के वामदेवले प्रचण्ड–नेपाल समूहमा लाग्ने निर्णय गरिसकेका हुन् ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अहिले विभाजित भइसकेको छ । नेकपाका दुई समूह प्रधानमन्त्री केपी शर्मा ओली समूह र पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूह अहिले आआफ्ना गुटगत भेलामा सहभागी हुन थालिसकेका छन् । 

दुवै समूहमा केन्द्रीय नेताहरुको तानातान भइरहेको छ । अझै पनि दुवै समूहका केही नेताहरु कता लाग्नेछन् भन्ने टुङ्गो निस्किसकेको छैन । 

यसअघि नेकपाको सचिवालयका सबै सदस्य अहिलेसम्म खुलेर आफू कुन समूहमा लाग्ने भन्ने निर्धारण गरिसकेका छन् । तर, अझै यसको टुङ्गोमा पुग्न सकेका छैनन्, नेकपाका उपाध्यक्ष तथा सचिवालय सदस्य वामदेव गौतम । 

यसअघि नेकपामा विवाद उत्कर्षमा पुग्दा गौतम प्रचण्ड–नेपाल समूहमा थिए । कतिसम्म भने केही महिनाअघि गौतमले प्रधानमन्त्री ओलीको राजीनामा माग समेत गरेका थिए । यो विवादको केन्द्रमा उनी हुँदै गर्दा जब उनलाई राष्ट्रिय सभा सदस्य बनाउने सहमति गरियो, त्यसपछि उनले प्रधानमन्त्री ओलीको राजीनामा माग गर्न छोडेनन् मात्र, ६ बुँदे एक प्रस्ताव अघि सारे । 

त्यति बेला वामदेवले नेकपाका यी दुवै समूहलाई निकट बनाउन सहयोग गरेको चर्चा चलेको थियो ।

तर, अब नेकपा विभाजित भइसक्दा वामदेव गौतम कता लाग्ने हुन् भन्ने अहिलेसम्म खुलेको छैन । शनिबार उनले नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग लामो संवाद गरेका थिए । प्रचण्डनिवास खुमलटारमा भएको यो छलफलमा पनि उनले प्रचण्डलाई आफ्नो खास निर्णय सुनाएनन् । 



शनिबार प्रचण्डसँग भेट भएपछि र त्यसअघि पनि नेकपा वृत्तमा सबैभन्दा ठूलो चासोका साथ हेरिएको छ, वामदेव अब कुन कित्तामा लाग्ने हुन् ।

वामदेवले अहिलेसम्म आफूलाई न्युट्रल नै राख्ने बताइरहेका छन् । भोलि यी दुई समूहबीच समायोजनको चर्चा चल्दा एक जना भए पनि यसलाई सहज बनाउने नेताको आवश्यकता हुने भन्दै वामदेवले आफूलाई मध्यमार्गी धारमा नै राख्ने बताउँदै आएका छन् । 



तर, प्रधानमन्त्री ओलीले संसद विघटन गरिसकेकाले उनी अहिले कुनै पनि समूहमा नलाग्ने भन्ने सम्भावना नै नहुने नेकपाका एक केन्द्रीय सदस्य बताउँछन् । 

‘पावर सेयरिङको विषयमा उहाँ (वामदेव गौतम)ले केही समय पर्ख र हेरको अवस्थामा आफूलाई राख्नु भएको हुनसक्छ,’ ती केन्द्रीय सदस्यले भने, ‘तर, अब लामो समय नै म कुनै पनि समूहमा लाग्दिनँ भन्ने उहाँको तर्क सही नहोला ।’

उनका अनुसार वामदेव गौतमले अन्ततः प्रचण्ड–नेपाल समूहलाई नै छान्नेछन् । 

यसका लागि उनीसँग दुई तर्क रहेका छन् । पहिलो हो, गौतम ओली समूहमा लाग्दा ठूलै पदको बार्गेनिङ उनले गर्नु पर्ने हुन्छ । तर, ओली समूहमा गृहमन्त्री रामबहादुर थापा बादल लागिसकेका छन् । यसका कारण गौतमले अहिले गृहमन्त्रीको पद पाउने सम्भावना टरेको छ । त्यस्तै, नेकपामा नेपाल समूहका ती नेताका अनुसार अहिले बहुमत सचिवालय सदस्य प्रचण्ड–नेपाल समूहमा भएकाले गौतमले पनि यो समूहमा नै आफ्नो भविष्य देख्न सक्नेछन् । 

अर्कोतिर, ओली समूहमा लाग्दा गौतमले उपाध्यक्ष पद पनि गुमाउन पर्नसक्ने सम्भावना बढेको ती नेताको तर्क छ । 

‘पद बाँडफाँडका कारण अहिले ओली समूहमा लाग्दा गौतम के हुने भन्ने निश्चित भएको छैन, फेरि उनको यसअघि सचिवालय बैठकमा ओलीसँग निकै धेरै विषयमा मतभेद थियो,’ ती नेताले भने, ‘त्यसैले अहिले नै उनी ओली समूहमा जाने सम्भावना कम हुँदै गएको छ ।’

के यसको अर्थ अब वामदेव गौतमले प्रचण्ड–नेपाल समूहमा लाग्ने निर्णय गरिसकेका हुन् ?

‘उहाँले निर्णय गरिसक्नु भएको छ तर बाहिर खुल्नु भएको छैन, सायद उहाँ अरु केही विषयहरुमा बार्गेनिङ गर्न चाहनुहुन्छ,’ ती केन्द्रीय सदस्यले फरकधारलाई बताए । 

अर्कोतिर गौतमले अहिले संवैधानिक इजलासमा पुगेको संसद विघटनको मुद्दाको निर्णय पनि पर्खिएको उनीनिकट एक नेताले फरकधारलाई बताए । ‘अहिलेको राजनीतिक अवस्थामा केही समय हेर र पर्खको अवस्थामा नै उहाँ हुनुहुन्छ,’ ती नेताले भने, ‘त्यसैले अहिले नै गौतमले कुन समूहमा लाग्ने भन्ने निर्णय गरिसक्नु भएको छैन ।’

  • प्रकाशित मिति : पुस १२, २०७७ आइतबार १३:३८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया