पाँचवटा कमर्सियल बायोग्यास उत्पाद केन्द्र बनाइने

राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले योजना आयोगले २ लाख स्थानीय र ५ सय ठूला कमर्सियल स्तरका बायोग्यास स्थापना गर्ने लक्ष्य लिएको बताएका छन् । अहिलेसम्म नेपालको अर्थतन्त्रमा बायोग्यासको योगदान करिब २ खर्ब बराबरको रहेको उल्लेख गर्दै सदस्य ओलीले निजी क्षेत्रबाट नवीकरणीय ऊर्जा विकासमा अहिलेसम्म अपेक्षा गरिएभन्दा धेरै योगदान भएको बताए । 

नेपाल बायोग्यास प्रवर्धन संघको रजत वर्षको अवसरमा आयोजित कार्यक्रम एवं २५ औं वार्षिक साधारणसभामा बोल्दै सरोकारवालाहरूले नवीकरणीय ऊर्जा कार्यान्वयनका लागि स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका हुने बताएका छन् ।

नेपालको संविधानले नवीकरणीय ऊर्जालाई स्थानीय सरकारको मातहतमा राखे पनि अधिकांश कार्यक्रमहरु संघीय सरकारले गर्न खोज्दा सरकारबीच क्षेत्राधिकारको अन्योल उत्पन्न भएको छ । त्यसैले पनि स्थानीय सरकारलाई नवीकरणीय ऊर्जा विकासका कार्यक्रम कार्यान्वयन गर्न नीतिगत रुपमा सहयोग गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका हुन् । कार्यक्रममा पूर्वमन्त्री गणेश साहले नवीकरणीय ऊर्जाको कार्यान्वयनका लागि स्थानीय तहलाई उपयुक्त नीति निर्माण गर्न केन्द्रीय सरकारबाट सहयोग हुनुपर्ने बताए । नेपालमा कोभिड–१९ पछि व्यावसायिक पशुपालन बढेकाले बायोग्यासको सम्भावना रहेको उल्लेख गर्दै सरकारले उपयुक्त नीति निर्माण गर्नुपर्ने बताए । 

हालसम्म नेपालका करिब ४ लाख ५० हजारको हाराहारीमा घरेलु बायोग्यास प्लान्ट जडान भइसकेको तथ्याङ्क संघसँग रहेको छ । जसबाट घरमा बायोग्यास चुलो बल्ने मात्र नभई कार्वन व्यापारबाट झण्डै १ खर्ब बढी राजश्व आर्जन गर्न सफल भएको पनि संघले बताएको छ ।





  • प्रकाशित मिति : पुस २०, २०७७ साेमबार १७:२९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया