माधव नेपालमाथि ओलीको कटाक्ष : प्रचण्डका मामुली कार्यकर्ताको के कुरा गर्नू?
दिए दु:खी मनको संज्ञा, पदको लोभमा पार्टी फुटाएको आरोप

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई छाडेर पुष्पकमल दाहाल प्रचण्डतिर लागेका नेता माधवकुमार नेपालमाथि कडा व्यंग्य र कटाक्ष गरेका छन्। नेकपा (ओली) समूहको सुदूरपश्‍चिम प्रदेशका नेता कार्यकर्ता भेलालाई काठमाडौंमा बुधबार सम्बोधन गर्दै ओलीले नेता नेपालमाथि कटाक्ष गरेका हुन्। 

बालुवाटार बाहिरको कार्यक्रमलाई लामो समयपछि पहिलो पटक सम्बोधन गर्दै ओलीले आफू चुनाव हारेर र मतपत्र च्यातेर नआएको बताउँदै नेता नेपालसँगै दाहालमाथि पनि व्यंग्य गरेका हुन्। नेता  नेपालमाथि निशाना साँध्दै उनले आफू चुनाव जितेर आएकाले कसैसँग नडराउने उल्लेख गरे। 

ओलीले नेता नेपालमाथि प्रहार गर्दै दुई ठाउँबाट चुनाव हारेर पनि संसदमा आउन मरिहत्ते गरेको आरोप लगाए। 'माधव नेपालजी दुई ठाउँबाट चुनाव हारेर पनि संसदमा आएर प्रधानमन्त्री भए', उनले भने, 'चुनावमा हारेर पनि पद मात्रै खोजे। पद चाहिए कि पार्टीको महाधिवेशनबाट जितेर आउनू कि त जनतामाझ चुनावमा जानू।'

ओलीले नेता नेपाललाई प्रचण्डको कार्यकर्ताको संज्ञा दिए। 'माधवजी प्रचण्डको मामुली कार्यकर्ता बन्‍न जानु भएको छ। मसँग त पदको लोभ छैन भन्‍नुहुन्थ्यो फेरि उधारो पत्याउँदिन, हातहातै चाहिन्छ पनि भन्‍नु भयो। तर उता गएर नगदमा द्वितीय अध्यक्ष लिनु भएछ', ओलीले व्यंग्य गर्दै भने, 'पार्टी मिलाउनै पर्ने भएकाले हामीले दुई अध्यक्ष पद राखेका थियौँ तर पार्टी फुटाउन पनि दुई अध्यक्ष? यही हो त पदको लोभ नभएको? उहाँबारे धेरै केही भन्दिनँ, उहाँ दुःखी हुनुहोला फेरि।’ 

सम्बोधनका क्रममा ओलीले दाहाल समूहका अध्यक्ष नेपाललाई दु:खी मन भएका व्यक्तिका रूपमा चित्रित गरे। नेपाल दाहाल समूहको मामुली कार्यकर्ता मात्रै भएको आरोप लगाउँदै ओलीले निशाना साँधे। 'माधव नेपाल प्रचण्डका कार्यकर्ता मात्रै हुन्। उहाँबारे मलाई केही पनि भन्‍नु जरुरी छैन,’ ओलीले थपे, उहाँ (नेता नेपाल) बारे धेरै केही भन्‍नु छैन, फेरि उहाँ उहाँ दुःखी हुनुहुनेछ।'

सम्बोधनका क्रममा ओलीले नेता नेपालको क्यारिकेचर गर्न समेत भ्याए। 'मेरो अपमान ! पार्टीमा मैले मान पाइनँ,' नेपालतर्फ लक्षित गर्दै ओलीले व्यंग्य मिश्रित शब्दमा भने, 'उहाँबारे के टिप्पणी गरिरहनु? उहाँ त प्रचण्डको मामुली कार्यकर्ता हुन जानुभयो। कार्यकर्ताबारे टिप्पणी गरेर समय किन बर्बाद गर्नू?'



दाहालसँग सकिनँ 

ओलीले सम्बोधनका क्रममा प्रचण्डसँग पटक पटक सम्झौता गर्दा आफ्नो ब्रिफकेस नै भरिएको उल्लेख गरे। ‘मैले शान्ति, स्थायित्व, संविधान र स्थिरताका लागि दुई पार्टीलाई एक बनाएको थिएँ। एकता जोगाउन प्रचण्डसँग पटक-पटक सहमति गरेकै हो उहाँसँग सहमति गर्दा ब्रिफकेस नै भरिएको छ। तर प्रचण्डजीले सहमति पालना र  कार्यान्वयन गर्नेतर्फ ध्यान नै दिनुभएन।’



एमाले र माओवादीबीच एकता गर्दा प्रचण्डहरूलाई ४० प्रतिशत भाग दिएको बताउँदै ओलीले त्यसैलाई बहुमत अल्पमतको खेलमा प्रयोग गरिएको भन्दै दुखेसो गरे। ‘पार्टी एकता गर्दा एमालेमा माधव नेपाल गुट छँदै थियो, एकतापछि प्रचण्ड गुट त्यहीँ मिसिने मलाई थाहा थियो। तै पनि एकताकै लागि ४० प्रतिशत दिएको हुँ', उनले भने,  'तर, दाहालजीले त्यसलाई बहुमतको खेलमा लगेर प्रयोग गरेकाले पार्टी दुई टुक्रा हुने अवस्था आयो।'

ओलीले दाहाल-नेपालको मनोकांक्षा पूरा नहुने पनि संकल्प गरे। 'म मरिजाउँला र उहाँहरुको आकांक्षा पूरा हुन दिने छैन। चुनाव हुँदैन भन्‍नुहुन्छ तर उहाँ अबको चुनावमा पत्तासाफ हुने अवस्था आउँदैछ। चुनावमा जाने तयारी थाल्नुहोला', उनले थपे, 'अब माइतीघरको चिसो भुइँमा रमिता देखाउन छाडेर आजैदेखि चुनावी तयारीमा होमिनुहोला।'

ओलीले मासिने बेलामा कमिलाको जस्तै दाहाल-नेपालको पनि प्वाँख पलाएको बताए। 'कमिलालाई काल आएपछि प्वाँख आउँछ। अहिले यिनीहरु (दाहाल-नेपाल) फुरफुर गरेर हिँडिरहेका का छन्। अबको चुनावमा यिनीहरूको हिसाब जनताले गर्नेछन्।'

ओलीले आफूलाई कसैले कारवाही गर्न नसक्ने पनि तर्क गरे। यसअघि उनले आफूमाथिको कारवाही पाहुनाले घरबेटीलाई निकाले जस्तै भएको  बताएका थिए। यो पटक उनले आफू प्रचण्डको कार्यकर्ता नभएको बताउँदै निकाल्ने कुरा त ठट्टाको विषय भएको जिकिर गरे।

'हेरिरहेको छु, मान्छेहरु किन उत्ताउलो भएका होलान्? पार्टी एक भएको थियो, अब पनि मिलेर चुनाव लडौँ भन्दा नमानेर प्रचण्डजी त मलाई पार्टीबाट निकाल्न लाग्‍नु भयो', उनले भने, 'मलाई प्रचण्डले कार्यकर्ता बनाएको हो र? कारवाही गरेर निकाल्नलाई?'

ओलीले दाहाल-नेपाललाई संसद् पुनःस्थापनाको सम्भावना नरहेकाले चुनावी तयारी लाग्न आग्रह गरे। '‘तपाईहरूले भनेजस्तो संसद् पुनःस्थापना सम्भावना अब छैन। तोकिएको समयमा निर्वाचन हुन्छ। तपाईंहरूले पनि एकदुई सिट जित्नुपर्छ तयारीमा लाग्नुहोस्’ ओलीले अगाडि भने भने, ‘तयारीमा लाग्नुहोस्। अब सडकमा गएर केही हुँदैन। माइतीघरको सडकको चिसोमा गएर नबस्नुहोस्।’

  • प्रकाशित मिति : पुस १५, २०७७ बुधबार १८:४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया