आफ्नै मतदाताको बधाई पाएनन् नवनियुक्त मन्त्री गौरीशंकरले
निर्वाचित भएकै क्षेत्रमा मन्त्री गौरीशंकरको पुत्ला दहन गर्दै स्थानीय ।


सामान्यतया आफू निकट वा आफ्नो समुदायको व्यक्ति मन्त्री पदमा पुग्दा बधाईको ओइरो लाग्छ । गाउँ तथा निर्वाचन क्षेत्र दीपावलीसमेत हुन्छ । पछिल्लो समय त सामाजिक सञ्जालमै बधाई दिने प्रवृत्तिसमेत बढेको छ । तर, कैलाली–३ बाट निर्वाचित सांसद गौरीशंकर चौधरीले मन्त्रीको शपथ लिएकै दिन मतदाताले उनको पुत्ला दहन गरे । संघीय सरकारमा दोस्रोपटक मन्त्री बनेका गौरीशंकरसँग कैलाली तथा कञ्चनपुरका थारु समुदाय रुष्ट बनेको छ । 

उनी केपी शर्मा ओली नेतृत्वको सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका छन् । यसअघि उनी प्रचण्ड सरकारको पालामा कृषि मन्त्री बनेका थिए ।
चौधरीले पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै आफू प्रतिनिधि सभा विघटनको विरोधमा रहेको र प्रचण्ड–नेपाल समूहमै रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचनासमेत गरेका थिए । तर, एकाएक काठमाडौं गएलगत्तै मन्त्रीको शपथ लिएपछि कार्यकर्ताले उनको पुत्ला दहन गरेका हुन् । 

मन्त्री चौधरीको ओली समूहमा प्रवेशले आक्रोशित भएका उनकै निर्वाचन क्षेत्रका कैलारी गाउँपालिका अध्यक्ष लाजुुराम चौधरीले पटक–पटक सामाजिक सञ्जालमा उनी विरुद्ध आक्रोश पोखे । गौरीशंकरले पदको मोहमा नेता र कार्यकर्तामाथि विश्वासघात गरेको आरोप लगाउँदै दिउँसो प्रचण्ड समूहमा रहेर ओलीको विरोध गरेको र राति १० करोड ऋण तिर्न ओली समूहमा गएको समेत उनले आरोप लगाएका छन् । 

थारु समुदाय सडकमा 

टीकापुर घटनाका बारेमा उच्च अदालत दिपायलको फैसला विरुद्ध थारु समुदाय आन्दोलित छ । थरूहट थारुवान राष्ट्रिय मोर्चाले आन्दोलन घोषणा गरेको छ ।
मोर्चाले पुस १६ देखि फागुन २ गतेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । पुस १७ गते टीकापुर घटनाको बारेमा उच्च अदालतले गरेको फैसलाको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने र पुस १९ गते तराईका सबै जिल्ला सदरमुकाममा कालो पट्टी बाँधेर विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै पुस २० गते कञ्चनपुरको महेन्द्रनगर र २१ गते कैलालीको धनगढीमा विरोध सभा गरिने बताइएको छ । माघ १९ गते तराईका सबै जिल्ला प्रशासन कार्यालयमा घेराउ प्रदर्शन र ज्ञापनपत्र बुझाउने, माग पुरा गराउन दवावका लागि सरकारका हरेक काममा असहयोग गर्ने, राजनैतिक दल र नेताहरूलाई लबिङ गर्ने, तराईका जिल्लामा प्रधानमन्त्री र मन्त्रीहरूलाई निषेध गर्ने र कालो झण्डा प्रदर्शन गर्ने कार्यक्रम मोर्चाले तय गरेको छ ।





  • प्रकाशित मिति : पुस १३, २०७७ साेमबार १३:५०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया