यी हुन् ओली मन्त्रिपरिषद्का आठ नयाँ अनुहार
प्रचण्डलाई छाडेकादेखि प्रदेशमा हारेकासम्म

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। एकीकरण नसकिँदै नेकपा विभाजित भएपछि राजीनामा दिएका प्रचण्ड–नेपाल समूहका मन्त्रीको ठाउँमा ओलीले नयाँलाई अवसर दिएका हुन्।

ओलीले अवसर दिएकामध्ये पाँचजना त पूर्व माओवादी पृष्ठभूमिका छन्। नयाँ मन्त्रीहरुले आजै सपथ लिएर आजै बस्ने मन्त्रिपरिषद् बैठकमा सहभागी हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फरकधारलाई जानकारी दिएका छन्।

नयाँ मन्त्रीहरुमा टोपबहादुर रायमाझी, दावा लामा, गौरीशंकर चौधरी, मणि थापा र प्रभु साह छन्। उनीहरु सबैजना पूर्वमाओवादी पृष्ठभूमिका हुन्। त्यसैगरी पूर्व एमाले पृष्ठभूमिका प्रेम आले, विमला बिक र गणेश ठगुन्ना पनि मन्त्री भएका छन्।

 

टोपबहादुरलाई फेरि लाभको  पद

२०१७ सालमा अर्घाखाँचीको फलेपतमा जन्मिएका टोपबहादुर रायमाझी २०३४ सालदेखि कम्युनिस्ट पार्टीको सदस्य रहँदै आएका थिए । उनले यो पटक ऊर्जा मन्त्रीको जिम्मेवारी पाएका छन्। 



२०४७ सालमा केही वाम घटकहरु एकीकृत भएर एकता केन्द्र बन्द रायमाझी बाबुरामका साथ एकता केन्द्रमा समाहित भएका थिए । त्यसपछि बाबुरामसँगै माओवादीको सशस्त्र संघर्षमा होमिएका थिए । 

रायमाझी २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा अर्घाखाँची क्षेत्र नम्बर १ बाट  निर्वाचित भएका थिए । संविधान निर्माणपछि बनेको केपी शर्मा ओली नेतृत्वको सरकारमा तत्कालीन माओवादीका तर्फबाट रायमाझीले नै नेतृत्व गरेका थिए ।  



तत्कालीन माओवादीमा बाबुराम भट्टराईको मुख्य सहयोगी रायमाझी नै थिए । संविधान निर्माणपछि बाबुरामले नयाँ राजनीतिक शक्ति निर्माण गर्ने भन्दै माओवादीबाट बाहिरिए पनि रायमाझी माओवादीमै रहे । त्यसपछि उनी केपी ओली सरकारमा उपप्रधान तथा ऊर्जामन्त्री बनेका थिए । 

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा अर्घाखाँचीबाट रायमाझी वाम गठबन्धनका साझा उम्मेदवार बनी विजयी भएका थिए। तर नेकपा विभाजनका क्रममा उनले प्रचण्ड समूहलाई छाड्दै ओली समूहमा आएका हुन्। आफ्नो समूहमा आएलगत्तै ओलीले उनलाई पनि मन्त्री बनाइदिएका छन्। 

प्रचण्डलाई छाडेकै दिन मन्त्री

प्रदेश २ मा पुष्पकमल दाहाल प्रचण्डका बलियो सारथि प्रभु साह अन्ततः नेकपा ओली समूहमा आएका छन्। बिहीबार बबरमहलस्थित कार्की पार्टी प्यालेसमा भएको दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा सहभागी साह शुक्रबार मात्रै ओली समूहमा प्रवेश गरेका हुन्।

ओली समूहमा आएलगत्तै उनले मन्त्री पद उपहार पाएका छन्। प्रचण्ड समूहले माधवकुमार नेपाललाई दोस्रो वरीयतासहित अध्यक्ष बनाएपछि उनी असन्तुष्ट थिए। एउटा पार्टीमा दुई अध्यक्ष राख्न नमिल्ने भन्दै गम्भीर असहमति जनाएका साह त्यहीकारण ओली समूहमा आएका हुन्।

साह दाहाल समूहका अध्यक्ष नेपालकै गृहजिल्ला रौतहटका हुन्। साहले दाहाल–नेपाल समूहको केही दिनअघि कार्की पार्टी प्यालेसमै भएको बैठकमा नेपाललाई अध्यक्ष बनाएकोमा आपत्ति जनाएका थिए। 

उनले दुई पटकसम्म असहमति जनाउँदा पनि त्यो समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले यसबारे केही कुरा गर्न नसकिने भन्दै रोकेका थिए।

रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित साह नेता नेपालसँग एमाले–माओवादी एकतादेखि नै असन्तुष्ट थिए। साह ओली समूहमा आएपछि नेता नेपाललाई पनि उनको गृहजिल्लामा समस्या पर्ने अनुमान गरिएको छ।

 

प्रदेशमा हारेर संघीय मन्त्री

प्रधानमन्त्री ओलीले विस्तार गरेको मन्त्रिपरिषदमा अघिल्लो चुनावमा प्रदेशसभामा हारेका नेता पनि समेटिएका छन्। प्रदेशसभामा पराजित सिन्धुपाल्चोकका दावा तामाङले पनि मन्त्री हुने अवसर पाएका हुन्।

२०७४ को प्रदेशसभा निर्वाचनमा दावा लामा सिन्धुपाल्चोक क्षेत्र नम्बर–२ प्रदेश ‘ख’ मा वाम गठबन्धनका उम्मेदवार थिए । उनी नेपाली कांग्रेसका निमा लामासँग पराजित भएका थिए ।  

तत्कालीन माओवादीमा मोहन वैद्यनिकट मानिने उनी २०६४ को संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं ३ बाट विजयी भएका थिए । उनले त्यो निर्वाचनमा तत्कालीन नेकपा एमालेका उम्मेदवार शेरबहादुर तामाङलाई हराएका थिए ।

दोस्रो संविधानसभा निर्वाचन २०७० मा उनी तत्कालीन वैद्य माओवादीको पक्षमा लागेर निर्वाचन बहिस्कार अभियानमा थिए।

नेकपा फुट्दा शेरबहादुर तामाङ दाहाल–नेपाल समूहमा लागेपछि सिन्धुपाल्चोकमा ओली समूह कमजोर भएको थियो। अग्नि सापकोटा र शेरबहादुर तामाङको पकड रहेको सिन्धुपाल्चोकमा ओलीले प्रचण्डलाई छाडेर आएका दावालाई भरोसा गरेका हुन्।

 

पालो आयो प्रेम आलेको 

ओली दोस्रो पटक प्रधानमन्त्री हुँदै प्रेम आले मन्त्री हुने चर्चा थियो। त्यसबेला पनि उनी मन्त्री बन्ने चर्चा थियो। एनले नेताहरुबीच चर्कै लविङ पनि गरेका थिए तर सफल हुन सकेनन्।

कांग्रेस नेता तथा तत्कालीन भौतिक योजना, यातायात मन्त्री वीरबहादुर बलायरलाई पराजित गर्दै डोटीमा उनी गत निर्वाचनमा एमालेबाट विजयी भएका थिए।

कुनै समय उनी ओली सरकारका कट्टर विरोधी थिए। ओली सरकारले यती होल्डिङ्सलाई नेपाल ट्रस्टको जग्गा लिजमा दिएको तथा नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको भन्दै चर्को विरोधमा उत्रिएका थिए। 

संसदीय समितिमा उनीसहितको उपसमितिले वाइडबडी खरिदमा भ्रष्टाचार भएको भन्दै कारवाही सिफारिस गरेको थियो। तर नेकपा फुटका बेला ओली समूहमा लागेका उनले मन्त्री पद पाएका हुन्। 

 

मणिको काँधमा मेलम्ची

प्यूठान स्थायी घर भएका मणि थापा २०३५ सालमा बिद्यार्थी राजनीतिबाट तत्कालीन नेकपा (चौथो महाधिवेशन) मा आवद्ध भएका थिए । नेकपा मोटो मशाल, एकता केन्द्र हुँदै उनी माओवादी धारमा मिसिएका थिए।

उनी माओवादी जनयुद्धमा पनि सक्रिय रुपमा लागे। २०५५ सालमा नेकपा (माओवादी)को चौथो बिस्तारित बैठकबाट केन्द्रीय सदस्य भएका उनी २०५७ सालको पार्टीको दोश्रो राष्ट्रिय सम्मेलनबाट पोलिटब्यूरो सदस्यमा चयन भएका थिए । 

थापा युद्धकालमा तत्कालीन माओवादीको सांस्कृतिक मोर्चा ‘अखिल नेपाल जनसांस्कृतिक संघ’को केन्द्रीय अध्यक्ष बनेका थिए । 

२०६२ सालको माओवादीको चर्चित चुनवाङ बैठकपछि असन्तुष्टि जनाउँदै माओवादी छाडे । सो समय उनीसँगै माओवादीका अर्का पोलिटब्यूरो सदस्य रवीन्द्र श्रेष्ठले पनि पार्टी छाडेका थिए । 

त्यतिबेला थापा र श्रेष्ठले तत्कालीन माओवादीमा सैद्धान्तिक विचलन आएको आएकाले पार्टी छाडेको बताएका थिए । उनीहरुले नेकपा माओवादी (सांस्कृतिक क्रान्ति) नामको मोर्चा गठन गरका थिए ।

पछि २०६५  ‘रिभोल्युसनरी लेफ्ट विङ’पछि ‘क्रान्तिकारी कम्युनिस्ट पार्टी, नाममो समूह गठन गरेका थिए । २०७३ मा माओवादीबाट विभाजित भएका विभिन्न घटकहरु एकीकृत हुँदा थापा पनि एकतामा सामेल भएका थिए । त्यसपछि थापा माओवादी केन्द्र हुँदै नेकपामा आवद्ध भएका थिए । पछिल्लो समय नेकपामा स्थायी समिति सदस्य रहेका थिए । 

हालसम्म थापाले कुनै लाभको पद ग्रहण गरेका छैनन् । थापाले रचना गरेका र संगीत भरेका थुप्रै जनवादी गीत छन् ।

 

गौरीशंकर फेरि मन्त्री

अघिल्लो निर्वाचनमा वाम गठबन्धनबाट जितेका गौरीशंकर चौधरीले फेरि मन्त्री हुने अवसर पाएका छन्। पूर्व कृषिमन्त्री चौधरी यो पटक रामेश्वर यादवले राजीनामा दिएपछि श्रम मन्त्री भएका हुन्।  गौरीशंकर आफ्नो कार्यकालमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू गरेकाले चर्चामा थिए।

कैलाली क्षेत्र नम्बर ३ मा चौधरीले नेपाली कांग्रेसका रामजनम चौधरीलाई पराजित गरेका थिए। चौधरी तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा कृषि विकास मन्त्री बनेका थिए।

लामो समयदेखि वामपन्थी आन्दोलनमा सक्रिय चौधरी माओवादी जनयुद्धमा सुरुदेखि नै लागेका थिए। उनी दाहाल–नेपाल समूह छाडेर ओली समूह आएपछि दोस्रो पटक मन्त्री हुने मौका पाएका हुन्। 

 

गणेशलाई अवसर

पछिल्लो समय दार्चुला लिपुलेक, कालापानी र लिम्पियाधुराका कारण चर्चामा छ। भारतले हडपेका यी तीन भूमि लामो समयदेखि भारतको अधीनमा छन्। 

यही भूमिको  प्रतिनिधित्व गर्दै आएका गणेशसिंह ठगुन्नालाई प्रधानमन्त्री ओलीले सामान्य प्रशासन मन्त्री बनाएका हुन्। अघिल्लो निर्वाचनमा उनले कांग्रेसका विक्रमसिँह धामीलाई पराजित गरेका थिए। 

 

पति पहिले जुली अहिले 

जुलीकुमारी महतोले पनि नयाँ मन्त्रीका रुपमा काम गर्न पाएकी छन्। उनलाई ओलीले महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी दिएका छन्। 

यसअघि उनका पति रघुवीर महासेठ यातायात मन्त्री थिए। तर उनको कामको चर्को आलोचना भएपछि ओलीले हटाएर वसन्त नेम्वाङलाई ल्याएका थिए। अब पत्नीलाई पनि ओलीले मन्त्री बनाइदिएका हुन्। 

रघुवीरले धनुषा ४ बाट प्रत्यक्षतर्फ चुनाव जितेका हुन् भने जुलीकुमारी समानुपातिक सांसद हुन्। धनुषाकी उनी यसअघि पहिलो संविधानसभामा पनि समानुपातिकतर्फका सभासद् थिइन् ।

नेकपा विभाजनका क्रममा जुली ओली समूहमा थिइन् भने पति रघुवीर प्रचण्ड–नेपाल समूहमा। तर अन्तिम समयमा रघुवीर पनि ओली समूहमै पुगेका छन्। पति ओली समूहमा फर्किएलगत्तै पत्नीले मन्त्रीको अवसर पाएकी हुन्। 

  • प्रकाशित मिति : पुस १०, २०७७ शुक्रबार २०:३५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया