नेकपाका दुई समूहबीच चल्यो कारबाहीको जुहारी
संसदीय दलको विधान नै निष्कृय, दुवै समूहले गरेको कारबाहीमाथि वैधताको प्रश्न

विभाजनको संघारमा पुगेका नेकपाका दुई समूहले एक अर्कालाई कारबाही गर्ने होड चलेसँगै कुन समूहको कारबाहीले वैधता पाउने भन्ने प्रश्नचिह्न खडा भएको छ । दुवै पक्षले आफूहरूले गरेको कारबाहीले वैधता पाउने भन्दै जिकिर गरेपछि कारबाहीको निर्णय अन्योल बनेको हो ।

प्रचण्ड–माधव पक्षले संसदीय दलका नेतालाई नै कारबाही गरेपछि मुख्यमन्त्री शेरधन राईले १५ सांसदलाई कारबाही गरे । अब कसको कारबाहीलाई वैधानिक मान्ने भन्ने बहस सुरु भएको छ ।

ओली पक्षले नेकपाको संसदीय दलको नेता मुख्यमन्त्री शेरधन राई भएकाले सदस्यलाई कारबाही गरेपछि अबका तीन महिना कारबाहीमा परेका सांसदले प्रदेश सभाको बैठकमा सहभागी हुन नपाउने दाबी गरेको छ ।

यता प्रचण्ड–माधव पक्षले संसदीय दलको बहुमत सांसदले दलको नेताबाट शेरधन राईलाई हटाइसकेको अवस्थामा उनले गरेको कुनै पनि कारबाहीले वैधता नपाउने दाबी गरेको छ ।

प्रदेश सभाको हिउँदे अधिवेशन ७ माघमा आह्वान गरिएको छ । प्रदेश सभा चलेसँगै मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमाथि कारबाही सुरु हुनेछ । मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपा प्रचण्ड–माधव पक्षका ३७ सांसदको हस्ताक्षर सहितको अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

प्रचण्ड–माधव समूहका पूर्वमन्त्री इन्द्र आङ्म्बोले मुख्यमन्त्रीविरुद्ध सदनमा अविश्वासका प्रस्ताव दर्ता गरेको र दलका बहुमत सदस्यले मुख्यमन्त्री शेरधन राईलाई दलको नेताबाट समेत हटाइसकेकाले निलम्बित मुख्यमन्त्री राईले गरेको कारबाही कानुनतः वैधानिक नहुने बताए ।



‘नेकपाको संसदीय दलको विधान समेत निष्क्रिय अवस्थामा छ’, उनले भने, ‘दलको विधानले कारबाही कार्यान्वयनमा जान सक्ने अवस्था नरहेकाले विधानलाई टेकेर गरिएको कारबाही प्राविधिक र कानुनी हिसाबमा पनि वैधानिक छैन ।’

आङ्म्बोले दलको विधान निष्क्रिय रहेकाले आफूहरूले संविधान र संसद नियमावलीलाई टेकेर दलका बहुमत सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा दर्ता गराएको जानकारी दिए ।



उता नेकपा ओली पक्षका सांसद एव दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले दलको विधान विपरीत मुख्यमन्त्री राईमाथि अविश्वासको प्रस्ताव ल्याउने सांसदलाई दलको नेताको हैसियतले कारबाही गरेको बताए ।

उनले बिहीबार मात्र दलको विधान प्रदेश सभामा दर्ता भएको पनि बताए ।

‘संसदीय दलको विधान अनुरुप उहाँहरूले कारबाही गर्न पाउँने बाटो खुला हुने हामीले त्यही विधान अनुरुप निलम्बन गर्न नमिल्ने त ? प्रमुख सचेतक  राजभण्डारीले प्रतिप्रश्न गरे ।

संसदीय दलको विधान नै निष्क्रिय

प्रदेश सरकार गठनसँगै नेकपाको संसदीय दलको विधान दलबाट पारित भएको थियो । तर, दलबाट पारित विधान प्रदेश समितिबाट अहिलेसम्म अनुमोदन हुन सकेको छैन । दलको विधान पार्टीको प्रदेश समितिबाट अनुमोदन गर्नुपर्ने प्रावधान छ ।

योसँगै दलको काम कारबाही अगाडि बढाउन ११ सदस्यीय संसदीय बोर्ड गठन गर्नुपर्ने व्यवस्था रहेको छ । त्यसका लागि संसदीय दलबाट निर्वाचित र दलको नेता, उपनेता, प्रमुख सचेतक र उपसचेतक चार पदाधिकारीसहितको ११ सदस्यीय संसदीय बोर्ड गठन गर्नुपर्नेछ ।

संसदीय बोर्डलाई पनि प्रदेश पार्टी समितिले अनुमोदन गर्नुपर्ने व्यवस्था रहेको छ । प्रदेशमा अहिलेसम्म नेकपाको दलले संसदीय बोर्ड गठन समेत गर्न सकेको छैन । संसदीय बोर्डले विधान विपरीत काम कारबाही गर्नेलाई आवश्यक कारबाही, सचेत गराउने लगायतका कार्य गर्न सक्नेछ ।

त्यसैगरी दलको विधानलाई कार्यान्वयनमा लान प्रदेश सभामा विधान दर्ता गराउनु पर्ने प्रावधान रहेको छ । 

मुख्यमन्त्री राईले दलको नेताको हैसियतमा आफूमाथि अविश्वासको प्रस्ताव लैजाने १५ सांसदलाई कारबाही गरेपछि बिहीबार १ बजे प्रदेश सभामा दलको विधान पनि सँगै दर्ता गरेका छन् ।

  • प्रकाशित मिति : पुस १६, २०७७ बिहीबार १९:५८:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया