कोरोनाले भारतको जागिर गयो, लोकल कुखुराबाट स्वदेशमै आम्दानी
कुखुरा दाना खुवाउँदै उपेन्द्र ।

धनगढी आसपासमा लोकल कुखुराका परिकार मात्रै पाइने होटेल रेस्टुरेन्ट सञ्चालनमा आउन थालेपछि स्थानीय जातको कुखुरालाई व्यावसायिक रूपमा पाल्न थालिएको छ । यसमै सम्भावना देखेर व्यावसायिक लोकल कुखुरापालनको बाटोमा उन्मुख भइरहेका छन्, धनगढी उप महानगरपालिका १ का उपेन्द्र सिंह ।

भारतमा रोजगारी गर्दै आएका उपेन्द्र लकडाउनमा घर फर्किएपछि कामविहीन बन्दा उनले गाउँघरमा समेत मासिँदै गएका लोकल कुखुरा पाल्न सुरु गरेका हुन् । ‘जताततै बोइलर कुखुराको पालन भइरहेको समयमा मैले स्थानीय जातको कुखुराको व्यावसायिक पालन थालेको हुँ’, उनले भने । फर्ममा पाल्ने जातको लोकल कुखुराका चल्लाहरू हुर्काउन लागिरहेका छन् उनी ।

‘लोकल कुखुरालाई बजारको कुनै समस्या छैन’, उनले भने, ‘पालन गरेको अहिले चार महिना हुन लागेको छ । तर, किन्ने मान्छेहरू अहिले नै आइसकेका छन् । कतिपयले त अहिले नै पैसा दिएर जान्छु । कुखुरा पछि लैजान्छु पनि भन्छन् ।’ उनले माग बढिरहेकाले सोही कुरालाई मध्यनजर गरी चल्ला हालिएको बताए । ६ महिनामा तयारी हुने कुखुरा हाल चार महिना पुगेका छन् ।

विशेष गरी मासु अण्डाका लागि प्रख्यात लोकल कुखुराका चार सयभन्दा बढी चल्लाहरू कुखुराको खोरमा हुर्काइरहेका छन् उपेन्द्र ।

मामा घरमै हुकिएर बढेका उनले सन् २००९ देखि मुम्बईमा चाइनिज फास्टफुडको काम गर्दै आएका थिए । कमाइको नाममा खान लाउन पुग्ने खालको मात्रै थियो । कोरोनाका कारण महाराष्ट्रमा गरिरहेको उनको काम छुट्यो । कामविहीन भएपछि घर फर्किए । चैतदेखि घरमा नै खाली बसिरहेका थिए, उनी । 

त्यही क्रममा पाँच दिने उद्यमशीलता तालिम दिन थालेको थाहा पाए । उनी पनि तालिममा सहभागी भए । युनडिपीको आर्थिक सहयोगमा जिल्ला लघु उद्यमी समूह संघ कैलाली तथा धनगढी उपमहानगरपालिकाको सहयोग र समन्वयमा गरिएको लघु उद्यमशीलता तालिमले उनलाई केही न केही गर्ने सोचको विकास गर्‍यो ।



विशेष गरेर कोभिड १९ बाट रोजगारी गुमाएका र भारतबाट आएका आप्रवासी कामदारलाई जिविकोपार्जन सुधार गर्न उद्यमशीलता तालिम दिइएको थियो । त्यही तालिम लिएर व्यवसाय गर्न थालेपछि उनको भाग्य खुलेको हो । उनी कोरोना कहरले रोजगारी गुमाउँदा जति दुःखी भएका थिए । त्यही कहरले आफ्नै घरमा बसेर पनि मोहर कमाइन्छ है भन्ने कुराको अनुभूति गर्न पाउँदा त्योभन्दा अझ बढी खुसी छन् । 

कोभिड १९ प्रभावितका लागि आर्थिक सामाजिक रिकभरी परियोजना अन्तर्गत उनले सात सयभन्दा बढी चल्ला पाए । चल्ला हुर्काउनका लागि आवश्यक पर्ने कुखुरा फर्म बनाउन मामाले सघाए । आवश्यक चारो भाडा लगायतको प्राविधिक सहयोग पनि पाए । पहिलो लटमा कुखुरा बेचेर केही आम्दानी पनि गरे । काम गरेर घरमै पनि पैस कमाई हुने रैछ भन्ने स्वाद भने उनले चाखे ।



भान्जाले घरमै बसेर काम गरेको देखेर वृद्ध उमेरका उनका मामा तारा चन्द पनि दंग छन् । ‘मैलै बच्चाईदेखि हुर्काए । पढाए । ब्याह अरे । पाँच वर्षको पनाति भइसक्यो । सबै काम सिकाया छु’, मामा चन्दले भने, ‘राम्रो लाग्या छ । खुसी लाग्या छ । धेरै मलाई शान्ति छ ।’

उपेन्द्रको पनि काम गर्नलाई अब भारत फर्किने इच्छा मरिसक्यो । सुरु गरेको कुखुरापालनलाई अगाडि बढाउने र यसलाई विस्तार गर्ने योजना बनाएका छन् उनले । वडा सदस्यबाट खबर पाएपछि तालिम गर्दा गर्दै यतातिर ध्यान गएको हो । केही खर्च पाइयो बाँकी आफैं लगाएर सुरु गरेको हुँ । उपेन्द्रले भने, ‘भारतमा काम गर्दा दुःख पीडा भइहाल्छ । गाह्रो अप्ठेरो गरेर बसियो । अब गइँदैन । यसैमा अगाडि बढ्ने हो । विस्तार गर्ने हो ।’

  • प्रकाशित मिति : पुस १६, २०७७ बिहीबार १३:५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया