नेकपा फुटेपछि बढ्यो चीनको सक्रियता, उच्चस्तरीय टोली आउँदै
राजदूत यान्छी विभाजित नेकपा नेताको घरदैलोमा

काठमाडौं : नेपालकै ठूलो कम्युनिष्ट पार्टी विभाजित भएपछि उत्तरी छिमेकी चीनले सक्रियता बढाएको छ। नेकपा विभाजित हुँदा नेपालमा बलियो  राजनीतिक प्रभाव रहेको भारत मौन रहेको अवस्थामा चीनले भने सक्रियता बढाएको हो। 

काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले नेकपा विभाजित भएर बनेको दाहाल-नेपाल समूहका नेताहरुसँग दैनिकजसो भेटलाई तीव्र बनाइरहेका बेला बेइजिङबाट पनि उच्चस्तरीय टोली आउन लागेको हो।  

चिनियाँ राजदूत यान्छीले शुक्रबार एकैदिन दाहाल-नेपाल पक्षका तीनजना नेतालाई भेटेकी थिइन्। नेकपा विभाजित भइसकेपछि उनले सबैभन्दा पहिले गत मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवासमा भेटेकी थिइन्। राष्ट्रपतिसँग भेटबारे केही नखुलाइए पनि उनको भेटको सन्दर्भ संसद विघटनपछिको अवस्था र नेकपामा संकट नै थियो। तर त्यसयता उनले दाहाल-नेपालका नेता भेटे पनि प्रधानमन्त्री केपी शर्मा ओली  पक्षसँग संवाद अघि बढाएकी छैनन्। 

शुक्रबार यान्छीले प्रचण्ड-नेपाल पक्षका तीनजना नेतासँग भेटघाट गरेकी थिइन्। यस समूहले भर्खरै अध्यक्ष तोकेका नेता माधव कुमार नेपाललाई राजदूत यान्छीले भेटेकी थिइन्। त्यससँगै उनले बलात्कार प्रकरणबाट सफाइ पाएर जेलबाट रिहा भएका पूर्वसभामुख कृष्णबहादुर महरालाई भेटेकी छिन्।

त्यसैगरी उनले हालै ऊर्जा मन्त्रालयबाट राजीनामा दिएका नेता वर्षमान पुनलाई पनि शुक्रबारै भेटेकी थिइन्। यान्छीले दाहाल-नेपाल समूहका जनार्दन शर्मा र योगेश भट्टराईलाई पनि भेटेकी छन्। 



यान्छीले लामो समयपछि दाहाल समुहका अध्यक्ष नेपाललाई कोटेश्‍वर पुगेर भेटेकी हुन्। शुक्रबार दिउँसो भएको भेटका अवसरमा दुई मुलुकका आपसी हितका विषयमा छलफल भएको नेपालनिकट नेता विष्णु रिजालले जानकारी दिएका छन्। दुईजनाबीचको भेटमा नेकपा विभाजनपछिको अवस्थामा गम्भीर संवाद भएको स्रोतले जनाएको छ।

चीनले नेकपा विभाजनको अवस्थामा दाहाल-नेपाल समूहतर्फ विशेष चासो दिएको छ। राजदूत यान्छीले दाहाल समूहका दोस्रो वरीयताका अध्यक्षसहितका नेताहरुलाई भेट्दा ओली पक्षका कुनै नेतालाई भेटेकी छैनन्। यसलाई कूटनीतिज्ञहरुले नेकपा विभाजित भएको अवस्थामा दाहाल-नेपाल समूहतर्फ विशेष चासो र साथ रहने संकेतका रुपमा व्याख्या गरेका छन्। 



राजदूत यान्छीले यसअघि गत भदौमा नेकपामा गम्भीर विवाद देखिएपछि सक्रियता बढाएकी थिइन्। त्यसबेला उनले ओली, दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाललाई समेत भेटेर मिलेर जान सुझाएका थिइन्। उनले विभाजन रोक्न दबाब दिइसकेपछि त्यसबेला पार्टी फुटबाट जोगिएको थियो। यान्छीको सक्रियता र नेकपा उपाध्यक्ष वामदेव गौतमको ६ बुँदे प्रस्तावले त्यसबेला नेकपा फुट्नबाट जोगिएको थियो। 

उच्चस्तरीय टोली आउँदै 

राजदूत यान्छी दाहाल-नेपाल समूहका नेताको घरदैलोमा पुगिरहेका बेला बेइजिङले एउटा उच्चस्तरीय राजनीतिक टोली नै काठमाडौं पठाउने भएको छ। राजदूत यान्छीले नेकपा विभाजनपछिको यहाँको अवस्थाबारे जानकारी गराएपछि रक्षामन्त्री नेपाल आएको महिना नबित्दै चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ आउन लागेका हुन्। 

उनको नेतृत्वमा चार सदस्यीय टोली यही आइतवार नेपाल भ्रमणमा आउने भएको छ। चिनियाँ राजदूतावासले उक्त टोली आइतबार आउने जानकारी राष्ट्रपतिदेखि प्रधानमन्त्रीसहितका सरकारी उच्च अधिकारीलाई गराएको छ। 

चिनियाँ राजदूत यान्छी पटक पटकको पहलले नेकपा फुटबाट रोकिएन। नेकपा विभाजित  भएर नेपाल राजनीतिक उथलपुथल भएपछि चिनियाँ उच्चस्तरीय टोली आउन लागेको हो। बेइजिङले नेपालको अवस्था बुझ्‍न उच्चस्तरीय प्रतिनिधिमण्डल नै पठाउने निर्णय लिएको हो। 

यसअघि चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्हे मंसिर १४ गते नेपाल आएका थिए। चिनियाँ उच्च अधिकारीको आएको एक महिनापछि नेपालमा राजनीतिक उथलपुथल आएको अवस्थामा चिनियाँ कम्युनिष्ट पार्टीको टोली आउने भएको हो।

उक्त टोलीले नेपालमा विभाजित भएका नेकपाका दुवै समूहसँग भेटघाट तयारी छ। यता चिनियाँ राजदूत यान्छीले राष्ट्रपति भण्डारीलाई भेटिसकेकी छन्। त्यसपछि उनले नेकपाको एउटा समूहका अध्यक्ष प्रचण्डलाई पनि भेटिन्।

शुक्रबार मात्रै अर्का अध्यक्ष नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, पूर्व सभामुख कृष्णबहादुर महरालाई पनि भेटिन्। त्यही दिन वर्षमान पुन, जनार्दन शर्मा र योगेश भट्टराईलाई पनि उनले भेटेकी थिइन्। 

  • प्रकाशित मिति : पुस ११, २०७७ शनिबार १७:२५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया