थोक तरकारी बजारलाई अनलाइन पेमेन्टमा जोड्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले देशभरका थोक तरकारी बजारमा क्यूआर कोडमार्फत भुक्तानी गर्ने अभियान सुरु गरेको छ । 

डिजिटल वित्तीय प्रणालीको विकास तथा प्रवद्र्धन गर्न देशभरका थोक तरकारी बजारमा क्यूआर कोडको प्रयोग गर्ने अभियान सुरु गरेको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए ।

शुक्रबार काठमाडौंको नक्सालस्थित तरकारी बजारमा रहेका पसलमा क्यूआर कोडबाट भुक्तानीको सुरुवात गर्न आयोजित कार्यक्रममा गभर्नर अधिकारीले देशैभरका थोक तरकारी बजारमा क्यूआर कोडको प्रयोगलाई प्रोत्साहन गरिने बताए । 

नगदको चलनचल्तिबाट कोभिड–१९ संक्रमण जोखिमको डर भएकाले क्यूआर कोडबाट भुक्तानी गर्ने अभियान सञ्चालन गरिएको उनको भनाइ थियो । कोभिड–१९ संक्रमणको जोखिम बढेसँगै अहिले क्यूआर कोडको प्रयोगकर्ता मासिक रुपमा २० प्रतिशतले बढेको गभर्नर अधिकारीले जानकारी दिए ।

कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले क्यूआर कोडबाट भुक्तानी गरी डिजिटल कारोबारलाई प्रोत्साहन गर्दा बैंकको खर्च घट्ने बताए । ब्रिक बैंकिङको लागत क्लिक बैंकिङको भन्दा धेरै नै महँगो भएकाले बैंकहरूले क्युआर कोडबाट भुक्तानी बढाउन प्रोत्साहन गर्नुपर्ने दाहालले बताए । आगामी दिनमा बैंकहरूले डिजिटल पूर्वाधार र सुरक्षामा अझ लगानी बढाउनुपर्ने सिइओ दाहालको भनाइ थियो ।

क्यूआर कोडबाट भुक्तानीको उद्घाटनका क्रममा तरकारी खरिद गरी क्याआर कोडमार्फत भुक्तानी गर्दै गभर्नर अधिकारी । तस्वीर : फरकधार



नेपाल राष्ट्र बैंक, सानिमा बैंक र नक्साल तरकारी बजारको समन्वयमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले फलफूल तथा तरकारी खरिद गर्दा क्युआर कोडबाट बिल भुक्तानी गरी कार्यक्रमको थालनी गरेका हुन् । डिजिटल भुक्तानी प्रणालीलाई सहजीकरण गर्न सानिमा बैंकले नक्साल तरकारी बजारका बिक्रेतालाई निःशुल्क क्युआर कोड वितरण गरेको थियो ।



  • प्रकाशित मिति : पुस १०, २०७७ शुक्रबार १७:१३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया