चिनियाँ टोलीसँग प्रचण्डले भने : प्रधानमन्त्री ओली सच्चिन तयार भए अझै मिल्न सकिन्छ
बेइजिङको सन्देश : फुटेर हुँदैन, मिल्नेतर्फ जानुस्

काठमाडौं : चिनियाँ कम्युनिष्ट पार्टीको टोलीले सोमबार बिहान खुमलटार पुगेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग करिब डेढ घण्टासम्म संवाद गरेको छ। 

चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली र प्रचण्डबीच खुमलटारमा लामो वार्ता भएको हो। त्यसक्रममा नेकपा फुटपछि नेपालमा देखिएको राजनीतिक संकटबारे कुराकानी भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

छलफलका क्रममा उक्त टोलीले एक भएरै अघि बढ्न चिनियाँ राष्ट्रपति सी जिनपिङले पठाएको सन्देशको प्रचण्डलाई सुनाएका थिए। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिदृश्यको पनि ख्याल गरेर पार्टी एकतालाई बचाउन टोलीले सुझाव दिएको थियो।

'तपाईंहरु मिलेर जाँदा नै नेपाल र पार्टीका लागि पनि राम्रो हुन्छ भन्‍ने हामीलाई लागेको छ', गुओ येचौको भनाइ उद्धृत गर्दै प्रचण्डको सचिवालयले भन्यो, 'मिल्नेतर्फ  नै गएर समस्याको समाधान गर्नुपर्छ, अहिलेसम्म देखिएका समस्याको गहन समीक्षा गर्नुहोस्, एक पटक मिल्नेतर्फ अघि बढ्नुहोस्।'

चिनियाँ टोलीका कुरा सुनिसकेपछि प्रचण्डले आफूहरुले सुरुदेखि नै समस्या समाधानका लागि पहल गरेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद नै विघटन गरिदिएपछि कुरो बिग्रिएको जवाफ दिएका थिए। 



'हामीले समस्या समाधानका लागि लगातार पहल, प्रयत्‍न गरिरहेका थियौँ', प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'तर उहाँ (केपी) ले प्रतिनिधिसभा नै विघटन गरिदिएपछि कुरो बिग्रिएको हो। पार्टी फेरि एक भएर अघि बढ्न उहाँ सच्चिएर आउनुपर्छ।'

पार्टी विभाजन हुन नदिनेतर्फ आफूले अनेक प्रयत्‍न गरेर रोकेको जवाफ दाहालले दिएका थिए। 'संसद विघटनभन्दा अघिको अवस्थामा उहाँ पुग्‍न तयार भएमा हामी मिलेर जान तयार छौं', दाहालले भने, 'नत्र अब पार्टी जोडिन सक्दैन, विभाजनतर्फ गइसकेको अवस्थामा जसले गल्ती गरेको हो, उसले सुधारेमा फेरि एकता सम्भव छ।'



  • प्रकाशित मिति : पुस १३, २०७७ साेमबार १४:४४:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया