तीव्र गतिमा फैलिँदै कोरोनाको नयाँ प्रजाति, नेपाल पनि जोखिममा
डा. पाण्डे भन्छन्: हामी सर्तक छौं, अध्ययन भइरहेको छ

काठमाडौं : गत वर्ष चीनको वुहानमा पत्ता लागेको कोरोना भाइरस (कोभिड–१९) ले पूरै विश्वलाई आक्रान्त बनाइरहेको छ। 

यस भाइरस संक्रमणका कारण विश्वभर साढे १७ लाखभन्दा धेरैको ज्यान गइसकेको छ। लामो खोज, अनुसन्धानपछि कोभिड–१९ विरुद्धको खोप विभिन्न देशले तयार गरेका छन्। 

थुप्रै देशले यसको प्रयोग पनि सुरु गरेका छन्। कोभिड–१९ को त्रासबाट कहिले मुक्ति पाइएला? अझै विश्व समुदायमा अन्योलमा छ। खोपको उत्पादन र प्रयोगले  केही आशा सञ्चार गराइरहेको छ। तर त्यो खोप क–कसले पाउने, सर्वसाधारणसम्म कहिले आइपुग्ने, गरिब देशको पहुँचमा कहिले आउने? अझै टुंगो छैन। 

कोभिडविरुद्धको खोप उत्पादन र प्रयोग सुरु भइरहेकै बेला युरोपका केही देशमा कोरोना भाइरस नयाँ रुपमा देखा परेको छ। सुरुमा बेलायतमा पहिचान भएको यो भाइरस अहिले स्पेन, स्विट्जरल्यान्ड, स्वीडेन, फ्रान्स लगायत युरोपेली मुलुकसँगै र जापान क्यानडामा पनि पुगेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार यो नयाँ स्वरूपको कोरोना भाइरस नोभेम्बरमा बेलायतमा फेला परेको थियो। अब बिस्तारै विश्वभर फैलिन सक्ने चेतावनी विश्व स्वास्थ्य संगठनले दिएको छ। थुप्रै देशहरुले बेलायत हुने आवतजावतलाई बन्द र कडाइ गरिसकेका छन्। 

नेपालमा पनि बेलायतबाट हुने उडानलाई रोकिएको छ। अहिले नेपालमा पनि यो नयाँ स्वरूपको भाइरसबारे चासो र चिन्ता बढेको छ। 



 

कोरोनाको नयाँ स्वरुप कस्तो हो ? 



बेलायतमा भेटिएको भनिएको नयाँ स्वरूपको भाइरस नेपाल आउने खतरा धेरैे रहेको विज्ञहरुको भनाइ छ। तर यो कोभिड–१९ भाइरसको पुरानो स्वरूपभन्दा धेरै खतरनाक भने नभएको उनीहरुको तर्क छ। भाइरसहरू स्थान परिवर्तन गर्दै जाँदा, एक व्यक्तिबाट अर्काे व्यक्तिमा सरेर रुप फेर्ने तर्क जानकारहरुले गरेका छन्। 

 

अहिलेभन्दा संक्रामक

बेलायतमा देखिएको नयाँ भाइरस रुप भनेको कोभिड–१९ भाइरसको स्पाइक प्रोटिनमा देखिएको परिवर्तनपछिको रुप भएको सरुवा रोग विशेषज्ञ डा.अनुप बाँस्तोला बताउँछन्। 

भाइरसले श्वास–प्रश्वास प्रणालीको कोषिकामा छिर्न खोज्ने स्पाइक प्रोटिनमा परिवर्तन आएको बाँस्तोलाले जानकारी दिए। यो प्रकारको भाइरस अहिलेको कोरोनाभन्दा निकै बढी संक्रामक रहेको अहिलेसम्मको अध्ययनले देखिएको बाँस्तोलाले बताए। 

बाँस्तोलाका अनुसार भाइरसले मानव शरीरको श्वास–प्रश्वास नली र श्वास–प्रश्वास प्रणालीमा रहेका कोषिकामा प्रवेश गर्ने क्षमता बढाएको हो। ‘यो अहिले रहेको भाइरस भन्दा निकै छिटो फैलिने हैसियत राख्छ, डा.बाँस्तोलाले भने, ‘समुदायमा धेरै फैलिने भएपछि वृद्धवृद्धा दीर्घ रोगीहरुमा पुग्ने सम्भावना पनि बढी भयो त्यो कोणबाट यसको जोखिम मूल्यांकन गर्नुपर्छ।’

नयाँ स्वरूपको भाइरसमा सिकिस्त बिरामी पार्न सक्ने क्षमताबारे कुनै नयाँ अध्ययन भइनसकेको बाँस्तोलाले बताए। 

अहिलेको भन्दा बढी संक्रामक रहेको तथ्य बाहिर आएकाले नेपालमा पनि यो प्रकारको भाइरस देखिने सम्भावना धेरै रहेको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डे बताउँछन्। 

‘संक्रमितलाई यसले सिकिस्त कति बनाउँछ? मृत्युदरमा कति असर पार्छ ? अहिले अहिले आएका भ्याक्सिनले काम गर्छ कि गर्दैन ? अहिलेको परीक्षण यो पत्ता लगाउन उपयुक्त छकि छैन ? यी सबै विषय अनुसन्धानकै चरणमा छन्’, डा. पाण्डेले भने।

‘जसरी इन्फ्लुएन्जाका विभिन्न प्रकारहरू देखिँदै गए त्यस्तै कोभिडका पनि थप घातक प्रकार देखिन सक्छन्’ डा. पाण्डे भन्छन्, ‘त्यस अनुसारको सतर्कता र तयारीको जरुरी छ।’  

कोभिड–१९ संक्रमण भएर शरीरमा तयार भएको एन्टीबडीले अहिले देखिएको नयाँ स्वरूपको भाइरस प्रतिरक्षा गर्ने डा.बाँस्तोलाको भनाइ छ। अहिले तयार भएका भ्याक्सिन पनि नयाँ प्रकृतिको भाइरसका लागि प्रभावकारी हुने आँकलन उनको छ। 

‘शरीरमा भाइरसविरुद्ध एन्टीबडी बन्दा एकै खालको मात्रै नभएर फरक क्षेत्रमा एन्टीबडी निर्माण भएको हुन्छ’ डा बाँस्तोला भन्छन्, ‘एउटै भाइरसले केही प्रकृति बदल्दैमा त्यसविरुद्ध काम नगर्ने भन्ने हुँदैन।’

भ्याक्सिन विकासका क्रममा पनि यस्ता पक्षलाई विचार गरिने भएकाले अहिलेकै भ्याक्सिनले काम गर्ने दावी बाँस्तोलाको छ। नेपालमा अहिले कोभिड–१९ संक्रमणको अवस्थाबारे नै अध्ययन अनुसन्धान नभएकाले नयाँ भाइरसबारे सोच्नै अवस्था नै नरहेको बाँस्तोला बताउँछन्। 

‘हामीसँग भएको भाइरसको नै अध्ययन हुन सकेको छैन। कुन रुपमा छ ? कस्तो प्रक्रिया भइरहेको छ ? त्यो नै थाहा छैन,’ बाँस्तोला भन्छन्, ‘पहिलाको संक्रमणकै कालमा हामी अल्झि रहेका छौँ। नयाँ को  कुरा त कता हो कता ?’ 

‘नेपालमा अहिले कोभिड भाइरसको प्रकृति कस्तो छ ? यहाँ अहिले देखिइरहेको भाइरसको प्रोटिनमा परिवर्तन छ छैन ? भाइरसले कस्तो रुप ग्रहण गर्दै गइरहेको छ ? यस्ता प्रश्नका उत्तर तत्काल दिन गाह्रो छ’, बाँस्तोलाले भने।

नयाँ स्वरूपको भाइरस नेपाल आउन नदिन सतर्कता अपनाउन सुरु गरिएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.पाण्डेले जानकारी दिए। 

सरकारले बेलायतबाट नेपाल आउने उडानलाई बन्द गरिसकेको छ। विदेशबाट आउनेलाई अनिवार्य क्वारेन्टाइनको नियम लागु गरिएको डा. पाण्डेले बताए। 

‘होटलमा क्वारेन्टिनमा राखेर १० दिनपछि पिसिआर परीक्षण गर्ने,  पोजेटिभ रिपोर्ट आएको खण्डमा त्यो भाइरस त्यहाँ भनेजस्तै नयाँ भाइरस हो होइन भनेर पत्ता लगाउन त्यही अनुसारको व्यवस्थापन गरिने  पाण्डेले जानकारी दिए। 

स्वास्थ्य सतर्कता पनि ध्यान दिन डा.पाण्डेको सुझाव छ। ‘म बलियो छु। मलाई केही हुँदैन। यसले धेरै जनाको मृत्यु पनि भएन भन्ने अहिलेको जुन बुझाइ छ त्यो गलत यो हामीले बुझ्न, बुझाउन नसकेको हौँ,’  उनी भन्छन्। 

फरक खालका भाइरस भेटिएका देशबाट कोही आएको छ भने यसबारे जानकारी दिन सम्बन्धित व्यक्ति र छिमेकीहरुलाई उनले आग्रह गरे। ‘स्थानीय पालिका वा कोहीमार्फत हामीलाई जानकारी आयो भने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले त्यसलाई फलो गर्छ,’ पाण्डे भन्छन्।  

यस्ता कोही व्यक्ति फेला परेमा कल सेन्टरमार्फत सम्पर्क गरी क्वारेन्टाइनमा वा आइसोलेसनमा राख्ने व्यवस्था मिलाइने डा. पाण्डेले जानकारी दिए। 


  • प्रकाशित मिति : पुस १२, २०७७ आइतबार २१:२४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया