सुदूरपश्चिम प्रदेशभर काँग्रेसको विरोध प्रदर्शन

सुदूरपश्चिम प्रदेशको राजधानी कैलाली लगायत सबै जिल्लामा सरकारको असंवैधानिक प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली काँग्रेसले विरोध प्रदर्शन गरेको छ ।

ठाउँ–ठाउँमा मोटरसाइकल र्‍याली​ सहित प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा काँग्रेसले विरोध प्रदर्शन गरेको हो ।

कैलालीमा काँग्रेसले बृहत् मोटरसाइकल र्‍याली​ सहित प्रदर्शन गरेको छ । संसद् विघटनबिरुद्धमा नेपाली काँग्रेस क्षेत्रीय समितिको आयोजनामा धनगढीमा प्रदर्शन गरिएको हो ।

धनगढीको क्याम्पसचोकबाट सुरु भएको मोटरसाइकल र्‍याली ट्राफिक चौराहमा पुगेर कोण सभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाहले प्रतिनिधि सभा विघटन गर्नु असंवैधानिक रहेको बताए । उनले भने, ‘निर्वाचन हुने सुनिश्चितताका लागि काँग्रेसले दबाव दिनुपर्छ, निर्वाचन हुने सुनिश्चितता भए निर्वाचनमा सहभागी हुनुपर्छ ।’ संसद पुनःस्थापनाको माग गरे फेरि पनि देश अनिर्णयको बन्दी हुने उनले बताए ।

देशलाई फेरि अनिर्णयको बन्दी बनाउनुभन्दा निर्वाचन गराएर देशलाई गति दिनुपर्ने सभापति शाहको भनाइ छ । यसैगरी कोण सभामा सम्बोधन गरेका नेपाली काँग्रेसका नगरसभापति एवं धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले पनि निर्वाचनमै जोड दिए । उनले भने, ‘तीन वर्ष बहुमतका साथ सरकारको नेतृत्व गरेको नेकपाले देशलाई बर्बाद बनाएको छ, जनतालाई धोका दिएको छ, अब काँग्रेसले ताजा जनादेशमा नै जानुपर्छ ।’





  • प्रकाशित मिति : पुस १३, २०७७ साेमबार १६:१९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया