प्रधानमन्त्री कप : प्रदेश–१ को लगातार दोस्रो जित

दाङमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टि–२० क्रिकेट प्रतियोगितामा प्रदेश–१ ले लगातार दोस्रो जित दर्ता गरेको छ । उसले बुधबार भएको खेलमा सुदूरपश्चिमलाई ५ विकेटले पराजित गरेको हो । 

सुदूरपश्चिमले दिएको ५४ रनको लक्ष्य प्रदेश–१ ले अन्तिम ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो । जितसँगै प्रदेश–१ सेमिफाइनल नजिक पुगेको छ । 

प्रदेश–१ का लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक १२ रनको योगदान दिइन् । ३.३ ओभरमा दीपा जोराको बलमा कविता कुँवरको हातबाट क्याच आउट भएकी उनले १२ बलको सामना गर्दै १ छक्का प्रहार गरिन् ।

अप्सरी बेगमले १० रनको योगदान दिइन् । अविजित रहेका निमा तामाङले ७ र संगीता राईले २ रनको योगदान दिए ।

सुदूरपश्चिमका लागि दीपा जोराले २ तथा कविता कुँवर र कविता जोसीले समान १–१ विकेट हात पारे । १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।

यसअघि लमही क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले बाक्लो हुस्सुका कारण समयमै सुरु हुन नसकेपछि १६ ओभरमा झारिएको खेलमा ८ विकेट गुमाउँदै ५३ रनको योगफल तयार पारेको थियो । 



सुदूरपश्चिमका लागि कुनै पनि खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । उसका लागि अविजित रहेका कविता जोसीले १४ तथा लक्ष्मी साउदले ९ रनको योगदान दिए ।

प्रदेश–१ का लागि संगीता राईले ३, सवनम राईले २ तथा रुविना क्षेत्री र निमा तामाङले समान १–१ विकेट हात पारे । १ विकेट रन आउटका रूपमा प्राप्त भयो । 



प्रदेश–१ ले आफ्नो पहिलो खेलमा बागमती प्रदेशलाई ४६ तथा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ५९ रनले पराजित गरेका थिए ।

बिहीबार प्रदेश–१ ले गण्डकी प्रदेश तथा सुदूरपश्चिमले बागमती प्रदेशसँग आफ्नो तेस्रो खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

  • प्रकाशित मिति : पुस १५, २०७७ बुधबार १३:३१:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया