जसपा एकताको साढे ९ महिना : समायोजन नहुँदै विभाजनको चलखेल

जनता समाजवादी पार्टी (जसपा) अहिले नेकपा जस्तै एकताभन्दा विभाजनतर्फ गएको देखिन्छ । एकता भएको साढे ९ महिना भइसक्दा पनि अझ समायोजन भने हुन सकेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुट्न सजिलो हुने गरी गत वैशाखमा ल्याएका अध्यादेशका कारण एक भएका तत्कालीन समाजवादी र राष्ट्रिय जनता पार्टी पुनः एकीकरण नहुँदै विभाजन हुने खतरा बढेको छ ।

१० वैशाखको मध्यरातमा सपा र राजपा एक भएर जसपा बनेका यी दल एकीकरणको काम नसकिँदै अलग हुने पार्टीभित्र अड्कलबाजी पनि सुरु भइसकेको छ ।

नौ महिनाको यो अवधिमा यो पार्टीको एकताको सन्देश दिने गरी कुनै बैठक बस्न सकेको छैन, न सांगठनिक निर्माणमा ठोस प्रगति हुन सकेको छ ।

केन्द्रदेखि जिल्लासम्म अझै २/२ वटा अध्यक्ष छन् । मंसिर मसान्तसम्म पार्टी समायोजनको पूर्ण काम सक्ने लक्ष्य लिए पनि यो दलको अहिलेसम्म समायोजन अधुरै छ । बरु उल्टै पार्टीभित्र दुईदेखि तीन गुटमा नेताहरू सक्रिय भएका छन् ।

‘राजपाका नेताहरूको व्यस्तता बढेकाले समायोजनको काम अगाडि बढेको छैन,’ जसपा नेता मनिष सुमन बताउँछन् । यसरी समायोजन हुन नै ढिलाइ हुँदा पार्टीका कामकारबाही सबै ढिलासुस्ती भएको नेता सुमनको तर्क छ ।



तैपनि समायोजनको विषयमा छलफल गर्नका लागि जिम्मेवारी दिएका नेताहरूसँग कामको प्रगतिबारे छलफल गर्नका लागि बैठक गर्न लागेको उनले जनाए । तर, यता पार्टीका अन्य नेताहरूले भने शीर्षस्थ नेताहरूको आपसी खिचातानीका कारण समायोजनमा ढिलाइ भइरहेको आरोप लगाएका छन् ।

साढे ९ महिनामा केन्द्रीय कार्यकारिणी र केन्द्रीय समितिको मात्रै विस्तार 



पार्टीभित्र आन्तरिक कचिलो रहेको आरोप मात्रै होइन पछिल्ला केही घटनाले समेत पुष्टि गरिरहेको तथ्य फेला परेको छ । यसलाई यसरी बुझौँ ।

जसपा गठन भएको साढे ९ महिना भयो । तर साढे ९ महिनामा ९ वटा समेत काम गर्न सकेको छैन । अर्थात् साढे ९ महिनामा मुख्यतः दुईवटा समितिको विस्तार भएको छ । त्यो हो–एउटा केन्द्री कार्यकारिणी समिति र दोस्रो केन्द्रीय समितिको विस्तार । यसको अलावा चार पटक केन्द्रीय कार्यकारिणी सदस्यको बैठक बसेको छ । यो बाहेक एक पटक पनि केन्द्रीय समितिको बैठक हुन नसकेको प्रदेश सांसद मनीष सुमन बताउँछन् । 

वीरगन्जमा भारतीय दूतावास र जसपा सांसदको गोप्य बैठक

शीर्ष नेताहरूबीचको विवादले समायोजनमा ढिलाइ हुन गएको जसपालाई शिशु अवस्थामा फुटाउने बाहिरी चलखेल नभएको पनि होइन । संसद विघटन नहुँदै वीरगन्जमा भारतीय दूतावासको पहलमा भारत नजिक मानिने जसपा नेताहरूको गोप्य बैठक बसेको खुलासा भएको छ ।

कात्तिक पहिलो साता वीरगन्जको भिस्वा होटलमा जसपाका चारजना सांसदहरूसँग दूतावासले बैठक गरेको थियो । जसको उद्देश्य थियो– जसपा फुटाउने तथा एमसिसी पास गराउने रणनीतिको तयारी ।

स्रोतका अनुसार त्यो बैठकमा जसपा सांसदहरू विमल श्रीवास्तव, प्रदीप यादव, सर्वदेव यादव र उमाशंकर अरगरिया सहभागी थिए ।

तर, पूर्वमन्त्री इस्तयाक राइनले भने आफूहरू कसैसँग कुनै पनि बैठकमा सहभागी नभएको जनाएका छन् । आफ्नो व्यापारको सिलसिलामा वीरगन्जको गएको स्वीकार्दै उनले भने, ‘त्यो क्रममा मात्रै त्यहाँ केही सांसदहरूसँग भेट गरेको थिएँ ।’ तर अन्य प्रयोजनले नभई व्यावसायिक प्रयोजनले गएको उनको दाबी छ । यता विमल श्रीवास्तवले भने आफ्नो कोहीसँग पनि भेटघाट नभएको जनाए । गोप्य भेटको बारेमा चलाइएको यो हल्ला निराधार रहेको उनले बताए ।

राजनीतिक दल ४० प्रतिशत सांसदहरूको संख्याले फुटाउने सक्ने एउटा प्रावधान रहेको हुँदा यो चलखेल त्यसैका लागि पनि गरिएको हुन सक्ने जानकारहरू बताउँछन् । तर, अब सांसद नै नरहेपछि त्यो प्रयास स्वतः असफल भएको जानकारहरूको भनाइ छ ।

  • प्रकाशित मिति : पुस १४, २०७७ मंगलबार १५:३९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया