वामदेवको निष्कर्ष : एक्लै चुनाव लडे नेकपाका दुवै समूह पत्तासाफ हुन्छन्
प्रचण्डसँग माधव नेपाल बस्‍न सक्दैनन्, एक दिन फर्किन्छन्

काठमाडौं : नेकपाका उपाध्यक्ष वामदेव गौतमले आगामी चुनावमा अलग अलग लडेमा केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वका दुवै समूह पत्तासाफ हुने बताएका छन्। आफूलाई भेट्न भैंसेपाटी आएका सुदूरपश्‍चिम प्रदेशका नेकपा नेताहरूसँगको संवादका क्रममा उनले पार्टी फुटे पनि मोर्चा बनाएर चुनाव लडेमा मात्रै दुवै समूहको अस्तित्व जोगिन सक्ने उल्लेख गरेका छन्। 

'पार्टी फुटिसक्यो, तत्काल जुट्ने सम्भावना छैन, यिनीहरु अलग अलग चुनाव लडे भने पत्तासाफ हुन्छन्। नेपालमा कम्युनिष्ट आन्दोलन खतरामा परेको छ, अहिले म यसलाई जोगाउने अभियानमा लाग्छु', सुदूरपश्‍चिम प्रदेशका ओली समूहका नेताहरुसँग कुरा गर्दै उनले भने, 'कम्युनिष्टको अस्तित्व बचाउन म जनताको बहुदलीय जनवाद पक्षधरलाई एक ठाउँमा ल्याउने अभियानमा छु। मेरा लागि जबज नै मुख्य कुरा हो। जबज भनेको मार्क्सवाद र लेनिनवाद हो, जनताले खोजेको पनि त्यही हो।'

जबजलाई छोडेर माओवादी जनवाद अंगाल्दै प्रचण्ड समूहमा गएका माधवकुमार नेपाल पनि निकट भविष्यमा फर्किने दाबी उनले गरेका छन्। 'म जबजवादीलाई मिलाउने अभियानमा छु। माधव नेपाल पनि अन्तिममा त्यहीँ आउँछन्। माधव र प्रचण्ड एकै ठाउँमा बस्‍न सक्दैनन्', गौतमको भनाइ उद्धृत गर्दै भेटमा सहभागी एकजना केन्द्रीय सदस्यले भने, 'जबज र माओवादी लाइन एकै ठाउँमा छ, त्यहाँ लामो समय कुरा मिल्दैन। म ढिलो चाँडो जबज पक्षधरको मिलन गराउँछु।'

गौतमले जबज शान्तिपूर्ण रुपमा स्थापित धार भएको टिप्पणी गरे। 'जबज भनेको शान्तिपूर्ण रुपमा स्थापित धार हो। माओवाद भनेको हिंसात्मक बाटोबाट आएको, त्यसैले यी दुई धार मिल्दैनन् भनेको हुँ', उनले थपे, 'जबज लाइनका केपी ओली र माधवकुमार नेपाल कालान्तरमा फेरि एकै ठाउँमा आइपुग्छन्, त्यसको अन्य कुनै विकल्प छैन। 

एकता अभियान चलाउने 

नेकपा दुई समूहमा विभाजित भइसकेपछि जबजको मूल नेतृत्व नै आफूहरुले गरिरहेको दाबी केपी ओलीले गरिरहेका छन्। वामदेवले तत्काल आफू न ओली न प्रचण्ड, कुनै पनि समूहमा नलाग्ने अडान लिएका छन्। 



'म चाहिँ ओली-प्रचण्ड दुवैतर लाग्दिनँ, मैले एकताका लागि राष्ट्रिय अभियान चलाउँछु, म देशभर जान्छु। मलाई सहयोग गर्नुस्, कहिँ कसैले अवरोध नगरिदिनुस्', गौतमले अगाडि भने, 'म अब जिल्ला, टोल, गाउँ, नगर कमिटी बनाउँछु, एकता अभियान चलाउँछु', गौतमले अगाडि भने, 'मैले दुवै समूहका लागि चारवटा विकल्प दिएको छु। दुइटा पार्टी अब एक हुँदैनन्, फुटिहालेकाले अब पहिले जस्तै अलग अलग पार्टी कार्यालयबाटै चुनावी मोर्चा बनाएर अघि बढ्नुपर्छ, त्यसका लागि म दुवै समूहलाई मनाउन लाग्छु।'

भित्तामा पुर्‍याउँछन् 



नेता गौतमले जबजको रक्षा एक्लै गर्न नसकिने भएकाले अब एकता अभियानमार्फत जबज लाइनका सबैलाई संगठित गर्ने बताए। 'जबजको रक्षा एक्लै हुँदैन दुईटा लाइनबाट पनि हुँदैन। अहिले नै म ओली कहाँ फर्किँदा मलाई जबजको रक्षा गर्न दिँदैनन्। त्यहाँ त मलाई कुनामा धकेल्छन्', उनले भने, 'अन्तिममा जबज लाइनका सबैले मिल्नै पर्छ, त्यसका लागि म वातावरण बनाउन अघि बढ्छु।'

कुर्दै सर्वोच्चको आदेश 

गौतमले संसद विघटनबारे कम्तीमा सर्वोच्चको आदेश नआएसम्म आफू कुनै समूहमा नलाग्ने बताएका छन्। 'मलाई अहिले कुनै समूहमा गएर मिसिन हतार छैन', उनले भने, 'अहिलेलाई सर्वोच्च अदालतको आदेश पनि कुर्छु। त्यसपछि म कुनै समूहमा जाने या जबज लाइन लिएर गाउँसम्म पुग्‍ने, त्यतिखेरै निर्धारण गर्नेछु।'

बालुवाटारले सुनेन

वामदेवले नेकपानिकट कानुन व्यवसायीहरुमार्फत पार्टी एकता जोगाउन राखेको तीन बुँदे प्रस्ताव पनि बालुवाटारले अस्वीकार गरेको बताएका छन्। प्रधानमन्त्री ओली पक्षले आफ्ना तीनवटा प्रस्तावलाई ओलीले अस्वीकार गरिदिएको पनि भेटमा बताएका छन्। 

नेकपाका कानुन व्यवसायीहरुले वामदेवमार्फत बालुवाटार पुर्‍याएका ती तीन बुँदामा प्रतिनिधिसभा पुनःस्थापना, दुवै समूहको संयुक्त सरकार तथा एक-एक वर्ष केपी ओली र प्रचण्डले आलोपालो प्रधानमन्त्री चलाउने कुरा थिए।

तर यी तीनवटै प्रस्ताव बालुवाटारबाट अस्वीकृत भएपछि गौतम ओली समूहबाट केही टाढिएका छन्। बालुवाटारले प्रतिनिधिसभा पुनःस्थापना हुन नसक्ने बताएपछि वामदेवको यो प्रस्ताव पनि तुहिएको छ। नेकपाका केही वकिलहरूले गरेको यो प्रस्ताव मन पराएपछि गौतमले बालुवाटार पठाएका थिए। 

बालुवाटारबाट आफ्नो प्रस्ताव अस्वीकृत भएपछि अब वामदेवले सर्वोच्चको आदेश नआउन्जेल तटस्थ नै रहने मत राखेका हुन्। यसअघि नै ओलीसँग संवाद गरिसकेका गौतमले शनिबार खुमलटार पुगेर प्रचण्डसहितका नेतासँग संवाद गरेका थिए। गौतमले यसअघि ओलीले चालेको संसद विघटनको कदमलाई असंवैधानिक भनेका थिए। खुमलटारको भेटमा गौतमले प्रचण्डलाई भोलिका लागि स्पेस राखेर मात्रै कदम चाल्न सुझाव दिएर फर्किएका थिए। 

झगडा नगर्नू 

नेकपा विभाजित हुँदा तटस्थ बसेका गौतम अहिले दुवै समूहको तानातानमा परेका छन्। उनलाई आफूतिर ल्याउन ओली र दाहाल दुवै समूह कम्मर कसेर लागेका छन्। गौतमले प्रधानमन्त्री ओलीसँग बालुवाटारमै पुगेर छलफल गरेका छन्। अर्कातिर उनी प्रचण्डलाई भेट्न पनि खुमलटार पुगेका छन्। जहाँ उनले आफू तत्काल कुनै समूहमा लाग्न नसक्ने बताइसकेका छन्। 

आफूलाई भेट्न दुवै समूहका नेतादेखि कार्यकर्तासम्म दिन दिनै धाउन थालेपछि उनले दिक्क मान्‍न थालेका छन्। भेट्न आउनेसँग उनी छलफलमा त बसेका छन् तर पूर्व शर्तसहित। 'ली समूह नै जबजको मूल लाइन भएकाले यतै फर्किनु भन्‍न गएका थियौँ तर उहाँले पहिले नै शर्त राख्नु भयो', सुदूरपश्चिममा ओली समूहका अर्का केन्द्रीय सदस्यले भने, 'उहाँले हामीलाई आफ्नो समूहमा आउनका लागि दबाब नदिन र झगडा नगर्न भनेर सुरुमै शर्त राख्नु भयो। झगडा र वादविवाद नगर्ने प्रतिवद्धतापछि मात्रै उहाँले हामीसँग कुरा गर्नुभयो।'

गौतमलाई भेट्न उनको निवास भैँसेपाटीमा ओली समूहका एक दर्जन बढी नेता  पुगेका थिए। ओली समूहबाट सुदूरपश्चिमका केन्द्रीय सदस्यहरु भीमबहादुर कडायत, नारदमुनि राना, लीला भण्डारी, दीपक देवकोटा, सम थापा, देवी पाण्डे र नवलसिंह रावलले आइतवार बिहान १० बजेदेखि साढे १२ बजेसम्म गौतमसँग भैँसेपाटीमा संवाद गरेका थिए।

  • प्रकाशित मिति : पुस १२, २०७७ आइतबार १७:३३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया