चार सातासम्म पनि प्रधानाध्यापक श्रेष्ठको हत्यारा फेला परेनन्
डर त्रासका कारण स्थानीय बसाइँ सर्ने क्रम सुरु
विप्लव समूहले हत्या गरेका मोरङको मिक्लाजुङ १ का शिक्षक राजेन्द्र श्रेष्ठको घर ।

मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको मंसिर २३ मा हत्या भयो । हत्याराको खोजीमा प्रहरी टोली परिचालन भए पनि चार सातासम्म हत्या गर्नेको पहिचान हुन सकेको छैन । नेत्रविक्रम चन्द विप्लव समूहले हत्याको जिम्मा लिए पनि प्रहरीले शिक्षक श्रेष्ठको हत्यारा फेला पार्न सकेको छैन ।

घटना भएको क्षेत्र धनकुटा, इलाम, पाँचथर र मोरङ जिल्लाको सिमानामा पर्ने भएकाले ती चारै जिल्लामा प्रहरीले दुई सातसम्म ‘अपरेसन’ चलाएको थियो । घटनामा संलग्नलाई नियन्त्रणमा लिने प्रहरीले दाबी गरे पनि अहिलेसम्म कुनै सुराक फेला पार्न सकेको छैन ।

हत्यामा संलग्न व्यक्ति पक्राउ नपर्दा मोरङको पूर्वोत्तर विकट क्षेत्र मिक्लाजुङका बासिन्दा त्रासमा छन् ।

स्थानीयको मनोबल बढाउन घटनापछि मिक्लाजुङ १ को केन्द्र आइतबारेमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको अस्थायी क्याम्प स्थापना गरिएको छ । स्थानीयका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको अस्थायी क्याम्प राखिएको ठाउँबाट घटना भएको गाउँ करिब डेढ घण्टाको पैदल दूरीमा पर्छ ।

शिक्षक राजेन्द्रका आफन्त मदन श्रेष्ठले यतिका दिनसम्म पनि प्रहरी हत्याराको नजिक पुग्न नसक्नु दु:खदायी भएको बताए ।

‘प्रहरीले हत्यामा संलग्न समूहको खोजी तीव्र बनाएको दाबी गरेको छ’, मदनले भने, ‘तर परिणाम हात पर्न सकेको छैन ।’



असुरक्षाका कारण राजेन्द्रकी श्रीमती धनकुमारी घर छाडी मिक्लाजुङ २ स्थित रतनझोडमा बसाइँ सरेकी छन् । त्यसैगरी घटनापछि आफन्त धनकुमारको परिवार पनि सो ठाउँबाट बसाइँ सरेको छ । कुल १२ घर परिवार रहेको सो स्थानमा असुरक्षाका कारण धेरै घरपरिवार अहिले अन्यत्र बसाइँ सर्ने तयारीमा रहेको मदनले जानकारी दिए ।

यता मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्का शिक्षक हत्यामा संलग्न समूहको खोजी तीव्र भइरहेकाले परिणाममुखी नतिजाको पर्खाइमा प्रहरी रहेको बताए । प्रहरीले हत्याराको पहिचान गरिसकेकाले चाँडै सबै कुरा बाहिर आउने उनले जानकारी दिए ।



खड्काले प्रहरीले आक्रामक अपरेसन चलाएका कारण विप्लव समूह अहिले सो स्थानमा कमजोर बनेको बताए । 

सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको प्रतिकारमा मृत्यु भएको दाबी विप्लव समूहले गरेको थियो । श्रेष्ठले ‘सुराकी’ गरेको आरोप लगाइएको थियो । तर, मानवअधिकार संघ संस्थाले घटनाको स्थलगत अध्ययन गरी चन्दा नदिएको निहुँमा घटना भएको निष्कर्ष निकालेका थिए ।

मोरङ मिक्लाजुङ १ का शिक्षक श्रेष्ठको हत्यापछि आधा दर्जनभन्दा बढी मानवअधिकारको क्षेत्रका कार्यरत संस्थाहरूले संयुक्तरूपमा घटनाको स्थलगत अध्ययन गरेका थिए ।

नकापधारी विप्लव समूहले शिक्षक श्रेष्ठलाई घरबाट पटुवाको डोरीले हात बाँधेर लगेका थिए ।

देउढुङ्गा जंगलमा पुर्‍याएर उनीहरूले शिक्षक श्रेष्ठको घाँटी रेटेर हत्या गरेका थिए । मृतक राजेन्द्रको टाउकाको पछाडिको भागमा ढुङ्गाले हानेको गहिरो चोट रहेको र शरीरका विभिन्न भागमा नीलडाम देखिएको थियो । घटनास्थल नजिकै बेतको दुई लौरा भेटिएको तथा मृतक श्रेष्ठको घाँटीको अगाडिको भागमा काटिएको गहिरो चोट भएकाले उनको निर्मम यातनापछि विभत्स हत्या गरिएको प्रहरीको बुझाइ छ ।

  • प्रकाशित मिति : पुस १९, २०७७ आइतबार १५:४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया