नेकपामा मेलमिलापको अभावले देश दुर्घटनामा : कांग्रेस नेता थानी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री हृदयराम थानीले पाँच वर्ष शासन चलाउने नेकपाको दुई तिहाइको सरकारले मेलमिलापको नीति कार्यान्वयन गर्न नसक्दा देश दुर्घटनामा परेको बताएका छन् । नेपाली काँग्रेस सुर्खेतले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै थानीले नेकपामा मेलमिलापको नीतिको अभावले सिंगो देश नै दुर्घटनामा परेको बताएका हुन् । देशमा आइपरेको संकट कांग्रेसले मात्रै पार गर्न सक्ने समेत उनको दाबी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर असंवैधानिक काम गरेको आरोप लगाउँदै थानीले ओलीलाई मेलमिलापको नीति अंगिकार गर्न आग्रह गरे । बिपी कोइरालाले नेपाली जनतालाई केन्द्रमा राखेर काम गरेको स्मरण गर्दै बिपीले प्रतिपादन गरेको मेलमिलापको नीतिकै बाटोबाट देशमा शान्ति सम्झौतादेखि संविधान निर्माण भएको समेत उनको भनाइ छ ।

कार्यक्रममा पूर्व राज्यमन्त्री एवम् कांग्रेस नेता खड्गबहादुर बस्यालले बिपीले लिएको नीतिमा काँग्रेस हिँड्न नसकेको भन्दै अब नेतृत्वकर्ताले यसबारे सचेत हुनुपर्ने समय आएको बताए । काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले नेकपाको सरकारले जनताको अभिमतलाई अपमान गरेकाले लोकतन्त्रको रक्षा गर्न काँग्रेसको आवश्यकता खट्किएको बताए ।

कार्यक्रममा अन्य सहभागी नेता तथा कार्यकर्ताले राष्ट्रिय एकता र मेलमिलापको नीति सान्दर्भिक भएको र व्यवहारमा लागू गर्न नेकपालाई आग्रह गरेका छन् । 

२०३३ साल पुस १६ गते आजकै दिन तत्कालीन काँग्रेस सभापति बिपी कोइराला र नेता गणेशमान सिंह मेलमिलापको नीति लिएर भारतबाट नेपाल फर्किएको दिनको सम्झनामा काँग्रेसले हरेक वर्ष मेलमिलाप दिवस मनाउँदै आएको छ । दिवसको अवसरमा सुर्खेतसहित कर्णालीका १० वटै जिल्लामा विभिन्न कार्यक्रम गरिएको छ ।





  • प्रकाशित मिति : पुस १६, २०७७ बिहीबार १८:४३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया