नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले बिपी कोइरालाको प्रगतिशील विकास अवधारणालाई पछ्याउँदै देशलाई परिवर्तनशील बनाउनुपर्नेमा जोड दिएका छन् ।
४५औँ एकता तथा मेलमिलाप दिवसको अवसरमा बिहीबार दमौलीमा आयोजित सभामा बोल्दै नेता पौडेलले देशका सबै राजनीतिक दलमा मेलमिलाप हुनुपर्छ भन्ने भावनासहित स्वदेश फर्किएका बिपीको राष्ट्रिय एकतालाई सबैले पालना गर्न सक्नुपर्ने बताए ।
प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै पौडेलले अब राष्ट्रियता र विकासका लागि संघर्ष गरेर अगाडि बढ्नु आवश्यक रहेको बताए ।
प्रधानमन्त्री ओलीले आफू शक्तिशाली भइराख्न संसद विघटन गरेको उल्लेख गर्दै पौडेलले उनले चुनाव गर्लान् भन्नेमा कत्ति पनि विश्वास नरहेको बताए । अहिले चुनाव हुन्छ भनेर लागेका नेताहरुले ओलीको क्रियाकलाप देखेपछि आफैँ आन्दोलनमा आउन बाध्य हुने उनको दाबी थियो ।
मेलमिलापका नाममा विधि र शासनलाई कुल्चन नमिल्ने उल्लेख गर्दै पौडेलले भने, ‘विधि र शासनमा रहेर अगाडि बढ्दा संविधान र लोकतान्त्रिक एकता तथा मेलमिलाप आफैँ कायम हुन्छ ।’
नेपाली कांग्रेस तनहुँका सभापति वैकुण्ठ न्यौपानेले लोकतान्त्रिक विश्वासलाई आत्मसात गर्नुपर्ने बताउँदै व्यक्तिवादी चिन्तनले पार्टी र लोकतान्त्रिक गणतन्त्रलाई खतरातर्फ लैजाने दाबी गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।