बेलायतबाट आएका १९३ निगरानीमा

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नयाँ प्रजाति (भेरियन्ट)को उद्गमस्थल बेलायतबाट आएका १९३ जनालाई निगरानीमा राखेको छ । 

ती मध्ये पाँचजनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले निगरानीमा राखिएकालाई ज्वरो र रुघा लागेको लक्षण देखिए पिसिआर परीक्षण गरेर उपचार गरिने जानकारी दिए ।

महाशाखाले आज मात्र तीमध्ये १२ जनाको पिसिआर परीक्षण गरेको छ । मन्त्रालयले यसअघि नै सूचना जारी गरी यही पुस १ गतेदेखि ७ गतेभित्र बेलायत अथवा बेलायतको बाटो हुँदै नेपाल प्रवेश गरेका सबैका अनिवार्य रुपमा १० दिन होटल क्वारेन्टिनमा बस्न अनुरोध गरेको थियो । 

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी कोभिड–१९ को विकसित रुप नै नयाँ प्रजातिको भाइरस रहेको बताए । ‘भाइरस परिवर्तन हुन्छन् । त्यस्तै कोभिड–१९ भाइरस परिवर्तन भएर नयाँ भाइरस बनेको हो,’ उनले भने, ‘कोभिड–१९ जस्तै यसको लक्षण हुन्छ । यसको सर्ने क्षमता भने अलि बढी नै छ । थप अध्ययन हुन बाँकी छ ।’ 

उनले कोभिड–१९ जस्तै यसले पनि फोक्सोमा असर गर्ने बताए । उनले बेलायत, अमेरिका र अफ्रिकाबाट आएका मानिसको पिसिआर परीक्षण र क्वारेन्टिनमा राखिएको जानकारी दिए ।

महाशाखाका निर्देशक डा.पाण्डेले पिसिआर परीक्षणबाट नै नयाँ प्रजातिको भाइरस पत्ता लगाउन समस्या भइरहेकाले पुनःपरीक्षणका लागि बाहिर पठाउने तयारी पनि भइरहेको जानकारी दिए । 



शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.सागरराज भण्डारीले नयाँ प्रजातिको भाइरसका बिरामी कोभिड–१९ जस्तै रहेको र यसले सङ्क्रमण सार्ने दर बढिरहेको जानकारी दिए । उनका अनुसार ती सङ्क्रमितको उपचार पनि कोभिड–१९ का बिरामीको जसरी नै गरिन्छ । 



  • प्रकाशित मिति : पुस १३, २०७७ साेमबार १६:४०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया