सुदूरपश्चिम प्रदेश सरकार संकटमा : दुई पक्ष बीच सांसद आफ्नो पक्षमा पार्ने होडबाजी

प्रतिनिधि सभा विघटन भएसँग सुरु भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको किचलो सुदूरपश्चिम प्रदेशमा पनि पर्न थालको छ । नेकपाकै दुई तिहाई बहुमत भएको प्रदेश सरकार फेरबदल हुने संकेत देखिन थालेको छ ।

पार्टी केन्द्रमा देखिएको विभाजनले आ–आफ्नो गुटको नेतृत्वमा सरकार बनाउने प्रयास हुन थालेको छ । ओली र प्रचण्ड–माधव समूह बीच आ–आफ्नो पक्षमा बहुमत पुर्‍याउने कसरतमा जुटेका छन् । सुरुमा प्रचण्ड–माधवको पक्षमा बहुमत भएको प्रदेशमा बिस्तारै ओलीको पक्षमा पनि सांसदहरू खुल्न लागेका हुन् । सुरुमा ३ जना सांसद मात्र ओलीको पक्षमा खुलेका थिए । ओली पक्षका एक नेताका अनुसार ‘शनिबारसम्म आफ्नो पक्षमा १२ जना सांसद पुगेका छन् । अझै यो संख्या बढ्नेछ ।’

उनका अनुसार यस्तै परेमा प्रतिपक्ष दल काँग्रेस र राजपासँग मिलेर अविश्वासको प्रस्ताव पारित हुन पनि सक्छ । अविश्वासको प्रस्ताव पारित हुन २७ जनाको आवश्यकता पर्नेछ । ओली पक्षले अविश्वास प्रस्तावका लागि कांग्रेस र जनता समाज पार्टी (जसपा) सँग सहकार्यका लागि छलफल भइरहेको जनाएको छ । काँग्रेसका १२ र जसपाका दुई जनालाई समेत जोडेर अविश्वास प्रस्ताव पारितका लागि प्रदेश सभा सदस्यको आवश्यक संख्या पुग्ने ती नेताले बताए ।

अहिलेसम्म ओली पक्षमा भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहरा, कञ्चनपुरका महेशदत्त जोशी, डडेल्धुराकी कुन्ती जोशी, बझाङकी देवकी मल्ल, बैतडीका लीलाधर भट्ट, कैलालीका रतन थापा र नेपालु चौधरीले ओली पक्षलाई साथ दिएको ती नेताले बताए । आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा अझ खुलेका छैनन् । अन्य चार जना प्रदेश सभा सदस्यले पनि आफ्नो पक्षलाई साथ दिएको र उनीहरू पनि अविश्वासको प्रस्ताव दर्ता गर्ने क्रममा खुलेर बाहिर आउने ती नेताको दाबी छ ।

प्रचण्ड–माधव समूह कमजोर भए मुख्यमन्त्री भट्टको नेतृत्वको सरकार आगामी केही दिनमा ढल्नेछ ।

प्रचण्ड–माधव समूह बलियो भइरहे पनि मुख्यमन्त्री भट्टले भने सरकारमा निरन्तरता नपाउने कुरा पनि बाहिर आएको छ । ओली पक्ष जसरी पनि सुदूरपश्चिम प्रदेश सरकार ढाल्न जुटेको छ । 



ओली पक्षले सकभर आफ्नै पार्टीको नेतृत्वमा सुदूरपश्चिम प्रदेश सरकार बनाउने बताएको छ । यद्यपि काँग्रेसलाई साथमा लिएर जाँदा काँग्रेसलाई नै मुख्यमन्त्री पद दिन ओली पक्ष तयार छ । त्यसो भए काँग्रेसका संसदीय दलका नेता डाक्टर रणबहादुर रावल मुख्यमन्त्रीका रूपमा अगाडि सारिनेछन् ।

सुदूरपश्चिममा पछिल्लो समय कमजोर मानिएका ओली पक्षधर नेता लेखराज भट्टले केही दिनमै आफ्नो पक्षमा संघीय र प्रदेश सभाका प्रदेश सदस्यसँगै पूर्व माओवादीका नेताहरूलाई पनि पारेको जनाएको छ ।



प्रचण्ड–माधव पक्षधर प्रदेश सभा सदस्य दीर्घ सोडारीले सुदूरपश्चिम सरकारको पुनर्गठन मात्र हुने बताए । सोडारीले भने, ‘मन्त्रिमण्डल पुनर्गठन र बिस्तार हुन सक्छ तर सरकार नै परिवर्तन भने हुँदैन ।’ उनले मन्त्रिमण्डल बढाउनुको विकल्प नभएको बताए ।

५३ सदस्यीय प्रदेशसभामा नेकपाका ३९ जना छन् । यीमध्ये तत्कालीन एमालेबाट २५ र माओवादी केन्द्रबाट १४ जना हुन् । प्रमुख प्रतिपक्षी कांग्रेसका संसदीय दलका नेता डा. रणबहादुर रावलले अहिलेको प्रदेश सरकारको काम नरहेको बताए । ‘ओली पक्षका नेताहरूबाट नयाँ मिलिजुली सरकार बनाउ भन्ने कुरा आएको छ’, नेता रावलले भने, ‘केही नेताले त कांग्रेसलाई मुख्यमन्त्री पनि दिनुपर्छ भनेका छन् । तर, यसबारे कांग्रेसको धारणा अहिले नै बनिसकेको छैन ।’

  • प्रकाशित मिति : पुस ११, २०७७ शनिबार १८:५:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया