प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्तासँगै प्रदेशमा सांसद तानातान सुरु भएको छ । सोही सिलसिलामा मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी एक सांसदले चार दिन नबित्दै कित्ता परिवर्तन गरेकी छिन् ।
नेकपाका दुवैै पक्ष आफ्नो पक्षमा बहुमत जुटाउन लागिपरेका छन् । सत्ता समीकरणका लागि कांग्रेस र साना दलसँग दुवै पक्षले कसरत गरिरहँदा नेकपाभित्रका सांसदको कित्ता परिवर्तनको क्रम सुरु भएको हो ।
प्रचण्ड–नेपाल पक्षका भीम आचार्यलाई मुख्यमन्त्री बनाउनुपर्ने भन्दै मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकी उदयपुरकी सांसद कला घले अहिले समूह परिर्वतन गरेर ओली पक्षमा उभिन पुगेकी छिन् ।
प्रचण्ड–नेपाल पक्षका पूर्वमन्त्री इन्द्र आङ्बो प्रस्तावक रहेको सो अविश्वासको प्रस्तावमा कुल ३७ जनाको हस्ताक्षर रहेको थियो । त्यसमा प्रदेश सांसद घलेले २९औँ नम्बरमा हस्ताक्षर गरेकी थिइन् । तर, बुधबार ओली पक्षका अर्का प्रदेश सांसद विमल कार्कीले घलेसहितको संयुक्त तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै भनेका छन्,‘माननीय मुख्यमन्त्री शेरधनको पक्षमा हामी छौँ ।’
यसबारे सांसद कला घलेसँग फरक धारले जिज्ञासा राख्दा उनले आफू मुख्यमन्त्रीको पक्षमा लागेको स्वीकार गरिन् । । कुराकानीका क्रममा उनले अब आफू मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव फेल गराउन लाग्ने बताइन् । वर्तमान प्रदेश सरकारलाई निरन्तरता दिने पक्षमा आफू उभिएको उनको प्रतिक्रिया थियो ।
‘विभिन्न कारणले त्यो अवस्थामा मुख्यमन्त्रीज्यूका विरुद्ध अविश्वासको प्रस्तावमा मैले हस्ताक्षर गरेको हो,’ सांसद घलेले भनिन्, ‘प्रस्तावमा अब मेरो समर्थन रहने छैन, हस्ताक्षर फिर्ता लिन्छु ।’ सांसद घले उदयपुर निर्वाचन क्षेत्र २ ‘ख’बाट निर्वाचित प्रदेश सांसद हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि विस्तार गरेको केन्द्रीय समितिमा सांसद घलेलाई पनि मनोनीत गरिएको थियो । तर, उनी सपथग्रहण कार्यक्रममा भने उपस्थित भएकी थिइनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।