कर्णालीलाई पराजित गर्दै लुम्बिनी सेमिफाइनल नजिक

दाङमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टि–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै लुम्बिनी प्रदेश सेमिफाइनल नजिक पुगेको छ । उसले आइतबार कर्णाली प्रदेशमाथि ९ विकेटको सहज जित हात पारेको हो ।

कर्णालीले दिएको ३५ रनको लक्ष्य लुम्बिनीले ३.१ ओभरमा मात्र १ विकेट गुमाउँदै भेटायो । लुम्बिनीका लागि अविजित रहेकी कप्तान नेरी थापाले ९ र सरस्वती जिएमले ३ रनको योगदान दिए । नेरीले १० बलमा २ चौका प्रहार गरिन् । गीता गोसाईले ४ रनको योगदान दिइन् । 

कर्णालीका लागि एक मात्र विकेट अञ्जु गुरुङले लिइन् ।

यसअघि लमही क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको कर्णालीले निर्धारित १३ ओभरमा (बाक्लो हुस्सुका कारण खेल समयमानै हुन नसकेपछि खेललाई १३ ओभरमा झारिएको थियो ।) ६ विकेट गुमाउँदै ३४ रनको योगफल तयार पारेको थियो । 

लुम्बिनीका बलर सामु कर्णालीका कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । उसका लागि कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । दीक्षा पुरीले बनाएको ८ रन नै कर्णालीका लागि सर्वाधिक व्यक्तिगत रन बन्न पुग्यो ।

लुम्बिनीका लागि नेरी थापाले २ सरिता जिसी र गीता गोसाईले समान १–१ विकेट लिए । २ विकेट रन आउटको रूपमा प्राप्त भयो । 



लगातार दोस्रो जित निकाल्दै समूह ‘ए’ बाट सेमिफाइन नजिक पुगेको लुम्बिनीले आफ्नो समूह चरणको अन्तिम खेलमा विभागीय टोली एपिएफसँग सोमबार प्रतिस्पर्धा गर्नेछ ।

लगातार दोस्रो हार ब्यहोर्दै समूह चरणबाटै बाहिरिएको कर्णालीले सोमबार नै समूह चरणको आफ्नो अन्तिम खेलमा प्रदेश–२ सँग प्रतिस्पर्धा गर्नेछ ।



आज हुने दोस्रो खेलमा एपिएफले प्रदेश–२ लाई पराजित गरेमा । यो समूहबाट एपिएफ र लुम्बिनी एक खेल अगावै सेमिफाइन प्रवेश गर्नेछन् ।

समूह चरणको पहिलो खेलमा लुम्बिनीले प्रदेश–२ लाई ९ विकेटले पराजित गर्दा कर्णालीले एपिएफसँग २०४ रनको फराकिलो पराजय ब्यहोरेको थियो ।

  • प्रकाशित मिति : पुस १२, २०७७ आइतबार १३:१२:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया