प्रधानमन्त्री कप : बागमतीलाई पराजित गर्दै सुदूरपश्चिम सेमिफाइनलमा

दाङमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टि–२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेश समूह ‘बि’ बाट सेमिफाइनल प्रवेश गरेको छ । उसले बिहीबारको खेलमा २८ रनको जित हात पारेको हो ।

सुदूरपश्चिमले दिएको ७६ रनको लक्ष्य पछ्याउने क्रममा बागमतीले ११ ओभरमा  ९ विकेट गुमाउँदै ४८ रन मात्र बनाउन सक्यो ।

बागमतीका लागि सुमन खतिवडाले २७ रन बनाउनु बाहेक अन्य खेलाडीले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । ८.२ ओभरमा कविता जोसीको बलमा कप्तान विन्दु रावलको हातबाट क्याच आउट भएकी सुमनले २८ बलमा ४ चौका प्रहार गर्दै २७ रन बनाइन् ।

विन्दा कटुवालले ७, आरती बिडारीले ३ र कप्तान अस्मिना कर्माचार्यले १ रनको योगदान दिँदा अन्य खेलाडीले रनको खाता पनि खोल्न सकेनन् ।

कविता जोसीले ९ औं ओभरमा ह्याट्रिक सहित ४ विकेट लिएपछि बागमतीको पारी धर्मराएको थियो ।

जोसीले ओभरको दोस्रो बलमा सुमन खतिवडालाई क्याच, तेस्रो बलमा अनिसा मजाकोटीलाई बोल्ड तथा चौथो बलमा क्यानुका बस्नेतलाई एलबिडब्ल्यु आउट गराउँदै प्रतियोगिताको पहिलो ह्याट्रिक पूरा गरिन् । उनले ओभरको अन्तिम बलमा खुसी डङ्गोललाई एलबिडब्ल्युको सिकार बनाइन् ।



सुदूरपश्चिमका लागि कविता जोसीले ५ तथा कविता कुँवर, लक्ष्मी साउद र रितु कनौजियाले समान १–१ विकेट हात पारे । एक विकेट रन आउटका रूपमा प्राप्त भयो । 

यसअघि लमही क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले बाक्लो हुस्सुका कारण समयमै सुरु हुन नसकेपछि ११ ओभरमा झारिएको खेलमा ४ विकेट गुमाउँदै ७६ रनको योगफल तयार पारेको थियो ।



आक्रामक ब्याटिङ गर्दै २८ रनमा अविजित रहेकी डली भट्टले १४ बलमा समान २–२ चौका र छक्का प्रहार गरिन् ।

कविता कुँवरले ३० बलको सामना गर्दै १ चौकाको मदतमा अविजित १९ रनको योगदान दिइन् । कविता जोसीले १२ बलमा १ छक्काको मदतमा १२ रन बनाइन् । 

बागमतीका लागि आरती बिडारीले ३ तथा निशा तामाङले १ विकेट हात पारे ।

  • प्रकाशित मिति : पुस १६, २०७७ बिहीबार १४:१:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया