लथालिङ्ग बिजुलीका तारले बढ्यो जोखिम
फरकधार / १७ पुस, २०७७
यो सामग्री सेयर गर्नुहोस्
वीरेन्द्रनगरस्थित हटियाचोकमा देखिएको लथालिङ्ग बिजुलीका तार । तस्बिर : वसन्त भण्डारी/फरकधार

बजार क्षेत्रमा भइरहेको अव्यवस्थित विकासले सुर्खेतको वीरेन्द्रनगरमा बिजुलीका तार लथालिङ्ग अवस्थामा पुगेका छन् । बजार क्षेत्रमा निर्माण हुँदै गरेका सडक, पुराना बिजुलीका पोल, मनलाग्दी जडान गरिएका तारका कारण जताततै छरिएका छन् । पोलबाट घरटोलमा जोडिएका तार छुट्ने, आगलागी हुने जस्ता घटना भइरहेका छन् ।



सडक निर्माण गर्नु पूर्व नै विद्युत्को व्यवस्थापन गर्नुपर्ने भए पनि सडक निर्माणको चरणमा गएपछि एकैपटक सबै व्यवस्थापन गर्न खोज्दा बेला बेलामा विद्युत् अवरुद्ध हुनुका साथै चुँडिएका तारमा करेन्ट प्रवाहको जोखिम समेत बढेको छ । बजार क्षेत्रको घण्टाघर, हटियालाइन हुँदै क्याम्पस रोड जाने बाटो, पुरानो बसपार्क क्षेत्र, सनीहल लाइन क्षेत्र जस्ता ठाउँमा साँघुरा सडक, पुराना बिजुलीका पोल त्यसैमा निर्माणको काम भइरहँदा अन्य क्षेत्रभन्दा त्यो क्षेत्रमा बिजुलीका तार भद्रगोल छन् ।



जथाभावी तार फिजारिँदा बाटो हिँड्ने मानिसलाई सास्तीसँगै करेन्ट प्रभावको जोखिम पनि उत्तिकै छ ।



बिजुलीका पोलको उचित व्यवस्थापन नहुँदा सडक क्षेत्रमा व्यवसाय गर्ने मानिस तथा अन्य यात्रीहरूले जोखिम मोलिरहेको वीरेन्द्रनगर–६ हटियाचोकमा व्यवसाय गर्दै आएका पूर्णप्रसाद शर्माले बताए ।



‘निर्माणाधीन सडकका छेउछाउमा बिजुलीका तार छ्यापछ्याप्ती छन्,’ उनले भने, ‘यसले बजार क्षेत्रमा हिँड्ने मानिस सँगै पशुहरूलाई समेत जोखिम भएको छ । त्यसमा सम्बन्धित निकायको ध्यान जाओस् ।’ सडकमा बिजुलीका तार बेवारिसे अवस्थामा छोड्नु चरम गैरजिम्मेवारपन भएको भन्दै शर्माले सम्बन्धित निकायले त्यसलाई गम्भीर रूपमा लिनुपर्ने बताए ।

यता नेपाल विद्युत् प्राधिकरण सुर्खेत वितरण केन्द्रले भने आफूहरू बजार क्षेत्रमा आइपर्ने समस्या समाधानमा लागिपरेको बताएको छ । नेपाल विद्युत् प्राधिकरण सुर्खेत वितरण केन्द्रका प्रमुख टंकराज गिरीले भने, ‘पछिल्लो समय बजार क्षेत्रमा सडक निर्माण गर्दा धेरै ठाउँमा बिजुलीका पोल, तार अवरुद्ध भएका छन् । सडक निर्माण गर्नु पूर्व नै बिजुलीका पोल व्यवस्थापनका लागि हामीसँग सहकार्य गर्नुपर्ने हो । तर, त्यो नहुँदा बजार क्षेत्रमा समस्या छ ।’



‘हाल वीरेन्द्रनगरमा सडक निर्माणको काम गरिरहेका सडक डिभिजन कार्यालय, पूर्वाधार विकास कार्यालय र वीरेन्द्रनगर नगरपालिकाले कुनै–कुनै सडक निर्माण गर्नु पूर्व तार व्यवस्थापनका लागि आग्रह गरेका छन्, उनले थपे, ‘कुनै ठाउँमा नाला निर्माण गरिसकेपछि बिजुलीका पोल सारिदिनुपर्‍यो भनेर आउनुहुन्छ । त्यो नाला निर्माण पूर्व नै व्यवस्थापन गर्ने हो । भन्ने बित्तिकै सबै ठाउँको काम गर्न सक्ने हामीसँग जनशक्ति छैन । एकै ठाउँमा लगातार विद्युत् अवरुद्ध गरेर काम गर्न पनि मिल्दैन ।’ 

पछिल्लो समय बजार क्षेत्रका धेरै ठाउँमा नयाँ सडक निर्माण भएका छन् । झण्डै ३० वर्ष पहिले उपत्यकामा बिस्तार गरिएका बिजुलीका पोल साना भएका कारणले पनि सवारीले चुँडाइदिने, पोल आफैं ढल्ने जस्ता समस्या देखा परेको उनको भनाइ छ ।



विद्युतको पुरानो सबै संरचना परिवर्तन गर्नका लागि आफूसँग आर्थिक तथा जनशक्ति नभएको भन्दै प्रमुख गिरीले पुरानो संरचना परिवर्तन भएको अवस्थामा मात्रै बजार क्षेत्रमा देखिएको समस्या समाधान हुने बताए । बजार क्षेत्रमा सडक निर्माण तथा अन्य व्यवस्थापकीय काम गर्दा कुनै योजनाबिना काम गरिएकाले पनि विद्युतका तार अवरुद्ध हुने गरेको उनको भनाइ छ ।

  • प्रकाशित मिति : पुस १७, २०७७ शुक्रबार १६:०:८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया