'प्रचण्डले 'दोषी चस्मा' लगाए, कुर्सीबाहेक अरु केही देखेनन्'
दाहाल-नेपालले विदेशी हस्तक्षेप बोलाउन खोजेको आरोप

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले नेकपाको आन्तरिक मामलामा बाह्य हस्तक्षेप भित्र्याउने प्रयास भइरहेको दाबी गरेका छन्। 

बबरमहलस्थित कार्की पार्टी प्यालेसमा आयोजित ओली नेतृत्वको नेकपा भेलामा बोल्दै प्रवक्ता ज्ञवालीले यस्तो बताएका हुन्। 'हाम्रो आन्तरिक मामिलामा खुलेआम बाह्य हस्तक्षेप भित्र्याउने प्रयास भइरहेको छ', उनले भने, 'यस्तो प्रवृत्तिले देशलाई प्रयोगशाला बनाउने खतरा बढिरहेको छ।'

ज्ञवालीले नेकपाको विवादमा पुष्पकमल दाहाल प्रचण्डले विदेशी हस्तक्षेप भित्र्याउन खोजेको आरोप लगाएका छन्। 'अस्ति मात्रै कमरेड प्रचण्डले एउटा टेलिभिजन अन्तर्वातामा भनिसक्नुभयो, हामीलाई अन्तर्राष्ट्रिय समर्थन किन आएन? म त छक्क परेको छु। अरु देश किन बोल्दैन हँ अहिले? यो मौनता पचेन है मलाई, समर्थन चाहियो नी!', ज्ञवालीले अगाडि भने, 'हाम्रो आन्तरिक मामिलामा खुलेआम यसरी बाह्य हस्तक्षेप भित्र्याउने प्रयास हुँदैछ। यस्तो प्रवृत्तिले देशलाई प्रयोगशाला बनाउने खतरा छ। कार्यकारी अध्यक्ष बनेर महाधिवेशन नगर्ने तर प्रधानमन्त्री नै चाहिने भनेर षडयन्त्र गर्ने ?’ 

उनले बिपी कोइरालाको 'दोषी चस्मा' को कुरा स्मरण गर्दै प्रचण्डमा त्यही समस्या देखिएको आरोप लगाए। 'केही साथी (प्रचण्ड) सहितले आँखामा दोषी चस्मा लगाएपछि कुर्सी मात्र देख्ने गरेका छन्। बिपी कोइरालाको कथा जस्तो चस्मा नै दोषी लगाएपछि केहीले अहिलेका प्रगति नै देखेनन्, मात्र एउटा कुर्सी देखे', उनले भने, 'बनेका बाटो र अस्पताल देखेनन् । राष्ट्रपतिको हेलिकोप्टरबाट सुत्केरीको उद्धार गरेको देखेनन्, केबल सत्ताको एउटा कुर्सी मात्रै देखे।’

एकता क्रममा भएको सहमतिलाई चार नेताले तोडेको आरोप पनि लगाए। 'पार्टी कमिटीहरु सहमतिका आधारमा अघि बढ्नुपर्ने एकताको मर्म विपरीत ४ नेता अल्पमत र बहुमतको आधारमा अघि बढ्न खोजे', उने भने, 'प्रधानमन्त्रीलाई काम गर्न अफ्ठ्यारो पार्ने अवस्था आयो। आन्दोलन र उपलब्धी खेर जान दिनु हुँदैन भनेर प्रधानमन्त्रीले संसद विघटन गरेर नयाँ जनादेशमा जाने कदम चाल्नु भयो।'

उनले संसद विघटनबारेमा सर्वोच्च अदालतले न्यायिक निरुपण गर्ने पनि बताए। ज्ञवालीले अब पार्टीको चुनावी अभियान लिएर कार्यकर्ताहरुलाई गाउँ गाउँमा जान पनि अपिल गरेका छन् ।
 





  • प्रकाशित मिति : पुस १९, २०७७ आइतबार १७:१:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया