इटालियन क्लब युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो ग्लोब सकर अवार्ड अन्तर्गत ‘प्लेयर अफ दि सेन्चुरी’ घोषित भएका छन् ।
दुबईमा आइतबार सम्पन्न एक कार्यक्रममा रोनाल्डोलाई यो अवर्डद्वारा सम्मानित गरिएको हो । उनले आफ्ना चिरपरिचित प्रतिद्वन्द्वी स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लियोनल मेसीलाई पछि पारे ।
रोनाल्डोले ३८ प्रतिशत मत पाउँदा मेसीले २४ प्रतिशत मात्र मत पाए । तेस्रो स्थानका इङ्लिस क्लब लिभरपुलका इजिप्टियन खेलाडी मोहम्मद सलाहले २३ र चौथो स्थानका ब्रजिलियन खेलाडी रोनाल्डिन्होले १४ प्रतिशत मत प्राप्त गरे ।
आयोजकले २००१ देखि २०२० सम्म खेलाडीको प्रदर्शनलाई आधार मानेर यो अवार्ड प्रदान गरेको हो । ३५ वर्षीय रोनाल्डोले यो अवधिमा इङ्लिस, स्पेनिस र इटालियन क्लबका लागि विभिन्न उपाधि जितेका छन् ।
उनले पोर्चुगललाई सन् २०१६ मा युरो कप तथा २०१८ मा युइएफए नेसन्स लिग दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । रोनाल्डो पाँच पटकका बालुन डि ओर विजेता पनि हुन् ।
‘यो अवार्ड पाउँदा निकै खुसी लागेको छ’, अवार्ड प्राप्त गरेपछि रोनाल्डोले भने, ‘धेरै समयसम्म शिखरमा रहिरहनु त्यति सहज छैन । म गर्व गर्छु तर एउटा राम्रो टिम, उत्कृष्ट प्रशिक्षक र क्लब बिना यो सम्भव छैन ।’
‘कोच आफ दि सेन्चुरी’ इङ्लिस क्लब म्यानचेस्टर सिटीका पेप ग्वार्डिओला घोषित भए । उनले यो अवधिमा स्पेन, जर्मनी र इङ्ल्यान्डमा आफ्नो टोलीलाई विभिन्न उपाधि दिलाएका थिए ।
जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की ‘प्लेयर अफ दि इयर’ खेलाडी घोषित भए ।
बायर्नलाई यो वर्ष बुन्डेस लिगा, जर्मन सुपर कप र च्याम्पियन्स लिगको उपाधि दिलाएका हान्सी फ्लिक ‘कोच अफ दि इयर’ को अवार्ड प्राप्त गरे ।
स्पेनिस क्लब रियल मड्रिड ‘क्लब अफ दि सेन्चुरी’ तथा बायर्न म्युनिख ‘क्लब अफ दि इयर’ घोषित भए ।
लामो समयदेखि रोनाल्डोको एजेन्टका रूपमा काम गरिरहेका जर्ज मेन्डिसले ‘एजेन्ट अफ दि इयर’ को अवार्ड प्राप्त गरे ।
स्पोनका पूर्व कप्तान तथा गोल रक्षक इकर कासियास र जेरार्ड पिकेले ‘प्लेयर करियर अवार्ड’ हात पारे । ग्लोब सकर अवार्ड सन् २०१० देखि दिन थालिएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।