गण्डकी प्रदेश सरकारको विकल्प खोज्ने प्रचण्ड-नेपाल पक्षको तयारी, मुख्यमन्त्रीले भने- मिलेर जाऔँ

नेकपाको प्रचण्ड–नेपाल समूहले एकपछि अर्को गर्दै प्रदेशहरुमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न थालेका छन् । गण्डकी प्रदेश प्रचण्ड–नेपाल पक्षको शनिबार पोखरामा भएको बैठकले सरकारको विकल्प खोज्ने तयारी थालेको छ ।  

आफूविरुद्ध अविश्वासकाे प्रस्ताव दर्ता हुने संकेत पाएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अर्काे समूहलाई मिलेर अघि बढ्न प्रस्ताव गरेका छन् । 

प्रचण्ड–नेपाल समूहले बाग्मती प्रदेशमा शुक्रबारै अविश्वासको प्रस्ताव दर्ता गराइसकेको छ । सो प्रदेशका तीन मन्त्रीले राजीनामा गरेका छन् । 

शनिबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई बर्खास्त गरेका छन् । आफूविरुद्धको गतिविधिमा लागेको थाहा पाएपछि मुख्यमन्त्री राईले उनलाई बर्खास्त गरेका हुन् । बर्खास्तगीमा परेका आङ्बोले आइतबार मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने बताइसकेका छन् ।  

अन्य प्रदेशको लहर आफ्नोमा पर्ने देखेर गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले मिलेर जान आग्रह गरेका हुन् । शुक्रबार प्रधानमन्त्री केपी ओलीले चालेको संसद विघटनको कदमको समर्थनमा प्रदेशस्तरीय युवा भेलालाई सम्बोधन गर्दै उनले भने, ‘संघमा जेसुकै गरोस्, एउटै संसदीय दलमा रहेर प्रदेश सरकारलाई अगाडि बढाउने काममा रहन आग्रह गर्दछु ।’ 

विकास र समृद्धिको अभियानमा गण्डकी प्रदेशले साँच्चै नमुना देखाएको दाबी गर्दै उनले वर्तमान सरकारलाई नै निरन्तरता दिन आग्रह गरेका हुन् । 



गण्डकी प्रदेश सभाको ६० सिटमध्ये ४० सांसद नेकपाका छन् । तीमध्ये प्रचण्ड–नेपाल पक्षमा १३ जना र ओली पक्षमा २७ जना छन् ।

त्यसैगरी, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका १५ जना, राष्ट्रिय जनमोर्चाका ३ जना र जनता समाजवादी पार्टीका २ जना सांसद छन् ।



  • प्रकाशित मिति : पुस ११, २०७७ शनिबार २१:१:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया