प्रचण्डलाई भेट्न फेरि खुमलटार पुगे वामदेव
सीता दाहालको अवस्था बुझ्‍न गएको भनाइ

काठमाडौं : सत्तारुढ नेकपा विभाजित भएको अवस्थामा तटस्थ बसिरहेका नेता वामदेव गौतम दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन्।

नेकपा विभाजित भएर दुईवटामा विभाजित समूहका लागि महत्वपूर्ण मानिएका गौतम शुक्रबार खुमलटार पुगेका हुन्। खुमलटारमा प्रचण्ड र वामदेवबीच पार्टी विभाजनपछि उत्पन्‍न अवस्थाबारे कुराकानी भइरहेको बताइएको छ।

वामदेवका प्रेस संयोजक विश्वमणि सुवेदीले दुई नेताबीच खुमलटारमा वार्ता भइरहेको जानकारी दिए। 'उहाँ (वामदेव) खुमलटार जानु भएको छ', उनले भने, 'त्यहाँ दुई नेताबीच भइरहहेको कुराकानीबारे केही पनि आएको छैन।'

प्रचण्डको सचिवालयले वामदेव सीता दाहालको अवस्था बुझ्‍न खुमलटार आएको जनाएको छ। प्रचण्ड पत्नी सीता बुधबार बिरामी परेर ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएकी थिइन्। उनलाई त्यहाँ  एक दिन राखेपछि खुमलटारस्थित निवासमै फर्काइएको छ। प्रचण्ड परिवारले सीतालाई उपचारका लागि दिल्ली लाने तयारी गरिरहेको छ। 

नेकपा विभाजित भएर ओली र दाहाल-नेपाल समूह बनिसक्दा वामदेव र रामबहादुर थापा बादल तटस्थ थिए। तर बादल ओली समूहमा लागिसकेका छन् भने वामदेव अझै अनिर्णित छन्। 

वामदेवलाई ओली र दाहाल दुवै समूहले आफ्नोतिर तान्ने कोसिस गरिरहेका छन्। तर वामदेवले आफू जनताको बहुदलीय जनवादको पक्षमा रहेको बताउँदै पार्टी एकतामा सक्रिय हुने बताइरहेका छन्। 



नेकपा विभाजन हुनुअघि उनी दाहाल समूहमै थिए तर विभाजन भइसकेको अवस्थामा उनी दुवै समूहमा लागेका छैनन्। उनले एकता पक्षधरलाई केन्द्रदेखि वडातसहसम्म संगठित गर्ने योजना बनाएका छन्। 

यसअघि बिहीबार साँझ नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह पनि प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए। सीताको स्वास्थ्यबारे बुझ्न गएका उनले त्यहाँ ओलीको कदम प्रतिगामी भएको भन्दै मिलेर आन्दोलनमा जानुपर्ने प्रस्ताव दाहालसँग गरेका थिए।



  • प्रकाशित मिति : पुस १७, २०७७ शुक्रबार ११:३१:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया