व्यावसायिक नमुना ‘आफर’ गाउँ
आफर होट स्टे । तस्बिर : वसन्त भण्डारी/फरकघार

कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर उपत्यकाबाट ८ किमि उत्तर पश्चिममा रहेको छ, ‘आफर नमुना गाउँ’ । ६० वटा घरधुरी रहेको गाउँमा अधिकांश दलितको  बाहुल्यता छ । कुनै समय अशिक्षा, बेरोजगार तथा मदिरा सेवन, झैझगडा अत्यधिक हुने आफर गाउँ अहिले भने आत्मनिर्भर बन्दै गएको छ ।

गाउँका महिलाको सक्रियतामा २०७२ साल असार १० गते नमुना गाउँ घोषणा गरिएको उक्त बस्ती अहिले आकर्षणको केन्द्र बन्दै गएको छ । नमुना गाउँ घोषणा हुनुभन्दा पहिले आफर गाउँले अशिक्षा र बेरोजगारी, विभिन्न महिला हिंसाका समस्याहरू खेप्दै आए पनि अहिले त्यो सबै अन्त्य भएको नमुना गाउँकी अध्यक्ष रचना बाँठाले बताइन् ।

गाउँमा रोजगारी सिर्जना गर्न, विभिन्न हिंसाको अन्त्य गर्नका लागि सबैभन्दा बढी महिला सक्रिय भएको अध्यक्ष बाँठा बताउँछिन् । गाउँमा हुने विभिन्न खालका हिंसाबाट मुक्त हुनका लागि महिला र बालबालिकाको अधिकारका निम्ति एउटा अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा आफूहरू यो अभियानमा लागेको उनको भनाइ छ ।

२०७२ साल असार १० गतेको गाउँ भेलाले यो गाउँलाई नमुना गाउँका रूपमा विकास गर्न गाउँ सभाबाट विभिन्न ९ वटा सूचकहरू प्रस्तुत गर्दै आफर गाउँलाई नमुना गाउँका रुपमा विकास गरेको थियो । नमुना गाउँ घोषणा भइसकेपछि आफर नमुना गाउँका ६० घरधुरीले ९ वटा सूचक अनुसार आआफ्नो जिम्मेवारी समालिरहेका छन् ।

यहाँ उत्पादन भएको कुनै पनि चिज बाहिर बजार खोजेर जानु पर्दैन । गाउँमा उत्पादित वस्तु खपत गराउन १६ जना महिलाको सक्रियतामा होमस्टे सञ्चालन गरिएको छ । प्रत्येक घरधुरीका मानिसहरूले रोजगारी पाएका छन् । ६० घरधुरीमध्ये २२ घरधुरीले व्यावसायिक बाख्रा पालन, १३ घरधुरी लोकल कुखुरा पालन, एक घरधुरी दूध डेरी, एक घरधुरी कोसेली निर्माण, एक घरधुरी काँसको भाडा निर्माणको काम गर्छन् ।

होमस्टेबाट मासिक २० हजारभन्दा बढी कमाइ हुने आफर होमस्टेकी सञ्चालक समिति सचिव लक्ष्मी बाँठाले बताइन् । हाल उक्त गाउँ अवलोकन गर्न विभिन्न संघ–संस्था र टाढा–टाढाबाट गाउँमा पाहुनाहरूको भीड लाग्ने गरेको छ । विशेष गरी वीरेन्द्रनगर उपत्यका तथा कर्णाली प्रदेशका अन्य विभिन्न जिल्लाका मानिसहरू आफर नमुना गाउँमा जाने गरेका छन् ।



होमस्टेबाट आम्दानी भएको खर्चमध्ये ५ प्रतिशत होमस्टे सञ्चालनका लागि र बाँकी रकम पालो अनुसार सञ्चालकहरूले लिने गरेको बाँठाले जानकारी दिइन् । होमस्टेमा आउने पाहुनाहरूलाई आफर नमुना गाउँमा उत्पादन भएको अर्गानिक परिकार सिस्नु, मकैको ढिँडो, लोकल कुखुराको मासु, लोकल अचार, गुन्द्रुक, खाने परिकार दिने गरिएको छ ।

श्रमदानबाट सुरुवात गरिएको आफर होमस्टे अहिले मासिक १६ हजार तिर्ने गरेर २ कट्ठा जमिन लिजमा लिएर सञ्चालन गरिएको छ । भने होमस्टेको कुल पुँजीगत लगानी अहिले ५० लाख बराबर रहेको छ । प्रदेश सरकारको सहयोगमा गत आर्थिक वर्ष ०७६/७७ मा होमस्टेका लागि दुईवटा भवन निर्माण गरिएको छ । प्रदेश सरकारसँगै अन्य सरकारी निकाय तथा अन्य विभिन्न संघसंस्थाले पनि सहयोग गर्न थालेका छन् ।



  • प्रकाशित मिति : पुस १६, २०७७ बिहीबार १३:४६:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया