झ्याप–झ्याप लाइन जानुकाे कारणबारे विद्युत् प्राधिकरण भन्छ- ‘ओभर लोड’का कारण आपूर्तिमा समस्या

पछिल्ला केही दिनयता काठमाडौंलगायत सहरी क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या देखिएको छ । काठमाडौं उपत्यकालगायत सहरी क्षेत्रमा चिसो बढेका कारण विद्युत् माग बढ्दा समस्या बढेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।  

प्राधिकरणका अनुसार मीनभवनस्थित ६६ केभी सबस्टेसनमा भक्तपुर र लखनखेलको पाटन सबस्टेसनबाट आपूर्ति लिन मिल्छ । तर, त्यहाँ एउटा मात्र बसबार रहेकाले एकपटकमा एक ठाउँबाट मात्र विद्युत् आपूर्ति हुन्छ । अर्थात् भक्तपुरको ठिमी वा पाटनबाट मात्र विद्युत् लिन मिल्छ । दुवै ठाउँबाट एकैपटक विद्युत् लिन नमिल्दा समस्या भएको हो । यो समस्या छिट्टै हल हुने प्राधिकरण स्रोतले बताएको छ ।

प्राधिकरणकी सूचना अधिकारी अनिता सुवेदीका अनुसार विद्युत् खपत बढेसँगै रोड विस्तारका कारण पोल सार्ने, तार भूमिगत भइरहेका कारण पनि विद्युत् अनियमित भइरहेको हो । ‘एउटा प्रमुख कारण स्वाभाविक ढंगले चिसोमा विद्युत्को खपत बढी भएको छ,’ उनले भनिन्, ‘त्यसबाहेक रोड विस्तारका कारण पोल सार्ने, तार भूमिगत गर्ने हुँदा पनि अनियमित भइरहेको हो ।’

उनका अनुसार खपतका बढेका कारण सिस्टममा आएको समस्या भने छिट्टै समाधान हुनेछ । तर, सडक निर्माण तथा केबल भूमिगत गर्दा भइरहेको समस्या हल हुन भने समय लाग्नेछ ।

प्राधिकरणले भक्तपुरका लागि आवश्यक लोड बानेश्वरबाट दिने र बानेश्वर अर्थात् मीनभवन ११ केभी लाइनमा भएको ओभर लोड (चाप) पाटन सबस्टेसन सार्ने काम भइरहेको छ । यो व्यवस्थापन मिल्नासाथ अनियमित वा झ्याप–झ्याप लाइन काटिने समस्या अन्त्य हुने प्राधिकरणले जनाएको छ । अहिले बाहिर हल्ला गरिएजस्तो लोडसेडिङ नै भने नभएको प्राधिकरणले जानकारी दिएको छ । 

अहिले नेपाल विद्युत् प्राधिकरणका आयोजनाबाट अधिकतम ४ सय ७५ मेगावाट, निजी क्षेत्रका आयोजनाबाट ३ सय ३५ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । यो वर्ष भारतबाट आयात हुने विद्युत्को परिमाण पनि झण्डै दोब्बर पुगेको छ । गत वर्ष यही समयमा भारतबाट ३ सय ६० मेगावाटको हाराहारी मात्रै विद्युत् आयात भएको तथ्यांक रहेकोमा यो वर्ष भने २४० मेगावाट बढी आयात हुन थालेको छ । अर्थात् भारतबाट विभिन्न क्रस बोर्डर प्रसारण लाइनमार्फत आयात हुने विद्युत् ६ सय मेगावाटभन्दा बढी पुगिसकेको छ । 



नेपालको कूल जडित विद्युत उत्पादन क्षमता १ हजार ३ सय मेगावाट हो । तर हिउँद लागेपछि उत्पादन झन्डै आधाले घटेको छ । चिसो बढेसँगै विद्युतीय उपकरणको प्रयोग बढेपछि विद्युत माग निकै माथि पुगेर १५ सय मेगावाटको हाराहारीमा आइपुगेको प्राधिकरणले जनाएको छ ।



  • प्रकाशित मिति : पुस १५, २०७७ बुधबार १९:४८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया