आयोगलाई राम्रै अवगत भएको कुरा हो', उनले भने, 'केन्द्रीय समितिको बैठक बसेर त्यसका माइन्युट र निर्णय आयोगलाई जानकारीका लागि पठाएका छौं। नेकपा मिल्दा ४४१ जना केन्द्रीय समिति गठन भएको हो। सर्वसम्मत अरु चारजनालाई थप गर्ने निर्णय भएको हो। हामीले केन्द्रीय समितिको बैठक सुरु गर्दा ३१५ जना केन्द्रीय समिति सदस्यहरुसहित बैठक बसेका छौँ। तीन सय १५ भनेको दुईतिहाइ भन्दा धेरै हो।'

दाहालले आफूहरुको समूहको वैधानिक व्यवस्था अनुसार निर्वाचन आयोगले आधिकारिकता दिने विश्वास पनि व्यक्त गरेका छन्। 

  • प्रकाशित मिति : पुस १०, २०७७ शुक्रबार १३:१९:५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया