निजीक्षेत्र एक हुनुको विकल्प छैन : वरिष्ठ उपाध्यक्ष ढकाल

अब नेपालको निजीक्षेत्र एक ढिक्का भएर अघि बढ्ने नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् । पोखरामा जारी आइएमई लिटरेचर फेस्टिभलको दोस्रो दिन बुधबार ‘कोरोनाकालीन उद्योग वाणिज्य’ सत्रमा आइएमई ग्रुपका अध्यक्ष ढकालले निजीक्षेत्र एक नभए अगाडि बढ्न समस्या हुने बताएका हुन् ।

सम्पूर्ण उद्योगी, व्यवसायी र तीसँग सम्बन्धित निकाय अब एकै ठाउँमा उभिने र एउटै बोली बोल्ने उनको भनाइ छ । ‘अहिले भर्खरै महासंघको साधारणसभा सकिएको छ,’ उनले भने, ‘हामी नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्समा गएर साझा एजेन्डा बनाउने र एउटै आवाज निर्माण गर्ने अभ्यासमा छौं ।’ अब निजीक्षेत्रलाई प्रवद्र्धन गर्ने कुरामा सबै निजीक्षेत्र एक ठाउँमा उने दाबी समेत उनले गरे ।

कोरोना महामारीले पनि एकजुट हुन पाठ सिकाएको उनको भनाइ थियो । ‘यस्ता महामारी फेरि पनि आउन सक्छन्,’ उनले भने, ‘हामी सबै उद्योगी, व्यवसायीबीच साझा धारणा हुनु आवश्यक छ । त्यो समझदारी भएन भने उद्योग, व्यवसायीलाई मर्का पर्छ ।’ महासंघमा हालको उपाध्यक्ष नै अर्को कार्यकालको अध्यक्ष्य हुने नियम भएकाले ढकालको अभिव्यक्तिलाई थप गम्भिरतापूर्वक लिइएको छ ।। 

कार्यक्रममा उनले कोरोनाकालमा उद्योग, वाणिज्य क्षेत्रले भोगेको दुःख र यसबाट सिकेका पाठसमेत सेयर गरेका थिए । कोरोनाकै कारण भर्चुअल माध्यमबाट भइरहेको फेस्टिभलमा उनले अर्थतन्त्रले पनि अब डिजिटलतर्फ छलाङ मारिसकेको बताए । 

‘मानव समाज पहिला वस्तु साटासाट गरेर कारोबार गथ्र्यो,’ उनले भने, ‘त्यसपछि पैसा छापियो । त्यसले क्रान्ति ल्यायो । कोरोनाको पाठ के भने, अब मुद्राबाट छलाङ मार्दै हामी डिजिटल इकोनमीतर्फ लागेका छौं । नेपाल पनि डिजिटल इकोनमीमा जान सुरु गरेको अवस्था थियो जसलाई महामारीले अझ छिटो गराइदियो ।’ 

डिजिटल इकोनोमी निर्माणका लागि नीति–निर्माताले साथ दिनुपर्ने ढकालको भनाइ छ । डिजिटल व्यवसायमाथि विश्वास गर्नुपर्ने र कुनै एकले बदमासी गर्दा सम्पूर्णलाई घानमा हाल्न नहुने उनले बारम्बार दोहोर्याए । 



नेपाल लगानी बोर्डका सदस्यसमेत रहेका ढकालले चैतपछिको माहोल उद्योग, वाणिज्य क्षेत्रका लागि हदैसम्म कष्टकर रहेको प्रस्ट पारे । अहिले पनि बाह्य पर्यटन ठप्प रहेको स्मरण गराउँदै उनले अबका केही वर्ष आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्नु अत्यावश्यक रहेको औंल्याए ।

 सेवा र उत्पादन क्षेत्र, साना उद्योग, व्यवसाय र स्वरोजगारीमा आबद्ध व्यवसायीलाई सबैभन्दा बढी मर्का परेको उनको भनाइ थियो । यो अवस्था अप्रत्यासित भएकाले आफूहरूले महासंघका तर्फबाट पनि पर्याप्त सहयोग गर्न नसकेको पनि उनले स्विकारे । 



सरकारले बजेट र मनिटरी पोलिसीमा उद्योग–व्यवसायीका मर्का सम्बोधन गरे पनि त्यसको कार्यान्वयनमा समय लागिरहेको ढकालले बताए । यस्तो बेला साना व्यवसायीलाई राहत प्याकेज दिइएको भए ती तुरुन्तै जागा भएर रेभिन्युमा समेत योगदान पुर्याउन सक्नेमा त्यस्तो नभएको बताए । ‘साना व्यवसायीलाई हामी आफैंले पनि तुरुन्तै सपोर्ट गर्नुपथ्र्यो,’ उनले थपे, ‘यति गरिएको भए धेरैलाई बचाउन सकिन्थ्यो ।’

  • प्रकाशित मिति : पुस १५, २०७७ बुधबार १५:५४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया