लुम्बिनी प्रदेश : बहुमतको कसरतमा नेकपाका दुवै पक्ष
फाइल तस्बिर

सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रतिनिधि सभा विघटनसँगै दुईधारमा विभाजित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको समूह सदनमा छ, भने प्रचण्ड–माधव कुमार नेपाल नेतृत्व समूह सडकमा छ । संसद विघटनसँगै प्रदेश सरकार बचाउन र ढाल्न नेकपाभित्र जोडघटाउको कसरत चलिरहेको छ । कारण प्रदेश सरकार पनि ढाल्छ कि भन्ने अनुमान र चर्चा व्याप्त छ ।

लुम्बिनी प्रदेशका १२ जिल्लाबाट ८७ जना प्रतिनिधि छानिएका छन् । जसमा मुख्यमन्त्री पोख्रेल समूहमा ३९ जना सदस्यहरू रहेका छन भने प्रचण्ड–माधव समूहमा २० जना सदस्यहरू छन । तर, बहुमतका लागि ४४ जना सदस्य आवश्यक पर्छ । जसका कारण सदन र सडकमा रहेका समूहले सरकारको भविष्यका लागि प्रतिपक्षी नेपाली काँग्रेसको बाटो पर्खिरहेका छन् ।

लुम्बिनी प्रदेशमा नेपाली काँग्रेसका १९, संघीय समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाको १ जना निर्वाचित सदस्य छन् । तर यी सबै दल प्रतिनिधिसभा विघटनको विरोधमा सडकमा ओर्लिएका छन् । जसले सडकमा रहेको नेकपा प्रचण्ड–माधव समूहले काँग्रेस, संघीय समाजवादी र राष्ट्रिय जनमोर्चाको समर्थनमा सरकार बनाउँछ कि भन्ने अनुमान गर्न सकिन्छ ।

यता कांग्रेसले भने सडकमा रहेका वा सदनमा रहेका कसलाई समर्थन गर्ने प्रष्ट अवधारणा बनाइसकेको छैन । सरकारमा जाने वा नजाने प्रष्ट धारणा अझै बन्न नसकेको काँग्रेस नेता एवं लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य शंकर गिरीको भनाइ छ ।

उनले भने, ‘हामीले असंवैधानिक ‘कु’ को विरोध, लोकतन्त्रको रक्षाका लागि गरेका छौं । कसलाई साथ दिने भन्ने धारणा पार्टीले अझै तय गरेको छैन ।’ नेपाली काँग्रेस प्रतिपक्ष दलका रूपमा रहेकाले सरकारमा जाने भन्ने विषयभन्दा पनि सरकारले गरेको असंवैधानिक कदमको विरोधमा लागेको हो । उनले भने, ‘न सदन बहुमतमा छ, न सडक बहुमतमा छ । नेकपाभित्रको आन्तरिक तयारी कस्तो छ त्यो हामीलाई थाहा छैन ।’ जसका कारण काँग्रेसले अब कसलाई साथ दिने सरकार बनाउने भन्ने विषय अझै अन्योल रहेको उनको भनाइ छ ।

‘अविश्वासको प्रस्ताव आन्तरिक गृहकार्य’



लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल विरुद्धमा नेकपा प्रचण्ड–माधव समूहले अविश्वासको प्रस्तावको आन्तरिक गृहकार्य गरिरहेको छ । ८७ जना सदस्यहरू ३९ जना मुख्यमन्त्री समूहमा रहेकाले नेकपा प्रचण्ड माधव समूहले बहुमतको कसरत सहितको अविश्वास प्रस्ताव ल्याउने तयारीमा रहेको प्रदेशसभा सदस्य दामा शर्माको भनाइ छ ।

उनले भनिन्, ‘काँग्रेसको अझै प्रष्ट धारणा नआइसकेकाले आन्तरिक छलफलमै केन्द्रित छौँ ।’ तर सदन र सडक दुवै अल्पमतमा रहेकाले दलहरू बीचको आन्तरिक छलफलबिना यो सम्भव रहेको समेत उनले बताइन् । बहुमतका लागि ४४ जना सदस्यहरू आवश्यक पर्ने भएकाले काँग्रेस लगायतका अन्य दलहरूको समर्थनमा नेकपा प्रचण्ड–माधव समूह अघि बढ्ने उनले बताइन् ।



‘बहुमत कसैको छैन’

लुम्बिनी प्रदेशमा नेकपा प्रचण्ड–माधव समूह अल्पमतमा छ, मुख्यमन्त्री पोख्रेल पनि अल्पमतमा छन् । तर, दुवैले प्रदेशसभा प्रतिनिधित्व अन्य तीन दलको समर्थन खोजी गरिरहेका छन् । जसका लागि दुवैको आन्तरिक छलफल तीन दलसँग गरिरहेका छन् । तर, निकास निकाल्न अझै सकेका छैनन् ।

प्रचण्ड–माधव समूहको प्रतिनिधित्व गर्ने नेकपा लुम्बिनी प्रदेशका सचिव जग्गप्रसाद शर्मा (अपार) ले भने, ‘लुम्बिनी प्रदेश सरकार अल्पमतमा छ, बहुमत सहितको सरकार हामी बनाउने छौं ।’ जसका लागि हामीले काँग्रेस लगायतका अन्य दलहरूसँग सहकार्यमा सरकार बनाउँछौं, तर काँग्रेस अझै निर्णय लिन नसकेकाले केही दिन अझै लाग्न सक्ने उनको भनाइ छ । लुम्बिनी प्रदेशमा सरकार बनाउन एकले अर्कालाई सहयोग गरेर जानुपर्ने बाध्यता सबैमा छ ।

  • प्रकाशित मिति : पुस १५, २०७७ बुधबार १९:८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया