सुदूरपश्चिममा आफ्नो बहुमत कायम राख्ने कसरतमा प्रचण्ड–माधव पक्ष

सुदूरपश्चिम प्रदेशमा ओली पक्षका मन्त्री हटाएर भए पनि आफ्नो पक्षमा बहुमत कायम राख्ने कसरतमा छ प्रचण्ड–माधव समूह । 

प्रदेशमा आफ्नो पकड बलियो पार्नका लागि प्रचण्ड–माधवका नेता भीम रावल दुई दिनदेखि सुदूरपश्चिममा छलफलमा छन् ।

प्रचण्ड–माधव पक्षको सल्लाहमा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लागेका भौतिक पूर्वाधार मन्त्री पठान सिंह बोहरालाई बर्खास्त गरेका छन् ।

विभाजित नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षीय मुख्यमन्त्री त्रिलोचन भट्टले ओली पक्षीय मन्त्री बोहरालाई मंगलबार बर्खास्त गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए ।

मुख्यमन्त्री भट्टले बोहरालाई बर्खास्त गरेर प्रचण्ड–नेपाल पक्षकै मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । 

आफ्नै समूहभित्र असन्तुष्टि देखिँदा मुख्यमन्त्री पद नै धरापमा पर्ने अवस्था आएपछि भट्टले ओली पक्षका मन्त्री हटाएर आफ्नो पक्षबाट नियुक्त गर्दै असन्तुष्टि समाधान गर्ने तयारी गरेको मुख्यमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।



प्रदेशमा सुविधाजनक बहुमतमा रहेको प्रचण्ड–नेपाल पक्ष बहुमत कायम राख्ने कसरतमा छ । त्यसका लागि असन्तुष्टलाई विभिन्न जिम्मेवारी दिएर मनाउने प्रयास थालिएको छ । 

असन्तुष्टको व्यवस्थापनका लागि मन्त्रिपरिषदमा ओली पक्षका मन्त्री हटाएर नयाँ नियुक्त गर्ने, मन्त्रालय थप गर्ने र राज्यमन्त्री थप्ने तयारी रहेको प्रचण्ड–नेपाल समूहको छ । यस्तै प्रदेश सभाका संसदीय समिति संख्या बढाउने र सभापतिको जिम्मेवारी हेरफेर गरिने उक्त समूहका एक सांसदले बताए । 



मुख्यमन्त्रीले दबाबमा परेर हटाए 

बर्खास्त गरेका प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेता पठानसिंह बोहराले आफ्नै मुख्यमन्त्रीले दबाबमा परेर हटाएको फरकधारसँग कुरा गर्दै प्रतिक्रिया दिएका छन् ।

‘मसँग एक पटक पनि कुरा भएको छैन । फोन गर्दा पनि केही भन्नुभएन । म त मूल पार्टीको नेतृत्वको पक्षमा हो, प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको, यत्ति कुरा भएको हो,’ बोहराले भने, ‘संवैधानिक प्रावधानका आधारमा हटाएको भनिएको छ, के प्रावधान हो, त्यो मैले बुझ्न सकेको छैन ।’

मन्त्रीबाट हटाएपछि अब आफ्नो पक्षले समेत सल्लाह गरेर अगाडि बढ्ने मन्त्री बोहराले बताए ।

  • प्रकाशित मिति : पुस १४, २०७७ मंगलबार १३:१६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया