ओली पक्षका नेताहरू गलत काममा लागे : सांसद झाँक्री

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ एवम् प्रतिनिधिसभाकी सांसद रामकुमारी झाँक्रीले ओलीपक्षका नेताहरू पार्टी कार्यालय कब्जा गर्ने, जनतामा भ्रम फैलाउने, अनावश्यक आरोप लगाउने जस्ता गलत कार्यमा लागेको बताएकी छन् । संसद विघटनको विरोधमा प्रचण्ड–माधव पक्षले सुर्खेतमा आयोजना गरिएको प्रदर्शनलाई सम्बोधन गर्दै झाँक्रीले ओली पक्षका नेताहरूलाई अहिलेको परिस्थितिको जवाफ ओलीसँगै नै माग्न आग्रह गरिन् ।

‘शासन व्यक्तिको होइन विधि हो,’ उनले भनिन्, ‘तर केपी ओलीले व्यक्तिको शासन लागू गर्न खोज्नु भयो । प्रधानमन्त्रीको यो उल्टो हिँडाइले देशलाई कुनै पनि फाइदा छैन । ओलीको रेडिमेट बोलीका पछि लागेका साथीहरूलाई म के आग्रह गर्छु भने पार्टी कसले विभाजन गर्यो त्यसको जवाफ पहिला ओलीसँग सोध्नुस् ।’

नेकपाको आधिकारिक चुनाव चिह्न र पार्टी झण्डाको वैध प्रचण्ड–माधव पक्षमा हुने भन्दै झाँक्रीले ७० जना मानिस बसेर १ हजार केन्द्रीय सदस्य बनाउँदैमा दुई तिहाई भन्न नमिल्ने बताइन् । भारतीय रअका एजेन्ट सामन्तकुमार गोएल्सको नेपाल भ्रमणपछि भएको नेकपा विभाजनको ठूलो रहस्य रहेको बताइन् । सर्वोच्च अदालतले प्रधानमन्त्रीको पक्षमा फैसला गरेको अवस्थामा नेपालको सार्वभौमसत्ता नै संकटमा पर्ने भन्दै उनले त्यसलाई सर्वोच्चले खारेज गर्नुपर्ने उनको माग छ ।

‘नेपाली जनताको लामो संघर्षपछि संविधान सभाबाट संविधान निर्माण गर्न सकियो । वाम गठबन्धनपछि हामीले चुनाव जित्यौँ,’ उनले थपिन्, ‘तर समृद्धिको बाटोमा अघि बढ्ने जनताको अपेक्षा प्रधानमन्त्रीले गलत बाटोमा हिँडेर समाप्त पारे । देशमा भएको प्रतिगामी ‘कु’ नहटेसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने गरी कांग्रेस लगायत सबै राजनीतिक दललाई सँगै मोर्चा बन्दी गर्न म आग्रह गर्दछु ।’

कार्यक्रममा नेकपा सुर्खेत जिल्ला इन्चार्ज नरबहादुर विष्टले ओलीले गणतन्त्रलाई नै धरापमा पारेको आरोप लगाए । नेकपा सुर्खेतका सह–इन्चार्ज एवम् कर्णाली प्रदेश सभाका सदस्य बिन्दमान विष्टले ओली कर्णाली प्रति पूर्वाग्रह राख्ने भएकाले ओलीलाई नफालेसम्म कर्णालीको विकास सम्भव नभएको बताए ।

कार्यक्रममा सहभागी नेकपा जिल्ला कमिटी अध्यक्ष ध्रुवकुमार शाही सह–इन्चार्ज झकबहादुर मल्ल, सचिव कृष्ण जिसी लगायतका नेताहरूले सुर्खेती कम्युनिस्टहरू एक ढिक्का भएर गलत अभ्यासको प्रतिकार गरेको बताए । सुर्खेतसहित कर्णालीका १० वटै जिल्लाहरूमा विरोध प्रदर्शन गरिएको छ । प्रदर्शनमा नेता तथा कार्यकर्ताले उखु किसानका माग पूरा गर, प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमविरुद्ध संघर्ष गरौँ, मार्क्सवाद–लेलिनवाद जिन्दावाद जस्ता नारा लगाएका थिए ।





  • प्रकाशित मिति : पुस १४, २०७७ मंगलबार १९:८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया