प्रधानमन्त्रीलाई अपराधी बनाउन खोजेपछि प्रतिरोधमा संसद् विघटन : बादल
दाहा हाल-नेपालले पद नपाएको झोँकमा नेकपा फुटाएको आरोप

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली  नेतृत्वको नेकपा नेता एवम् गृहमन्त्री रामबहादुर थापा बादलले पद नपाएको झोँकमा नेताहरु चोइटिएर हिँडेको बताएका छन्। शनिबार प्रज्ञा भवनमा नेकपा ओली समूहको काठमाडौं जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै बादलले प्रधानमन्त्रीलाई अपराधी खडा गर्न खोजिएपछि त्यसको प्रतिरोधमा संसद विघटन गर्नुपरेको बताएका छन्।

'प्रधानमन्त्रीलाई उनीहरु (पुष्पकमल दाहाल-माधवकुमार नेपाल) ले अपराधीका रुपमा खडा गरे। नेकपामा अहिले देखिएको विवाद सिद्धान्तको होइन पदको लागि हो', उनले भने, 'तीन नेताले अध्यक्ष, प्रधानमन्त्री र राष्ट्रपति नपाएको झोँकमा पार्टी फुटाएका हुन्।'

उनले नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई अपराधी बनाउने गरी लगाइएको आरोप फिर्ता लिनु भन्दा उनीहरुले नमानेको जिकिर गरे। 'पार्टी अध्यक्षलाई बिनाकारण अहिले होइन महाधिवेशनबाट हटाऊँ भनेका हौँ', उनले भने, 'यो आरोपले पार्टीलाई विघटनतिर लान्छ भनेका हौँ तर पदका लागि संघर्ष गरिरहेका उनीहरुले हाम्रा कुरा सुनेनन्।'

कात्तिक २८ गते दाहालले नेकपा सचिवालयमा पेश गरेको १९ पृष्ठ लामो दस्तावेजलाई उनले ओलीविरुद्धको अभियोग पत्र भने। 'राजनीतिक कू दिशातर्फ बढ्ने नै देखिइसकेपछि यो संसदले अब देशलाई अग्रगमनमा लाँदैन भनेर विघटन गरिएको हो', उनले भने, 'प्रधानमन्त्रीले राजनीतिक कु लाई रोक्ने गरी ठूलो राजनीतिक कदम चाल्नु भएको हो।'

बादलले प्रतिनिधिसभा विघटनपछिको बहस अदालतमा रहेको बताए । 'यो बहस अब अदालतमा छ। यो कदमबारे अदालतले छिनोफानो गर्नेछ', उनले थपे, 'यो अग्रगामी कदम हो र यसले प्रतिगमनलाई रोकेको छ। अब अरु छिनोफानो चुनावबाट गर्नुपर्छ।





  • प्रकाशित मिति : पुस १८, २०७७ शनिबार १५:२५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया