प्रचण्डलाई धुँदा साबुन र ड्रमका ड्रम पानी सकियो तर पखाल्न सकिनँ'
छोरी जिताउन प्रजातन्त्र नै धुजा-धुजा पारेको आरोप

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल-नेपाल समूहमाथि फेरि कटाक्ष गरेका छन्। नेकपा (ओली) समूहको सुदूरपश्‍चिम प्रदेशका नेता कार्यकर्ताहरूको भेलालाई काठमाडौंमा बुधबार सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। 

बालुवाटार बाहिरको कार्यक्रमलाई लामो समयपछि पहिलो पटक सम्बोधन गर्दै ओलीले आफू चुनाव हारेर र मतपत्र च्यातेर नआएको बताएका छन्। प्रचण्ड-माधव समूहमाथि कटाक्ष गर्दै उनले चुनाव जितेर आएकाले कसैसँग नडराउने उल्लेख गरे। 

'ठाउँ ठाउँमा चुनाव हारेर र आफूले हार्ने भएपछि मतपत्र च्यातेर आएको मान्छे म होइन', ओलीले भने, 'म चुनावसँग कहिल्यै डराउँदिनँ। लोकतन्त्रमा चुनाव जितेर आउन म चुनौती दिन्छु।'

ओलीले सम्बोधनका क्रममा प्रचण्डले छोरी रेणु दाहाललाई मेयरमा जिताउन मतपत्र च्यातेर प्रजातन्त्र धुजा-धुजा पारेको जिकिर गरे। 'छोरी जिताउन नसकेपछि मत पत्र च्यातेर प्रजातन्त्र धुजा–जुधा बनाउनु भयो,’ दाहालप्रति लक्षित गर्दै उनले भने, 'छोरी जिताउनकै लागि कांग्रेससँग मिल्नु भयो तर उहाँले केही प्राप्त गर्नु भएन।'

अध्यक्ष ओलीले प्रचण्डले छोरीलाई भरतपुर महानगरपालिकाको मेयरमा जिताउन मतपत्र च्यात्न लगाएको भन्दै कटाक्ष गरे। उनले हार्ने अवस्थामा मतपेटिका साट्न पनि पछि नपर्ने स्वभाव भएको भन्दै दाहालमाथि कटाक्ष गरे।

अध्यक्ष ओलीले आफूले मित्रताको अँगालो हाल्दा प्रचण्ड जहिल्यै धृत राष्ट्र बन्‍न खोजेको आरोप लगाए। 'मैले मित्रताको अँगालो हाल्न खोजेँ तर उहाँ (प्रचण्ड) जहिले धृत राष्ट्र बन्‍न खोजिरहे', उनले भने, ‘वामपन्थीसँग मिलेर चुनाव जितेपछि दक्षिणपन्थीसँग मिलेर सरकार बनाउन खोजिरहे। यसो गर्दा लाज हुनुपर्ने हो नि!'



आफूले पटक पटक सम्झाउँदा पनि प्रचण्डले कुरै नबुझेको जिकिर ओलीले गरे। ‘प्रचण्डजीलाई षड्यन्त्रकारी प्रवृत्ति छोड्नुस् भनेर मैले धेरै पटक सम्झाएँ। धोकाले मात्रै राजनीति चल्दैन, इमानका साथ जनताको सेवामा लागौं भनेँ', ओलीले विगत स्मरण गर्दै सुनाए, 'मैले तीन वर्षसम्म डल्लाका डल्ला साबुन लगाएर उहाँलाई धोएँ। त्यसो गर्दा ट्यांकीका ट्यांकी पानी सकियो। तर जति साबुन लगाए पनि जति पानी खन्याए पनि उहाँ जस्ताको तस्तै कहिल्यै मैला सफा भएन।'

ओलीले दाहाल-नेपाल मिल्ने बुझेर पनि आफूले पार्टी एकता गरेको दाबी गरे । 'पार्टी एकता गर्ने क्रममा दाहाल-नेपाल मिलेपछि बहुमत हुन्छ भन्‍ने मलाई थाहा थियो', उनले भने, 'र, पनि एकता गरेको  हुँ।' 



दाहाल-नेपाल दुवैले सरकारलाई असफल बनाउने काम गरेको उनले सुनाए। 'उहाँहरुले सरकारलाई कहिल्यै सहयोग गर्नु भएन', ओलीले गुनासो गरे, 'सहयोगको आश गर्दा गर्दै समय बित्यो। आजित भएर संवैधानिक परिषद् अध्यादेश ल्याएको थिएँ।'

  • प्रकाशित मिति : पुस १५, २०७७ बुधबार १७:३३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया