बाल यौन दुराचारीको गन्तव्य बन्दै नेपाल, अभिभावकलाई आर्थिक प्रलोभनमा पारेर छुटकारा

नेपालमा पछिल्लो समय बाल यौन दुराचारीको संख्या बढ्दो छ । बाल यौन दुराचारका घटनामा स्वदेशी मात्र होइन, विदेशी नागरिक पनि यसमा संलग्न रहेको पाइएको छ । अझ विदेशी नागरिकले त नेपाललाई बाल यौन दुराचारको अखडा नै बनाउन थालेको तथ्यले देखाएको छ । बालबालिकामाथि भएको यौनशोषणको ग्राफ दिनानुदिन बढ्दो छ । 

नेपाल प्रहरीले गत मंसिर १५ मा बाल यौन दुराचार गरेको आरोपमा एकजना फ्रेन्च नागरिकलाई पक्राउ गर्यो । सिआइबीको टोलीले विशेष सूचनाका आधारमा उनलाई कास्कीबाट रंगेहात पक्राउ गरेको थियो । 

पक्राउ पर्नेमा ६० वर्षीय फ्रेन्च नागरिक सेर्ग हेनरी नौगारेट रहेका छन् । वर्ष ७, ८ र १२ का गरी तीनजना नाबालकलाई यौन शोषण गरिरहेको अवस्थामा प्रहरीको टोलीले उनलाई पोखराबाट पक्राउ गरेको थियो । 

पर्यटक भिसासहित अन्य भिसामा नेपाल प्रवेश गर्ने विदेशी नागरिकले घुमघाममा भन्दा अनैतिक काम गर्ने थलोका रुपमा नेपाललाई अखडा बनाउन थालेको जानकारहरुको भनाइ छ ।  

स्वदेशीबाट झन् ४० गुणा बढी यौन दूराचार 

प्रहरी तथ्यांकमा पछिल्लो तीन वर्षमा ५३१ वटा वाल यौन दुराचारका घटना भएका छन् । जसमध्ये १३ वटा घटना विदेशी नागरिकबाट भएको प्रहरी रेकर्ड छ । तथ्यांकमा  विदेशीभन्दा लगभग ४० गुणा बढी स्वदेशीबाटै बाल यौन दुराचारका घटना भएका छन् ।



अर्थात्, आर्थिक वर्ष ०७५–०७६ मा २६६, ०७६–०७७ मा १८७ र चालू आर्थिक वर्षको कात्तिकसम्ममा ७८ वटा घटना भएका छन् । जसमा विदेशीबाट १३ र स्वदेशीबाट ५१८ वटा घटना भएका छन् । 

अमेरिका, जर्मनी, अस्ट्रिया, नेदरल्याण्ड्स, क्यानडा र फ्रान्सजस्ता मुलुकका नागरिकको यसमा बढी संलग्नता रहेको तथ्यांकले देखाउँछ । तीमध्ये अधिकांश ६० वर्षभन्दा बढी उमेर समूहका छन् । 



नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार पछिल्ला तीन वर्षमा १३ वटा घटना सार्वजनिक भएता पनि नेपालमा बाल यौन दुराचारका घटना उक्त आँकडाभन्दा अझ बढी रहेको हुन सक्छ । विभिन्न कारणवश घटना बाहिर आउन नसकेको उनको भनाइ छ । 

‘अतिथि देवता समान हुन्छन् भन्ने नेपाली संस्कार र विदेशी भन्नेबित्तिकै भगवान् मान्ने परिपाटीका कारण पनि नेपाल बाल यौन दुराचारीका लागि राम्रो गन्तव्य ठाउँ बन्न पुगेको छ,’ पूर्वडिआइजी हेमन्त मल्ल भन्छन् । यसका अलवा अर्को महत्त्वपूर्ण पाटो हाम्रो समाजको कमजोर आर्थिक अवस्था पनि रहेको उनको तर्क छ ।
 
प्रहरी अनुसन्धानका अनुसार अधिकांश त्यस्ता घटनामा दोषीले पीडित तथा उनका परिवारलाई आर्थिक प्रलोभनमा पार्ने गरेको अनुसन्धानकर्ताको भनाइ छ । 

पक्राउ परेका अधिकांशको मानसिक अवस्था आममानिसभन्दा फरक हुने गरेको पाइएको प्रहरी अनुसन्धानले देखाएको छ । 

  • प्रकाशित मिति : पुस १८, २०७७ शनिबार १७:३३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया