केपी ओलीलाई किन जोडिन्छ 'बयलगाडा'को कथामा?
संघीयताबारे भनेका थिए : बाख्राको टाउकोमा भैँसीको सिङ

काठमाडौं : मंगलबार काठमाडौंमा भएको नेकपा (दाहाल-नेपाल) समूहको विरोध प्रदर्शन कार्यक्रमका निशाना थिए प्रधानमन्त्री केपी शर्मा ओली। प्रतिनिधिसभा विघटनको कदमपछि हिजोसम्मका आफ्नै सहयात्रीले अहिले ओलीमाथि हमला गरिरहेका छन्।

ओलीमाथि अहिले सबैभन्दा आक्रमक भएर दाहाल-नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनाल उत्रिएका छन्। त्यसपछि दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको पनि स्वर सानो छैन।

ओलीमाथि धावा बोल्ने क्रममा मंगलबार प्रदर्शनी मार्गमा आयोजित विरोधसभामा खनालले केपी ओलीले यो तीन वर्ष खेर फालेको टिप्पणी गरे। उनले धरहरा र रानीपोखरी पनि ओलीले नबनाएको जिकिर गरे।

'केपी ओलीले धरहरा बनाएको होइन। सिकर्मी, कालीगढ र इन्जिनियरहरूले पो बनाए त', उनले भने, 'पुल हालेर समाजवाद आउँदैन, अब हामीले समाजवाद पो बनाउनुपर्‍यो त।'

त्यसपछि बोलेका दुई अध्यक्ष नेपाल र दाहालले ‌ओलीलाई बयलगाडेको संज्ञा दिँदै निशाना साँधे। अध्यक्ष नेपालले प्रतिनिधिसभा विघटन गरेर ओलीले गणतन्त्र मास्न खोजेको जिकिर गरे। नेपालले ओलीले गणतान्त्रिक आन्दोलनका बेला पनि 'बयलगाडा चढेर वासिङ्टन पुग्‍न सकिँदैन' भनेर आन्दोलनकारीको अपमान गरेको जिकिर गरे।

'प्रतिनिधिसभा विघटनको यो कदम हामीलाई स्वीकार्य छैन, संविधानलाई पनि स्वीकार्य छैन। केपी  शर्मा ओलीले जहिल्यै प्रतिगमनविरुद्धको आन्दोलनलाई अपमान गरे', उनले भने, 'गणतन्त्रको आन्दोलनमा पनि बयलगाडा चढेर वासिङ्टन पुग्‍न सकिँदैन भन्थे। सडकमा सानो नाराले लगाएर गणतन्त्र ल्याउन सकिँदैन भन्थे। ओलीमा गणतन्त्र र परिवर्तनप्रति अपनत्वबोध छैन।'



ओली बयलगाडामै : प्रचण्ड

त्यसपछि बोलेका अर्का अध्यक्ष प्रचण्डले पनि ओलीलाई बयलगाडे भन्दै आक्रमण गर्न छाडेनन्। नेपाल कम्युनिस्ट पार्टी (दाहाल) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली बयलगाडा सिद्धान्तमै अडिग रहेको आरोप लगाए।



दाहाल-नेपाल समूहले काठमाडौंमा गरेको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले ओली सुरुदेखि नै संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र आन्दोलनको पक्षमा नरहेको बताएका हुन्।

‘ओलीजी नेपालमा गणतन्त्र आउनु भनेको बयलगाडा चढेर अमेरिका पुगिन्छ भन्थे। आँधी हुरी आयो मानिदिएँ भन्थे। मनले मानेको होइन, उनी बयलगाडामै रहेछन्,’ प्रचण्डले भने, ‘समानता विरोधी रहेछन् । सच्चिए होला भन्ठान्यौँ । तर होइन रहेछ, हामीले केपी ओलीलाई बुझ्‍न सकेनौँ ।’

ओली ओली लोकतन्त्रवादी नभएर निरङ्कुश तानाशाह भन्दै उनले देशलाई भड्खालोमा हाल्न खोजेको दाहालले आरोप लगाए। प्रचण्डले संविधानमाथिको प्रहार सच्याउने कोसिस नगरिए भोलि आन्दोलनको आँधी हुरी ल्याउने पनि चेतावनी दिए।

के हो बयलगाडा प्रसंग?

माओवादी जनयुद्धका बेला त्यसका सबैभन्दा चर्का आलोचक थिए केपी शर्मा ओली। माओवादीको हिंसात्मक आन्दोलनको कडा विरोध गरिरहने ओली जनआन्दोलनको समयमा एउटा टिप्पणी गरेका थिए।

कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला संसद पुनःस्थापनाको अडानमा थिए। त्यसबीचमा तत्कालीन नेकपा एमालेका महासचिव माधवकुमार नेपाल राजा ज्ञानेन्द्रको प्रतिगमन आधा सच्चियो भनेर सरकारमा गएका थिए। तर गिरिजा चाहिँ संसद पुनर्स्थपानकै पक्षमा थिए।

ज्ञानेन्द्र शाहको आह्वानमा बनाइएको सरकारमा गएर पनि पछुताएको एमाले अन्तत: गिरिजाकै लाइनमा आइपुग्यो। त्यसपछि कांग्रेस र एमालेको अगुवाईमा संसद पुनःस्थापनाको आन्दोलन चर्कियो। त्यस बेलासम्म माओवादीका चर्का आलोचक ओली एमालेको नेतृत्वमा आइसकेका थिएनन्। अर्थात् त्यो समय माधवकुमार नेपाल र झलनाथ खनालकै बोलवाला थियो नेकपा एमालेमा। 

त्यसबेला तत्कालीन माओवादीलाई शान्ति प्रक्रियामा ल्याउँदा दुई हस्ताक्षरकर्ता थिए गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहाल प्रचण्ड। बालुवाटारमा भएको त्यो हस्ताक्षरमा ओली पछाडिको कुर्सीबाट साक्षी बसेका थिए।

माओवादीले सशस्त्र हिंसाको बाटो छाडेर शान्तिको यात्रा थाल्ने निर्णय लिएसँगै देशमा गणतन्त्रको नारा सडकसम्म पुगेको थियो। २०६२–०६३ जनआन्दोलन चलिरहेका बेला माओवादी अध्यक्ष प्रचण्डलाई लक्षित गरी ओलीले बोलेको उक्त कुरा अहिले पनि उत्तिकै चर्चित छ। त्यही कुरा स्मरण गर्दै दाहाल-नेपालले आज ओलीमाथि प्रहार गरे। एमाले नेता ओलीले त्यो बेला भनेका थिए ‘बयलगाडा चढेर अमेरिका पुग्‍न सकिँदैन ।’ विभिन्‍न उखान टुक्का बुनेर भाषण गर्न सिपालु उनले हतियारको आन्दोलनले मात्रै गणतन्त्र आउँदै भनेर गरेको टिप्पणी अहिले पनि सेलाएको छैन।

ओलीले लक्षित गरेको यो उक्ति अनुसार त्यो बेला प्रचण्ड ‘बयलगाडा चालक’ थिए । ओलीको तर्कअनुसार जसले अमेरिकाजत्तिकै दुरीमा रहेको गणतन्त्र बयलगाडाबाट ल्याउन खोजेका थिए। जनआन्दोलनका बेला ओलीले गरेको यो टिप्पणी उनका आलोचकका लागि सधैँलाई मसला भएको छ। ओलीको कमजोरी देखाउनुपर्यो भने कि त झापा हत्याकाण्ड अगाडि आउँछ कि त 'बयलगाडा चढेर अमेरिका पुग्‍न सकिँदैन', भन्‍ने उनको चर्चित भनाइ।

संघीयता घाँडो

ओलीले पहिलो पटक प्रधानमन्त्री हुँदा पनि एउटा विवादित भनाइ राखेका थिए। दोस्रो जनआन्दोलनको बलमा आएको गणतन्त्र र संघीयताबारे उनले काभ्रेको धुलिखेल पुगेर गरेको टिप्पणी अहिले पनि चर्चित छ।

ओलीविरुद्ध संसदमा अविश्‍वास प्रस्ताव अघि बढ्दै  थियो, त्यही बेला ओली धुलिखेल पुगेका थिए। जहाँ उनले एक कार्यक्रमलाई सम्बोधन गर्दै संघीयतालाई ‘बाख्राको टाउकोमा भैँसीको सिङ’ भन्दै मुलुकले थेग्‍न नसक्ने बताएका थिए।

ओली नेपालमा हालको संघीय गणतान्त्रिक व्यवस्थाप्रति अनुदार रहेको टिप्पणी हुने गरेको छ। आजको कार्यक्रममा पनि ओली ज्ञानेन्द्र शाहको बाटोमा हिँडेर प्रतिगमन ल्याउन उद्यत रहेको टिप्पणी प्रचण्डले गरे।

त्यस्तै दाहाल-नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले ओली व्यक्तिवादी भएको भन्दै कडा आलोचना गरिन् । त्यस्तै झलनाथ खनालले त ओलीमाथि गम्भीर आरोप लगाउँदै तीन वर्ष खेर फालेको बताए। उनले ओलीले धरहरा-रानीपोखरी बनाएको नभइ डकर्मी र सिकर्मीले बनाएको टिप्पणी गरे।

त्यस्तै दाहाल-नेपाल समूहका नेता योगेश भट्टराईले ओलीको घमण्डले देश डुब्न लागेको भन्दै सत्ताबाट हटाइ छाड्ने बताए। सम्बोधन गर्ने अधिकांश नेताहरुको निचोड थियो, 'ओलीले संघीयता र गणतन्त्र स्वीकारेनन्, ज्ञानेन्द्र शाहकै बाटोमा गए।'

  • प्रकाशित मिति : पुस १४, २०७७ मंगलबार २०:१०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया