महामारीको चपेटामा भ्रमणवर्ष २०२०, एक वर्षमा नेपाल भित्रिए मात्र २ लाख ३० हजार पर्यटक

सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित घोषणा गरेको पर्यटन वर्ष सन् २०२० जम्मा २ लाख ३० हजार पर्यटक नेपाल आएका छन् । विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण पर्यटक आगमन घटेको सरोकारवालाको भनाइ छ ।

सन् २०१९ मा ११ लाख ९७ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । २०१८ मा नेपाल भ्रमण गर्ने विदेशीको संख्या भने ११ लाख ७२ हजार ७२ थियो । अघिल्लो वर्षको तुलनामा २०२० मा पर्यटन आगमन ८० प्रतिशतभन्दा धेरैले खस्किएको छ ।

भूकम्पपछि विस्तारै लयमा फर्किदै गरेको पर्यटन विश्वव्यापी महामारीका कारण थला पर्यो । कोभिडकै कारण गत वर्ष अन्तरराष्ट्रिय उडानमा ९ महिनाभन्दा बढी समय प्रतिबन्ध लगाएकाले पनि पर्यटक आगमन ठप्प बनेको थियो ।

सरकारले सन २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरी २० लाख पर्यटक ल्याउने लक्ष्य राखेको थियो । तर, कोरोना महामारीका कारण भ्रमण वर्ष नै स्थगित गर्नुप¥यो । कोरोना महामारीकै कारण मुलुकको पर्यटन क्षेत्र पुरानै अवस्थामा फर्किन अझै केही वर्ष लाग्ने पर्यटन व्यवसायीहरूको धारणा छ । 

अध्यागमन विभागका अनुसार नेपालका प्रमुख पर्यटक स्रोत मुलुकमा भारत, चीन, अमेरिका, थाइल्याण्ड, म्यानमार, बेलायत, श्रीलंका, बंगलादेश जापान र जर्मनी रहेका छन् । गतवर्षको यो सूचीमा अष्ट्रेलिया, दक्षिण कोरिया र फ्रान्स थिए ।

अध्यागमन विभागका अनुसार २०२० मा नेपालमा भ्रमण गर्ने पर्यटकमा सबैभन्दा बढी पर्यटक भारतीय छन् २५ हजार ३२० जना भारतीयले नेपाल भ्रमण गर्दा ९ हजार ८०८ जना चिनियाँ पर्यटक नेपाल आएका छन् ।



अमेरिकाबाट ९ हजार ६८२ जना पर्यटक आउँदा थाइल्यान्डबाट ९ हजार ५१८ जना र म्यानमारबाट ९ हजार ४ सय जना पर्यटकले नेपाल भ्रमण गरेको अध्यागमन विभागको तथ्यांक छ । 

वर्षभर १ लाख ८३ हजार १३० जना पर्यटक त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट नेपाल आएका छन् भने ४६ हजार ९५५ जना स्थलमार्ग हुँदै आएका छन् ।



कोरोनाकै बीच विदेशी उच्चपदस्थ व्यक्तिहरूको नेपाल आगमन र हिमाल आरोहणले यस क्षेत्रलाई थोरै भए पनि चलायमान बनाएको र यसले नेपालको पर्वतीय पर्यटनमा सकारात्मक सन्देश प्रभाव गरेको सरकार तथा व्यवसायीहरूको धारणा छ ।

कतारका राजकुमार शेख मोहम्मद विल अब्दुल्लासहितको टोलीले ६ हजार ८१४ मिटर अग्लो आमादब्लम हिमाल आरोहण गरेका थिए भने बहराइनका राजकुमार नासिर बिन हामिद अल खलिफासहितको रोयल फोर्सको टोलीले ८ हजार १६३ मिटरको मनास्लु हिमाल आरोहण गरेकाे थियो । 

  • प्रकाशित मिति : पुस १९, २०७७ आइतबार १४:६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया