केन्द्रमा नेकपा फुटे पनि हुम्लामा एकताको सन्देश दिन्छौँ : सांसद लामा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनसँगै नेताहरू आ–आफ्नो गुटमा लागिरहेका छन् । प्रधानमन्त्री ओली समूह र प्रचण्ड–माधव समूह, नेता तथा कार्यकर्तालाई आ–आफ्नो पक्षमा पार्न लागिपरेका छन् । केन्द्रदेखि गाउँ समाज टोल–टोलसम्म नेकपा विभाजनको प्रभाव देखिएको छ । नेता तथा कार्यकर्ता एक अर्काविरुद्ध विरोधमा उत्रिएका छन् । प्रदेश सरकार समेत परिवर्तन हुने अवस्थामा पुगेका छन् । नेकपा विभाजनकै क्रममा ओली पक्षमा लागेका हुम्लाबाट प्रतिनिधि सभामा निर्वाचित सांसद छक्कबहादुर लामा पुनः प्रचण्ड–माधव पक्षमा लागेका छन् । प्रतिनिधि सभाको निर्वाचनमा हुम्लाबाट स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका लामा हुम्ली जनताको इच्छा अपेक्षा अनुसार प्रचण्ड–माधव पक्षमा लागेको बताएका छन् । लामाले केन्द्रमा नेकपा फुटे पनि हुम्लामा एकताको सन्देश दिने गरी अघि बढ्ने बताएका छन् । नेकपा विभाजनपछिको परिवर्तनका सन्दर्भमा सांसद लामासँग  गरेको टेलिफोन कुराकानी : 

नेकपा विभाजन हुँदा पहिला ओली पक्षमा लाग्नु भयो तर पछि किन प्रचण्ड–माधव पक्षमा फर्किनुभयो ?

म हुम्लाबाट प्रतिनिधि सभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा विजय भए पनि मेरा साथीहरू कार्यकर्ता सबै पूर्वमाओवादी पक्षका हुन् । प्रतिनिधि सभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा उठ्दा म पूर्वमाओवादीबाट कारबाहीमा परेको थिएँ । तर, निर्वाचनपछि त्यो फुकुवा भयो । म लामो समय माओवादीको विद्यार्थी राजनीतिबाट आएको मान्छे हुँ ।

नेकपा विभाजन हुँदा म प्रधानमन्त्री ओली पक्षमा लागेकै हो । तर, त्यहाँ मेरो केही वास्ता नै गरिएन । म एक्लिनुपर्ने अवस्था आयो । गाउँ तथा जिल्लामा रहेका नेता कार्यकर्ताहरूबाट फर्किनुपर्नेमा दबाव आयो । साथीहरू, कार्यकर्ता सबै प्रचण्ड–माधव पक्षमा भएका कारण म प्रचण्ड–माधव पक्षमै फर्किएको हुँ ।

ओली पक्षमा मन्त्री पदका लागि गएको नपाएपछि पुनः प्रचण्ड–माधव पक्षमा गएको भन्ने आरोप तपाईं माथि छ नि ?

अहिले मेराविरुद्ध धेरै भ्रमहरू फैलाइएको छ । तर, वास्तवमा त्यो होइन । म ओली पक्षको केही प्रभावमा परे पनि वास्तवमा मन्त्रीका लागि गएको होइन । उहाँहरूबाट आश्वासनहरू त धेरै न आएको थियो । तर, त्यो व्यवहारतः आश्वासनमा मात्रै सीमित भयो । म पुनः प्रचण्ड–माधव पक्षमा फर्किएँ यसमा म सन्तुष्ट छु ।



नेकपा विभाजनको प्रभाव गाउँ–गाउँमा पुग्दै गर्दा हुम्लामा के छ अवस्था ?

यसको प्रभाव हुम्लामा पनि देखिएको छ । तर, हामी हाम्रा साथीहरू अझै पनि एकताको पक्षमा छौँ । जिल्लाका अरू नेताहरूसँग पनि यही विषयमा छलफल समेत भएको छ ।



केही नेताहरू सामाजिक सञ्जालमा गालीगलोज गर्ने, एकले अर्कालाई विरोध गर्ने जस्ता गतिविधि भए पनि वास्तवमा हुम्लाका नेताहरू एकताको पक्षमा हुनुहुन्छ । केन्द्रमा नेकपा फुटे पनि जिल्लामा फुट्दैन । पार्टी छुट्टा–छुट्टै भए पनि हामी चुनावी तालमेल गरेरै भए पनि हुम्लाका एक प्रतिनिधि सभा र २ प्रदेशसभा निर्वाचन जित्छौँ । कानुन तह पार्टी फुटे पनि हामी जिल्लामा एकताको सन्देश दिन्छौँ ।

अब कसरी अघि बढ्नुहुन्छ ?

परिवर्तन भएको राजनीतिक घटनाक्रमका कारण अहिले म काठमाडौँमा छु । अझै केही दिन यहाँ बस्ने छु । तर जतिसक्दो छिटै नै म जिल्ला फर्किने तयारीमा छु । म प्रति हुम्लाका जनताको विश्वास धेरै छ ।

कार्यकर्ताहरूले मेरो पछिल्लो निर्णयको स्वागत गरेका छन् । अहिले जिल्लामा रहेका सबै साथीहरूसँग छलफल भइरहेको छ । जिल्लामा गए पछि हामी सबै पक्ष बसेर छलफल गर्छौं । हुम्ला नेपालको एक पिछडिएको जिल्लाका रूपमा चिनिन्छ । हुम्लाको विकास निर्माणका लागि कम्युनिस्ट सरकार नै आवश्यक छ भन्ने हिसाबले सबै नेकपाका नेताहरू एकजुट भएर अघि बढ्छौँ ।

  • प्रकाशित मिति : पुस १२, २०७७ आइतबार १८:१६:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया