राष्ट्रियसभामा नेकपाको संसदीय दलको नेता दिनानाथ शर्माले आफू पार्टी विभाजन रोक्न वामदेव गौतमसँग सहकार्यमा रहेको भन्दै केपी ओली र प्रचण्ड–माधव दुवै खेमामा नलागेको बताएका छन् । राष्ट्रपतिबाट राष्ट्रियसभाको बैठक पुस १७ गतेबाट आह्वान भइसकेका बेला दलका नेता शर्मा तटस्थ बस्न लागेका हुन् ।
५९ सदस्यीय राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनित तीनजना समेत जोडेर नेकपाका ५० सांसद छन् । ५० जना मध्ये वामदेव गौतम दुवैतिर नलाग्ने भनेर बसेका छन् भने शर्मा प्रचण्ड–माधव पक्षले बोलाएको सांसदहरुको बैठकमा सहभागी थिए । तर उनले आज नेपाल प्रेससँग कुरा गर्दै आफू स्वतन्त्र भूमिकामा रहने र राष्ट्रियसभामा दलको नेताको हैसियतले पार्टी मिलाउन लाग्ने बताए ।
शर्माले भने, ‘म स्वतन्त्र भूमिकामा रहने भएको छु । पार्टी मिलाउन वामदेव गौतमसँग पनि छलफल गर्दैछु । हामी दुवैजना एउटै कित्तामा भयौं अहिले । उसै पनि राष्ट्रियसभाले सरकार बनाउने र ढाल्ने होइन, त्यहाँ पक्ष विपक्षमा उभिनु पनि हुँदैन । मलाई कुनै पनि गुटमा सामेल नगर्नुस् ।’
आफू नेकपाको संसदीय दलको नेता भएकाले अलग-अलग बैठक बस्न नदिन पनि तटस्थ भूमिकामा रहने उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।