कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले खाद्यवस्तुको गुणस्तर परीक्षण र नियमनको कार्यलाई अभियानकै रूपमा अगाडि बढाउनुपर्ने बताएकी छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको बुधबार अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री अर्यालले मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयहरूको अनुगमन गर्ने निकाय भएकाले विभागसँग स्वस्थ जीवनलाई प्रभाव पार्ने कार्यको जिम्मेवारी रहेको बताइन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मन्त्री अर्याल नियुक्त भएपछि मन्त्रालय अन्तर्गत मातहत निकायहरूको ब्रिफिङ लिन सुरु गरेकी छन् । ‘अहिलेको अनुगमन, निरीक्षण, ल्याब टेस्टले मात्र पुग्दैन । अब घुम्ती टोलीमार्फत् नियमित रूपमा अनुगमनलाई अभियानकै रूपमा अगाडि बढाउनुपर्छ’, अर्यालले भनिन्, ‘तपाईंहरू योजनासहित अगाडि बढ्नुस् । यसलाई अभियानकै रूपमा लैजानुपर्छ ।’
मन्त्री अर्यालले क्षमता विकास तथा सेवा केन्द्रहरू थप्नुपर्ने आवश्यकता भएमा त्योसहितका योजना बनाउन समेत कर्मचारीहरूलाई निर्देशन दिइन् । नीति, नियम, ऐनहरू निर्माण गर्नुपर्ने क्षेत्रमा केही अपडेट गर्नुपर्ने भएमा त्यसमा समेत छलफल अगाडि बढाउन उनले आग्रह गरिन् । प्रवर्धनात्मक कार्यमा आवश्यक पर्ने कार्यमा ध्यान दिन समेत मन्त्री अर्यालले आग्रह गरिन् ।
उनले आजसम्म भएका कार्यको प्रशंसा गर्दै यसलाई अझ बढाउन आवश्यक रहेको प्रस्ट्याइन् । ‘उपलब्ध स्रोतसाधनले जति कार्य गर्नुभएको छ त्यो राम्रो गर्नुभएको छ । तर, अब यतिले मात्र हाम्रो आवश्यकता पूरा हुँदैन, यसलाई बढाउनुपर्छ’, कर्मचारीलाई निर्देशन दिँदै मन्त्री अर्यालले भनिन्, ‘आजभन्दा भोलि कसरी अझ राम्रो गर्ने भन्ने ढंगले तपाईंहरू अगाडि बढ्नुस् ।’
अभिभावकत्व ग्रहण गर्ने सन्दर्भमा मन्त्री र सचिवहरूको साथ सधैं रहने भन्दै उनले राम्रो काम गर्नका निम्ति कसैसँग नडराइकन काम गर्न समेत निर्देशन दिइन् । उनले नराम्रो काम गर्नका लागि मात्र डराउनुपर्ने समेत बताइन् ।
भन्सार क्षेत्रमा प्रभावकारिता बढाउने गरी काम गर्नुपर्ने भन्दै उनले ‘आलीदेखि थालीसम्म, गोठदेखि ओठसम्म’ पुग्ने गरी अभियानमुखी कार्यक्रम अगाडि बढाउनुपर्ने बताइन् ।
त्यस अवसरमा बोल्दै मन्त्रालयका कृषि सचिव डा. योगेन्द्रकुमार कार्की, पशुपन्छी सचिव डा. प्रेमनारायण कँडेलले खाद्य स्वच्छता कायम गर्न सबैले विशेष ध्यान दिएर अगाडि बढ्नुपर्ने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।