दाङमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै विभागीय टोली एपिएफ एक खेलअगावै सेमिफाइनलमा प्रवेश गरेको छ । उसले आइतबार प्रदेश–२ माथि ८ विकेटको सहज जित हात पारेको हो ।
प्रदेश–२ ले दिएको ७३ रनको लक्ष्य एपिएफले १३.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । एपिएफका लागि ज्योति पाण्डेले सर्वाधिक ३० रनको योगदान दिइन् । १२.३ ओभरमा सरस्वती कुमारीको बलमा एलबिडब्ल्युको सिकार भएकी उनले ४० बलमा ४ चौका प्रहार गरिन् ।
कप्तान सीता राना मगरले १८ तथा अविजित रहेका सरिता मगरले ५ र इन्दु बर्माले १ रन बनाए । प्रदेश–२ का लागि कविता गौतम र सरस्वती कुमारीले समान १–१ विकेट हात पारे ।
यसअघि लमही क्रिकेट मैदानमा टर जितेर ब्याटिङ रोजेको प्रदेश–२ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ७२ रनको योगफल तयार पारेको थियो ।
एपिएफका बलरसामु प्रदेश–२ का कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । उसका लागि २ खेलाडीले मात्र दोहोरो अंकमा रन बनाउन सके । अनुराधा चौधरीले सर्वाधिक १८ र शोभा आलेले १३ रनको योगदान दिए ।
एफिएफका लागि सीता राना मगरले २, रेखा रावल, करुणा भण्डारी, ईश्वरी विष्ट र राजमती ऐरीले समान १–१ विकेट लिए । २ विकेट रन आउट रुपमा प्राप्त भयो ।
एपिएफको यो नतिजासँगै समूह ‘ए’ बाट लुम्बिनी प्रदेश पनि एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ ।
आफ्नो समूह चरणको अन्तिम खेलमा एपिएफले सोमबार लुम्बिनी प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । यो खेलले समूह विजेताको टुङ्गो लगाउनेछ ।
लगातार दोस्रो हारसँगै समूह चरणबाटै बाहिरिएको प्रदेश–२ ले सोमबारै समूह चरणको आफ्नो अन्तिम खेलमा कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । दुबै टोली प्रतियोगिताबाट बाहिरी सकेका छन् ।
समूह चरणको पहिलो खेलमा एपिएफले कर्णाली प्रदेशमाथि २०४ रनको फराकिलो जित हात पार्दा प्रदेश–२ ले लुम्बिनी प्रदेशसँग ९ विकेटको पराजय व्यहोरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।